• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस एक साता मनाइने

तस्बिर : वेभ

काठमाडौं । सरकारले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी रुपमा मनाउने भएको छ ।

लागुऔषध दुरुपयोग र अवैध ओसारपसार  रोक्न आगामी असार ५ देखि ११ गतेसम्म चेतनामूलक कार्यक्रमका साथ सरकारले दिवस मनाउन लागेको हो । 

असार ११ गते अर्थात् जुन २६ मा पर्ने दिवस मनाउन आज गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख नारायणप्रसाद शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी थालिएको हो । 

संयोजक शर्माले दिवसका अवसरमा गर्न सकिने योगदान र कार्यक्रमका विषयमा विस्तृत विवरण पेश गर्न सम्बद्ध मन्त्रालयका प्रतिनिधि र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई आग्रह गरेका छन् ।

उनले लागुऔषध नियन्त्रणका विषयमा वर्ष भरी गर्ने कार्यक्रम पहिचान गर्न र राष्ट्रिय नाराका लागि पाँच दिनभित्र सुझाव दिन छलफलमा सहभागी मन्त्रालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलाई आग्रह गरेका छन् । 

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले दिवसलाई रचनात्मक रुपमा मनाउन प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रमका विषयमा सम्बन्धित सङ्घ संस्था र मन्त्रालयमा समन्वय गर्न गृह मन्त्रालयका उपसचिव झङ्कनाथ ढकालको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समितिसमेत गठन गरिएको छ । 

सहभागीले स्कुल तथा समुदायलाई केन्द्रित गरेर प्रचारात्मक कार्यक्रम सञ्चालन गरी सञ्चारमाधयाम र सामाजिक सञ्जालमा समेत प्रचारात्मक अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । मूल समितिको आगामी बैठक भने १० दिनपछि बस्ने छ ।
 
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित अभिभावक सङ्घ, अडिटर्स एशोसिएशन, सेभ द चिल्ड्रेनलगायत लागुऔषध नियन्त्रणमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर