• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिनियाँ कम्पनी हुवावेले रुसमा फाइभजी नेटवर्क विस्तार गर्दै

तस्विर : वेब

एजेन्सी । चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले रुसी टेलिकम ‘एमटिएस’सँग रुसमा फाइभजी नेटवर्क विस्तार गर्न सम्झौता गरेको छ ।

एक रिपोर्टका अनुसार, यी दुई कम्पनीले आगामी वर्षभित्रमा रुसमा फाइभ–जी नेटवर्क विकसित गर्ने भएका छन् । 

तीन दिवसीय रूस भ्रमणमा रहेका राष्ट्रपति चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिनबीचको उपस्थितिमा बुधबार हुवावे र एमटिएस कम्पनीबीच फाइभ–जी विस्तारको सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार यही वर्ष रूसमा पाइलट प्रोजेक्ट रूपमा   फाइभजी विस्तार सुरू हुनेछ ।

अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै हुवावेमाथि प्रतिबन्ध  लगाएर सहयोगी राष्ट्रहरूलाई पनि हुवावेसँग फाइभ–जी सम्झौता नगर्न आग्रह गरिहेको छ ।

पछिल्लो समय अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका स्मार्ट फोनमा आफ्ना सुविधाहरू (जिमेल, म्याप, युट्युब) राख्न नदिने भएपछि हुवावे समस्यामा परेको छ ।

जारी व्यापार युद्धबीच अमेरिकाले आफ्नो देशको कम्पनीलाई कालोसूचीमा राखेपछि चीनले देशभित्र फाइभ–जी सेवा विस्तार गर्न चार कम्पनीलाई लाइसेन्स दिएको छ ।

यस्तै, चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम फाइभजी सञ्चालनको लाइसेन्स दिएको छ । त्यस्तै टेलिकम्युनिकेसन अपरेटर चाइना ब्रोडकास्टिङ नेटवर्कले पनि फाइभजीको लाइसेन्स पाएको छ ।

यी कम्पनीहरूले हुवावेकै फाइभ-जी पूर्वाधार प्रयोग गरिरहेका छन् ।  अमेरिकाले हुवावेको कुनै पनि सामान बिक्री नगर्न अमेरिकी कम्पनीहरूलाई बाध्यकारी बनाएको अवस्थामा चीनले फाइभ-जीको लाइसेन्स नै दिएर अघि बढेको सन्देश विश्वलाई दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर