• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कविता : उत्साहको गीत

आगो दन्किएको समयको सङ्घारबाट
खोज्नु छ देशको नक्शा
र भत्किएको सिमारेखा जोडेर
बनाउँनु छ – मेरो देश नेपालको मानचित्र

अत्याचारको निलडाम खपेर
अचेल मेरो माटो
पीडाको तस्बिर नियाल्दै छ
र बर्वरताको गन्ध सुघेर
दुखको आकाश हेरिरहेको छ

भय चियाइरहेको साँझबाट
जब अँध्यारो–


क्रुरताको कला प्रदर्शन गर्छ
तब अघेनुमा आगो झैं
शोषणको राको दन्कन्छ
लाग्छ जिन्दगी यातनाको अर्को नाम हो
र पनि एम्बुलेन्स थापेको समयसँग
खेल्नु छ पौठेजोरी
हाहाकार पोष्टमार्टम गरेर
छर्नु छ अन्धकार बिरूद्ध उत्साहको उज्यालो घाम

हो फर्काउनु छ
भेडा गोठालाकै निम्ति ल्याप्चे ठोकेर
मुग्लान पस्न आँटेका युवाहरूको बगुन्द्र जमात

देश हारेको शरणार्थी भएको बखत
बिर्सनु छ
मन जल्नुको पीडार खुशी जल्नुको पीडा
भोगेरै यातनाहरूलाइ
यी पहाडहरूमा रोप्नु छ बिश्वासको फुल
फहराउनु छ – आस्थाको झण्डा
र खेतका गहराहरूमा उमार्नु छ – इमानको बाली

संवेदना हराएको बस्तीहरूबाटै
राष्ट्रियताको राको बोकेर
गाउँनु छ स्वाभिमानको मीठो गीत
खोल्नु छ नयाँ पाठशाला
जहाँ लेखेर बिश्वासका कलमले
सिकाउनू छ नैतिकताको नयाँ पाठ
सपनाको गृहकार्य दिएर नानीहरूलाइ
घोकाउनु छ –
सङ्घर्ष बलिदान र मुक्तिको इतिहास ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर