मोदीको पक्षमा मोरङका उद्योगी र स्थानीय

विराटनगर । विराटनगरका उद्योगी व्यवसायिहरुले प्रतिनिधि सभा सदस्य अमनलाल मोदीको बचाउ गरेका छन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विद्युत लाईन बिस्तार कार्य अवरोधमा सांसद मोदीसहित मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको नामसमेत जोडिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सांसद मोदीले प्रशारण लाइन बिस्तारमा आर्थिक चलखेल भएको, उद्योगी व्यापारीसँग ५ लाख रुपैंया मागेको जस्ता समाचार तथा टिकाटिप्पणीमा कुनै सत्यता नभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जारी गर्नुभएको विज्ञप्तिमा सांसद अमनलाल मोदीले ५ लाख रुपैंया नमागेको स्पष्ट गर्दै प्राधिकरणलाई निर्माण कार्यलाई छिटो सम्पन्न गरी विद्यूत आपुर्तीको सहज व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ । 

विज्ञप्तिमा संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद अमनलाल मोदीबीच भएको भनाभनले कसैलाई पनि क्षणिक तृप्ती बाहेक कुनै लाभ नहुने र जिम्मेवार पदमा बस्ने व्यक्तिकालागि यस्ता कुरा शोभनीय पनि नहुने उल्लेख छ । 

दुहबी कटहरी रंगेली नयाँ लाइन विस्तारमा सांसद अमनलाल मोदी, प्रदेश सभा सदस्य बिजय बिस्वास, प्रमुख जिल्ला अधिकारी, गाउपालिकाका अध्यक्षहरु सबैको सहयोग र सहजिकरणबाट काम भइरहेको स्मरण गर्दै उद्योगी व्यवसायिहरुले वैशाख १६ गते जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा मोदीलाई आफ्नै पहलमा बोलाएको स्पष्ट गरेको छ । सो बैठकमा उहाँले रकम मागेको भनेर सार्वजनिक भएको समाचार सत्य नभएको पनि विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी मोरङ क्षेत्र नम्बर ४ अन्तरगत ग्रामथान गाउँपालिकाका जनताको तर्फबाट पनि सांसद मोदीको बचाउ गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा सांसद अमनलाल मोदीको विषयमा भ्रामक कुराहरुको प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

स्थानीय बिरेन्द्र चौधरी, किशनलाल सरदार लगायतले प्रेस विज्ञप्ति जारी गर्दै जनताको आग्रहमा सांसद मोदीले सम्वन्धित निकायसँग समन्वय गरेको र समस्या समाधानकालागि पहल गरेको स्पष्ट पारेका छन् । 

मानव बस्तीको बीचबाट ३३ केभिए प्रशारण लाइन बिस्तार गर्दा अग्लो टावर बनाउन, रुट परिवर्तन गर्न वा प्लाष्टिक कभर गरेर तार बिस्तार गनुपर्ने हाम्रो माग नै सांसदले प्राधिकरण र प्रशासनसमक्ष लगिदिनुभएको स्थानीय बिरेन्द्र चौधरीले बताए । विज्ञप्तिमा सांसद मोदीले उद्योगी व्यवसायिसँग रकम मागेको भनेर आफ्नो माग र सरोकारलाई छायाँमा पार्ने प्रयत्न भएको भन्दै आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख छ । स्थानीयले होचो खम्बाबाट बस्ती क्षेत्रमा विद्युत प्रशारण लाइन बिस्तार गर्दा जनस्वास्थ्यमा असर पुग्ने तर्फ सचेत हुँदै गरिएको आग्रहलाई वेवास्ता गर्दै विभिन्न नकारात्मक टिप्पणी गरिएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर