पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन शनिबार सार्वजनिक भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि जेठ २४ गते हुने चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस अवार्ड २०७५ को विभिन्न ४ विधामा ३÷३ जनाको नाम शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ को सर्बोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाईडिङ), रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) र अमृत थापा (स्क्वास) मनोनयनमा परेका छन् ।

सर्बोत्कृष्ट महिला खेलाडीमा सुमी श्रेष्ठ (फूल कन्ट्याक्ट कराँते), श्रेया केसी (सुटिङ) र प्रीति बराल (सफ्ट टेनिस) मनोनयमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुस्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा दीपक गोदार (फूल कन्ट्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल) र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।

खेलाडीले गत वर्ष २०७५ मा देखाएको पर्फमेन्स र प्राप्त अचिभमेन्टलाई आधार मानेर ३÷३ जना खेलाडी मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मनोनित मध्ये सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार जुरी कमिटी र भोटिङका आधारमा अवार्डका लागि खेलाडी छनौट गरिनेछ । जसमा जुरी कमिटी र भोटिङ पचास÷पचास प्रतिशत राखेर अवार्ड प्राप्त गर्ने खेलाडी छनौट गरिने उनले स्पष्ट पारे ।

यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकीले वर्ष सर्बोत्कृष्ट खेल संघलाई पनि अवार्ड प्रदान गर्ने भएको छ । अवार्ड वितरण समारोहमा वर्ष सर्बोत्कृष्ट संघलाई नगद १५ हजारसहित ट्रफी प्रदान गर्ने जनाइएको हो । यसैगरी मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाटपनि गण्डकी प्रदेशको एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कास्कीमा रहि ५ वर्षदेखी खेलकुदको क्षेत्रमा कलम चलाउँदै आएका एक जना खेल पत्रकारलाई नगद २० हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने मञ्चले जनाएको छ । यसैगरी सर्बोत्कृष्ट महिला, सर्बोत्कृष्ट पुरुष र वर्ष उदीयमान खेलाडी विधामा मनोनयनमा परेका मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने एक जनालाई पपुलर वर्ष खेलाडी घोषणा गरेर नगद २५ हजारसहित ट्रफी, दोसल्ला र सम्मान पत्रले सम्मान गरिने मञ्चका अध्यक्ष गिरीले जानकारी दिए । भोटिङ केहि दिनपछि खुल्ला गरिने उनले बताए ।

सर्बोत्कृष्ट पुरुष बिधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्बोत्कृट महिला बिधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ ।

त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५÷२५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ । त्यस्तै, सर्बोत्कृष्ट पुरुष र खेलाडीलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान मोवाइलसमेत प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई
खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका पूर्व अन्र्तराष्ट्रिय खेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्ने भएको छ । वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन् । उनले चीनमा भएको एघारौं एसियाली खेलकुद प्रतियोगितामा काश्य, तेश्रो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेका थिए ।

स्याङ्जा मनकामना २ मा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थान रामबजार पोखरामा खेल शिक्षकका रुपमा कार्यरत छन् । लाइफटाइभ अचिभमेन्ट अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदी जडित अवार्ड, सम्मान पत्र र दोषल्लाले सम्मान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर