मुख्यमन्त्री पोखरेल र चीनको कान्छु प्रदेशका गर्भनरबीच भेटवार्ता 

बुटवल । प्रदेश पाचका मुख्यमन्त्री शंकर पोखरेलसंग मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु  प्रदेशका गर्भनर थाङ रनच्यानले भेटवार्ता गरेका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना बारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताएका थिए  । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार भेटमा मुख्यमन्त्री पोखरेलले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित  धेरै बौद्ध संस्कृतिसंग सम्बन्धित सम्पदास्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको बताएका थिए । 

गर्भनर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको भन्दै नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका थिए । उनले सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने उल्लेख गर्दै द्विपक्षीय सहकार्य मार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने बताए । कान्छु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरी राम्रो लाभ लिएको जानकारी दिदै नेपाल आउने स्याउ मध्ये आधा भन्दा धेरै कान्छुबाट आउने गरेको उनले बताएका थिए ।

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए । स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्छुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले हाम्रो हिमाली क्षेत्रमा पनि स्याउको संभावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गरेको बताए । त्यसैगरी उनले पर्यटन प्रवद्र्धनमा कान्छुुको अनुभव यहाँ काम लाग्ने भएकाले द्विपक्षीय  अनुभव आदानप्रदानलाई बढाउँदै लैजानुपर्ने बताए ।

समझदारी पत्रमा हस्ताक्षर 
यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र गर्भनर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु  प्रदेशका सांस्कृतिक तथा पर्यटन  निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरे ।

 सांस्कृतिक आदान प्रदान र पर्यटन पवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ ।

त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चर बीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ । सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर शी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर