• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मदन भण्डारी भन्थे 'नेपालमा विकास गर्न निर्वाचित राष्ट्रपति चाहिन्छ' (अडियोसहित)

किन सम्झनलायक नेता भए भण्डारी ?
नेपाली कम्युनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन प्रयोग भएका सैद्धान्तिक तथा व्यवहारीक विषयलाई चालेको कदमले नेता भण्डारी सम्झनलायक नेताको रुपमा परिचित भएको बताउँछन कम्युनिष्ट नेता निर्मल भट्टराई । विश्वभरका कम्युनिष्टहरु अहिले पछि परिरहँदा नेपालको कम्युनिष्ट बलियो हुनु र सत्तामा रहिरहनुमा नेता भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को महत्वपूर्ण हात रहेको उनको भनाई छ । जुन सिद्दानतमाथि पूर्व एमाले भित्र त बहस थियो नै, अहिले नेकपामा पनि बहस छ । 

‘जनताको दुःख, सुःखमा सहजै घुलमिल हुनसक्ने, निरकुंश राजतन्त्रात्मक व्यवस्थामाथि सहजै औंला ठड्याएर बोल्न सक्ने, कम्युनिष्ट आन्दोलनको मर्मलाई बुझेर नेपालमा त्यसको प्रभाव छाड्नसक्ने शालिन नेताको रुपमा उहाँलाई पार्टी र सिंगो देशले सँधै सम्झनुपर्छ ।’ समाचार दैनिकसंगको कुराकानीमा नेता भट्टराईले भने । 

नेता भण्डारीको निधनको बेलामा तत्कालिन एमाले प्रतिपक्षमा रहेको र सत्तापक्षले घटनाको छानबीनका लागि पहल नगरेको आरोप उनले लगाए । त्यतिबेला बनाइएका विभिन्न आयोगलाई तत्कालिन सकरारले नै काम गर्न नदिएको एमाले नेताहरु अहिले पनि बताउँछन् । 

नेता भट्टराई भण्डारीको त्यो दुर्घटना अझै पनि रहस्यमय नै भएको र रहस्यमय रुपमा नै विकसित भएको स्वीकार्छन् । 

राष्ट्रियता र मदन भण्डारी
मदन भण्डारीसंग जोडिएको अर्को महत्वपूर्ण विषय राष्ट्रियता पनि हो भनेर विभिन्न विश्लेषकहरु अहिलेपनि तर्क गरिरहेका छन् । मदन भण्डारीको रहस्यमय मृत्यु, राजा वीरेन्द्रको हत्या र राजसंस्थासंग मिलेर मिलमिलापको नीतिअनुसार अघि बढ्ने वीपीप्रति २०३०  सालपछि भारतबाट भएको अपमानपूर्ण व्यवहार अनुसन्धानका विषय रहेको विश्लेषकहरुको भनाई छ । 

०५७ साल फागुनमा चीनमा सम्पन्न बोआओ फोरममा प्रमुख अतिथि बनेर स्वदेश फर्केपछि राजा वीरेन्द्रले राष्ट्रलाई आत्मनिर्भर बनाउन केही महत्वपूर्ण योजना सारेको बारे पनि चर्चा हुन्छ । यसअघि नै नैता भण्डारीले राजा वीरेन्द्रसंग मिलेर अघि बढन्पर्ने धारणा विकसित गरेका थिए । भारतले गरेको अपमानजनक व्यवहारप्रति राजा वीरेन्द्र र नेता भण्डारीको लगभग मिल्दो विचार थियो । 

मदन भण्डारीलाई यसरी सम्झन्छन् प्रचण्ड
नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताको घोषणासभामा नेता भण्डारीलाई सम्झिएका थिए । विभिन्न धारामा माओवादी धाराका पार्टीहरु मिल्ने धारणा मदन भण्डारीले नै ल्याएको भन्दै उनले त्यतिबेलै पनि यी दुई धाराको एकता सम्भव हुने बताएको सम्झिएका थिए ।

मदन भण्डारीसंग आफूले त्यो बेलामा नै लगभग भेट्ने इच्छा गरेको र भेट्ने कुरा हुँदाहुँदै उनको हत्या भएको उनले एकता घोषणा सभामा सम्झिएका थिए ।

यसरी भएको थियो दुर्घटना 
२०५० सालको प्रारंभको बेलादेखि नै देशभर तत्कालिन नेकपा एमालेको जिल्ला अधिवेशन तीव्र रुपमा भइरहेको थियो । जिल्ला अधिवेशनको चटारोमा नेता भण्डारी र आश्रित पनि लागेका थिए । ०५० जेठ ३ गते महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित कांस्की जिल्लाको अधिवेशन सकेर मुग्लिन हुँदै चितवन तर्फ जाँदै थिए । 

पार्टीका संगठनको बारेमा चर्चा परिचर्चा गर्दै उनीहरु बा १ च ८७२३ नम्बरको जीपमा हुँइकिरहेका थिए । एक्कासी चितवनको दासढुंगाबाट उनीहरु चढेको जीप त्रिशुलि नदिमा हाम फाल्यो । त्यतिबेलाका अर्का प्रभावशाली नेताका रुपमा परिचित थिए माधव नेपाल । एमालेको केन्द्रीय कार्यालयका काठमाडौंको बागबजारमा थियो । नेता नेपाल, वामदेव गौतम लगाएतका नेताहरु राती ११ बजेतिर  घटनास्थल पुगेका थिए । उनीहरु पुग्दा सुरक्षाकर्मीहरु उद्दारमा खटिएका थिए । जीवराज आश्रितको लास गाडीमा नै थियो । नेता भण्डारीको लास भने घटनास्थभन्दा ४० किलोमिटर तल गुञ्जनगरमा तीनदिनपछि मात्रै भेटिएको थियो । 

चालक अमर लामा भने जिउँदै थिए । उक्त घटनाले पूरै देशभरि नै सनसनी फैलिएको थियो । त्यतिबेला नेपाली कांग्रेस नेतृत्वको सरकार थियो । नेताद्वय भण्डारी र आश्रितको हत्या भएको भन्दै एमालेका नेता तथा कार्यकर्ताले घटनाको छानबीन गर्न सरकारसंग माग गर्यो । सरकारको विरुद्धमा आन्दोलन गर्यो । कांग्रेसले नै हत्या गराएको भनी आरोप समेत लाग्यो । 

आन्दालेनले चर्को रुप लिएपनि सरकारले पूवै न्यायाधीस प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग समत गठन गरेको थियो । अनिल आयोगको प्रतिवेदन एमालेले चित्त बुझाएन् । आन्दोलनले झनै चर्को रुप लियो । न्यायाधिस त्रिलोकप्रताप राणा आयोग  बनाइयो । उक्त आयोगले पनि दुर्घटनाको कारण खुलाउन सकेन् । 

त्यहीबीचमा तत्कालिन एमालेले तत्कालिनस्थायी समिति सदस्य केपी ओली नेतृत्वमा छानबीन समिति पनि बनायो । पद्मरत्न तुलाधार नेतृत्वको आयोग पनि गठन भयो । तुलाधार आयोगले षड्यन्त्रपूर्वक हत्या गरिएको निष्कर्ष निकालेको थियो ।
आन्दोलन चर्कँदै गयो । कांग्रेंस सरकार ढल्यो । ०५१ सालमा एमालेकै नेतृत्वको सरकार गठन भयो । तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको उक्त सरकारले न दुर्घटनाको कारण पत्ता लगायो न जेलमा बसेका अमर लामासंग स्पष्ठिकरण सोध्ने प्रयास नै गर्यो । 

त्यतिमात्रै होइन एमालेले त्यसपछि पनि निकै पटक सरकारको नेतृत्व गरिसकेको छ । ०५१, ०५४, ०५७, ०६३, )६६, )६८, ०७० र ०७२ मा एमालेले नै सरकार संचालन गर्दै गर्दा नेताद्वय भण्डारी र आश्रितको जीप दुर्घटनाको कारण बाहीर आउन सकेको छैन् । 

को हुन मदन भण्डारी ?
विसं २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुमा उनको जन्म भएको थियो । नेकपा एमालेका नेता भण्डारी जनआन्दोलन २०४६ मा वाम मोर्चाबाट सक्रिय थिए । नेकपा (माक्र्सवादी –लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी) लाई एकीकरण गरी नेकपा एमाले बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताका रुपमा पनि परिचित छन् । उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको हो ।

पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भएको थियो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो । वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशालाबाट औपचारिक शिक्षातर्फ प्रवेश गरेका भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गरेर जिल्लाभर चर्चा कमाएका थिए । 

२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो । उनी भारतको मथुरामा अध्ययन गर्न गए । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नाकोत्तर गरे ।

राजनीतिक जीवन
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन् । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए । २०३० सालमा उनी पार्टीको पूर्णकालिन सदस्य भए । २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइयो । २०३५सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रीय सदस्य बने । 

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी) को महासचिव बने । २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस््यमय दुर्घटनामा मृत्यु भएको थियो ।

वाकपटुता अथवा भाषणकला अद्भुत भएका भण्डारीका धेरै भाषणहरू चर्चित छन् । जसमध्य भण्डारीकाे एउटा भाषण हामीले यहाँ साभार गरेका छाैं ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर