• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कथा : नचिताएको कुरा

    रातको समय । घरबाहिरबाट किराहरु ‘किर किर’ गरेको आवाजले सन्नाटालाई चिरेको थियो । कतिकति बेला त चर्को स्वरमा एउटा किरा कराएर असाध्यै झर्को लगाउँथ्यो । अमरेलाई निन्द्रा परेको थिएन । ऊ ओछ्यानमा पल्टिएको त थियो तर मनमा उठिरहेका किसिम किसिमका तर्कनाहरुले उसको निदरीलाई पर पर धकेलिरहेको थियो । 

   ओछ्यान छेऊमा राखेको मोबाइल फोनमा समय हे¥यो उसले । रातको साढे बाह्र बजेको रहेछ । 
    “उफ् !” सुस्केरा हाल्यो उसले । मुख सुकेजस्तो भयो । ओछ्यानको छेवैमा राखेको अंखोरा उठायो अनि आधा जिउ मात्र उचालेर टाउको उठाउँदै ‘कलक कलक’ घाँटी बजाएर पानी पियो । त्यसपछि खाटमै जुरुक्क बस्यो ऊ । मोबाइलको स्क्रीनको उज्यालोले कोठाभित्रको अँध्यारोलाई हल्का चि¥यो ।
    छेउमा श्रीमती सुतेकी थिइन । मस्त निन्द्रामा थिइन उनी । अमरेले श्रीमतीको निदाईरहेको अनुहार  मोबाइल फोनको स्क्रीनको उज्यालो लगाएर हे¥यो क्वारक्वार्ति एकछिनसम्म । उसले दुबै हत्केलाले आफ्नो अनुहार मल्यो अनि दुबै हातका माझी औंलाले आँखाको नाकतिरको कुनामा कोट्यायो । अलि अलि कचेरा बसेको थियो । औंलाले मलेर झिक्यो ।

   साढे बाह्र बजिसक्यो कत्तिपनि निन्द्रा लागेन उसलाई । ऊ फेरि सिरक ओढेर लमतन्न प¥यो । श्रीमतीले फेरेको लामो लामो सासले किराहरुको आवाजमा थप लय हालिरहेको थियो ।
    झण्डै बीस बर्ष अघि दुबैको भेट भएको हो । शायद दुईहजार पचपन्न सालतिर हो । उसले पहिलो पटक नीमालाई देखेको थियो । त्यसबेला ऊ चौबीस बर्षको लक्का जवान थियो । नीमा अर्थात उसकी श्रीमती ऊभन्दा एकबर्ष जतिमात्र कान्छि थिइन् । दुबैको प्रेम अचम्मसँग बसेको थियो ।
    दुबैजना पश्चिम क्षेत्रतिर खटिएका थिए । हातमा बन्दूक, शरीरमा कम्ब्याट ड्रेस । दुबै आकर्षक देखिन्थे यो पहिरनमा । अमरे भुतुक्क भएको थियो नीमालाई देखेर । सिनेमाकी नायिकाभन्दा राम्री पो देखेको थियो उसले । हातमा बन्दूक बोकेर नीमाले परेड खेलिरहेको बेला अमरे भने खाना पकाउँने समूहसँग मिलेर सागसब्जी केलाउँदै घरीघरी नीमालाई पुलुक्क हेथ्र्यो अनि भुतुक्कै हुन्थ्यो मनमनै । मनको कुरा साटासाट हुन सकेको थिएन । भनौं भनौं लाग्थ्यो तर आँट आउँदैनथ्यो । लस्करै लाइनमा हिँडेको बेला कसैले नीमालाई थाहा नपाई छोयो भने पनि उसको मन कुटुक्क खान्थ्यो । माया लागेपछि के लाग्छ र !

  जनसमरले बिस्तार लिँदै थियो । हान र भागको फाट्टफुट्ट बाटोबाट अलि अगाडि बढेर परिवेशले दोहोरो जुधाईको अवस्था लिएको थियो । एक साँझ अर्थात झपक्कै साँझ भएपछि मझटारको अलिठूलो प्रहरी चौकीमाथि अमरे सहितको टोलीले हमला ग¥यो । तीन घण्टा दोहोरो भिडन्त भयो । प्रहरी मात्र छन् भनेर हमला गरेका उनीहरु त्यसबेला हतास् भए जब चौकीमा शाहीसेनाको समूह एके ४७ राईफल लिएर फायरिङ्ग गर्न थाले । सकेनन् लड्न उनीहरुले । योजनाबद्धरुपले पछि सरे अमरे सहितको समूह । समूहका एक सहयात्रीलाई गहिरो छर्रा लागेर अईऽऽया र आत्थो गर्न थालेको अवस्था थियो । धन्न ! डरले प्रहरी र सेना चौकीबाट बाहिर निस्कन सकेनन् । 

समूहको कमाण्डरले अमरे र नीमालाई नै ती सहयात्रीको हेरबिचार गर्न जिम्मा दिए । योद्धाहरुको समूह आफ्नो निर्दिष्ट बाटो लाग्यो अनि सहयात्रीको हेरबिचार गर्ने जिम्मा पाएका उनीहरु अन्धकार बाटो छामछाम छुमछुम गरेर हिँडन थाले । साथमा घाईते लिएर हिँड्न कम गाह्रो हुन्नथ्यो । तर अमरे आँफैमा रोमान्चित भएको थियो त्यस्तो कठिन पलमा पनि । घाईतेलाई झल्ट्याङ्ग झुल्टुङ्ग पारेर अलि पर पु¥याए अनि नीमाले बोकेको प्राथमिक उपचारको साधन प्रयोग गरेर सहयात्रीलाई हिँडनसक्ने बनाए । 

हो, यहि बेला अमरेले नीमाको हात पहिलो पटक छोएको । सिरिङ्ग भएको थियो छातीदेखि नै अमेरेलाई । 
चारदिनसम्म घाईते साथीलाई काँध थापेर दुबैजना कहिले भिषण उकालो त कहिले कहालीलाग्दो ओरालो  हिँडे । एकपटक त केहि मिनेटको अन्तरालले बाँचे ती तीनजना । सानो खोलाले छुट्याएको दुई पहाडी गोरेटोमा हतियार सहितका प्रहरी र उनीहरु आरपारमा आमुन्ने सामुन्ने पो परेका थिए । तर समयले साथ दियो । एउटा झरना उनीहरु हिँडेको गोरेटोलाई भित्र पारेर खोलासम्म झरेको थियो । साउनको महिना भएकोले झरना ठूलै थियो । तीनै जना त्यहि झरनालाई छेको बनाएर बसे । झरनाको छङ्गछङ्ग आवाजले प्रहरीको ध्यान उनीहरुतिर गएन । झरनामा छेकिएर बसेको बेला घाईते साथीलाई सहित अमरेले नीमालाई पनि ग्वम्लाङ्ग अंगालो हालेको थियो ।

नियतबस अंगालो हालेको हैन, आतंकित अवस्थाले जुराएको अवसर थियो त्यो ।
“तपाईँले त्यतिबेला हालेको अंगालोले मलाई मायाको डोरीमा बाँधिहाल्यो नि !” नीमाले बिहे भएपछि खोलेकी थिई यो रहस्य ।
अमरे झल्याँस्स भयो । विगतको प्रसंगमा ऊ त पूरै बरालिएछ । फेरि मोबाइल फोन हे¥यो उसले । अब त पौने दुई पो भएछ ।
“हत्तेरी ! कस्तो निन्द्रा नलागेको ?” उसले मनमनै आँफैलाई सोध्यो । श्रीमति सुतेको छेऊतिर कोल्टे फर्कियो अमरे ।
चुनवाङ्गमा ऐतिहासिक बैठक चलिरहेको कुरा अमरे र नीमाहरुको समूहमा पनि चर्चाको बिषय भएको थियो । ‘कमरेड लालध्वजको कारवाही फिर्ता हुँदैछ रे !’ रातको समय जंगलको बीचमा बिश्राम गर्न बसेको बेला एकजना कमाण्डरले त्यहाँ बताए ।

आफ्नो सामान सहितको झोलालाई अडेस लाग्ने ठाउँ बनाएर छेऊमा बसेको कामरेड मकरले सानो चाइनीज रेडियो क्वार्रकुर्र पार्न थाल्यो । 
“यो बि.बि.सी. नेपाली सेवा हो । अब.....बाट आजका मुख्य समाचार सुन्नुहोस... नेपालमा सरकार विरुद्ध शसस्त्र संघर्ष गरेको नेकपा माओवादीले..... ” रेडियोको आवाज विग्रिरहन्थ्यो । समाचार सुन्न रेडियो नजिक कान थापेर बस्थे सबै । समाचार आउँदा आउँदै अर्को फ्रिक्वेन्सी पक्डन्थ्यो “दिल देता है रो रो दुहाई.... किसीसे कोई प्यार ना करे....”

“हत्तेरीका !” सबैको मुखबाट एकसाथ आवाज निस्कन्थ्यो । रेडियो बोक्नेले फेरि रेडियोको बटम घुमाउँन थाल्थ्यो ।
योबेलासम्म त नीमा र अमरेको विवाह भईसकेको थियो । बिवाह अघि नै कमाण्डरले उनीहरुको प्रेम प्रसंग धेरैको मुखबाट सुनिसकेको थियो । दुबै एउटै बटालियनमा थिए । उनीहरुको हिमचिम देखेर केहि केहि योद्धा साथीहरुले उनीहरुको बटालियन नै फरक बनाईदिनुपर्छ भन्ने प्रस्ताव पनि गरेका थिए । 
“यो पार्टी र क्रान्तिको नैतिकता बिरोधी क्रियाकलाप हो ।” एकजना सहायक कमाण्डरले त कारवाही गर्ने कासन झण्डै ठोकिहालेको । तर कमाण्डरले विवेक पु¥याए ।

“क्रान्तिकारीहरुको पनि मन हुन्छ, भावना हुन्छ, प्रेम गर्ने ईच्छा हुन्छ । महिला र पुरुषबीचको प्रेमलाई विवाहको रुप दिनुपर्छ  नत्र त्यो सम्बन्ध अराजक बन्न पुग्छ । बलियो बैवाहिक सम्बन्ध क्रान्तिको बाटोमा झन दह्रो भएर लाग्छ ।” कमाण्डरले सबैलाई सम्झायो ।
सबैजना झुरुप्प भेला भए । कमाण्डरले एउटा मैनबत्ति बीचमा राख्यो अनि अमरे र नीमा दुबैलाई एक एक वटा बलेको मैनबत्ति बोक्न लगायो । 
“अब दुबैजनाले आ–आफ्नो बलेको मैनबत्तिले यो बीचको मैनबत्ति सल्काउनुहोस् । ” दुबैले त्यसै गरे । 
“बलेको नयाँ मैनबत्ति वहाँहरुको नयाँ जीवनको प्रचण्डपथ हो ।” कमाण्डरले जोडले भने । सबैले ताली बजाए । अमरे र नीमाले दर्विलो हात मिलाए । यसरी पो भएको हो अमरे र नीमाको विवाह ।

कोठा बाहिर पट्टि खस्य्राक खुस्रुक आवाज आयो । अमरेका चनाखा कानले पत्तो पायो । जुरुक्क उठ्यो ऊ । काठको झ्यालको पल्ला अलिकति ठेलेर बाहिर हे¥यो । कुकुर जस्तै कुनै जंगली जनावर रहेछ । नजिकै जंगलबाट आएको थियो जनावर । 
“के भो हँ ?” अर्ध निन्द्राकै अवस्थामा नीमाले सोधिन् ।
“केहि हैन । कुकुर होला !” उसले जवाफ फर्कायो अनि झ्याल बन्द गरेर फेरि ओछ्यानमै फर्कियो । श्रीमति फेरि मस्त निन्द्रामा गइहालिन् । उसले फेरि सिरक तान्यो अनि लम्पसार प¥यो ओछ्यानमा ।

युद्धकालको समय हुन्थ्यो भने यस्तो खस्य्राक खुस्रुक आवाजले भयंकर त्रास बोकेको हुन्थ्यो । खस्य्राक खुस्रुकको फेरि अर्कै प्रशंग छ । 
रातको समय । नीमा र अमरे दुबै एउटा घरमा सेल्टर लिएर बसेका थिए । सेल्टर त के भन्नु त्यो रात बास बसेका थिए । राजनीतिमा सक्रिय नभएपनि योद्धाहरुप्रति श्रद्धा राख्ने शुभचिन्तकको घर थियो । एकैपटक सदमुकाम छिर्न कठिन नै थियो । परिवेश हेर्ने, भेष बदल्ने अनेक गर्नुपर्ने हुन्थ्यो सदरमुकाम पुग्न । ढाडमा टेकेर टाउकामा हान्ने नीति कायम गर्नुपर्छ भन्ने कमाण्डरको निर्देशन थियो । 

एकैठाउँ सुतेको बेला अमरेले नीमाको कानमा खुसुक्क भन्यो, “जीवन यसरी नै भाग्दै र लुक्दै जान्छ क्यार ! उत्तराधिकारी ल्याउन सकिन्न कि कसो ?”
“छ्या ! कस्तो लबस्तरो बुढो ।” नीमाले पनि अमरेको कानमै मुख जोतेर सुस्तरी भनिन् “पख न ! जनआन्दोलनले सम्बिधान सभा बनाउला, जनताको राज्य आउला । हामी जस्ता गरीबका घरमा जन्मेर पनि हाम्रो समर्पणले ल्याएको सुन्दर फूलबारीमा हाम्रो सन्तती खुसी भई रमाउला !”

दुबैजनाको मन गद्गद् थियो । शहरमा जनआन्दोलन चर्किएको थियो भने गाउँमा सुरक्षाकर्मी माथि जनसेनाको आक्रमण उस्तै तीब्र बनेको थियो । शहरको जुलुस बढाउँन गाउँबाट सदरमुकाम आफ्नै आफ्नै ढंगले छिर्नुपर्ने भएको थियो । गाउँ र शहरको संघर्षले शाहीतन्त्र ढल्छ अनि भोकाहरुको पेट भरिने दिन आउँछ । अमरे र नीमाको मनभित्र यहि सोचले गहिरो जरा गाडेको थियो ।
घरधनीले सुन्लान कि भन्दै दुबैजना कानेखुसीको शैलीमा कुरा गर्दै थिए । बाहिर खस्य्राक खुस्रुकको आवाज आयो । आवाज झन् झन् नजिक पो आयो । दुबैको कान ठाढा भए । चिसो भयो दुबैको मुटु पनि । 

नभन्दै शाही सेनाको एउटा समूह पो आएको रहेछ । घरधनीले टाँडबाट देखेछन् । हतारहतार उनले दुबैलाई घरपछाडिको सानो ढोकाबाट गोठ हुँदै मकैबारीतिर जाने बाटो देखाईदिए । 
पछि पो नीमा र अमरेले थाहा पाए कि घरबेटीले ठिक गरेछन् । शाही सेनाले त उनको घर सबै खानतलासी पो गरेछ । 
अमरेलाई अझै निन्द्रा परेन । उसले फेरि मोबाइल फोन पिलिक्क पारेर हे¥यो । तीन बज्न दश मिनेट जति रहेछ । “अब त निदाउँनुपर्छ ।” ऊ दाहिनेतिर कोल्टे फर्कियो ।

उसका मनमा अनेकौं घटनाका तस्वीरहरु खेलिरहेका थिए । क्याण्टोनमेण्टको लामो बसाई पनि नौलो अनुभूति नै हो । 
“कुनै पनि बेला क्याण्टोनमेण्टबाट हतियार झिकेर शहरतिर हमला गर्न जानुपर्ने हुन्छ ।” कमाण्डरले बेलाबखतमा भन्थे । नयाँ परिवेशमा अझ जोशिला भएका थिए नीमा, अमरे र अरु थुप्रै क्याण्टोनमेण्टमा बसेका मान्छेहरु ।
समय आयो । बिदेशी अनुहारका मानिसहरु सहितको टोलि आएर सबैको छाती र उचाई नाप्न थाल्यो ।
“ यो के हो कमरेड ?” नीमाले प्रश्न गरेकी थिइन् ।

“कमरेड ! अब हामी दुस्मनको अखडामा छिर्दैछौं । शाही सेनालाई नेपाली सेना बनाउँन हामी पनि त्यहाँ पस्ने हो, सेनामा रुपान्तरण ल्याउँने अनि सत्ता कब्जा.......।” कमाण्डरले बडो जोशका साथ कुरा राख्यो ।
झण्डै महिना दिनपछि क्याण्टोनमेण्टमा एउटा लिष्ट आयो – योग्य र अयोग्य लडाकु । नीमा योग्य लडाकुमा छनौटमा परिन अनि अमरे अयोग्यमा ।
“अब म कुन मुखले गाउँ जाउँ ?” अमरेले प्रश्न गरेको थियो ।

“हामीले हारेका छैनौ, कमरेड । तपाईँ गाउँमा जानुहोस अनि त्यहाँ युवा दस्ता बनाएर त्यस्को नेतृत्व गर्नुहोस । ” कमाण्डरले थप हौसला दियो ।
झण्डै बर्षदिन नीमा र अमरे छुट्टिएर बस्नुप¥यो । क्याण्टोनमेण्ट छोड्ने बेलामा अमरेले आफूले चलाईरहेको बन्दूक एकपटक हेर्न मन ग¥यो । बिगत कैयौं बर्षदेखि उसले काँधमा बोकेर हिँडेको बन्दूक । पातपतिङ्गर ओढेर सुतेको बेला आफ्नो छातीमा टाँसेर राखेको त्यो बन्दूक । छ वटा मोर्चा लड्दा आठ जनालाई पुक्लुक्कै ढालेको उसको त्यो बन्दूक । आफ्नो दाहिने हातको चोरी औंलाले सीप लगाईसकेको त्यो बन्दूक । उसलाई त्यो बन्दूक एकपटक सुम्सुम्याउँन मन लाग्यो ।

“अहिले मिल्दैन निकाल्न । पछि नेपाली सेनामा हाम्रा मानिस गएपछि त्यो बन्दूकलाई जति माया गर्न मन लाग्छ गर्नु, कमरेड ।” यस्तै जवाफ बोकेर अमरे अयोग्यहरुको भिंडमा पुग्यो । उदाउँन लागेको सूर्य अकस्मात अस्तायो । उजेली नआउँदै बिलाएको तारा भयो अमरे ।
अमरेका आँखाबाट पुर्लुक्क आँशु गुड्कियो । ओढिरहेको सिरकको खोलले कंचटतिर बगेको आँशु पुस्यो अनि फरक्क उत्तानो फर्कियो । नाक बन्द भएछ रोएर होला । स्याँक्क स्याँक्क ग¥यो उसले ।

“रुघा लाग्यो तिमीलाई । टाउको राम्ररी छोप ।” नीमाले आँखा चिम्लिचिम्लि यति भनिन् अनि अर्कोतिर कोल्टे फर्केर भुसुक्क भइन् ।
के भयो कुन्नी ! अमरे निदाउँनै सकेन । पर कतै कुखुरा बास्यो । विहान हुन लाग्यो । मनभित्रको उथलपुथल चलि नै रह्यो अमरेको ।
धेरैपछि अमरे काठमाण्डौ पुगेको थियो । गाउँको मानिसलाई काठमाण्डौ भनेको बुझिनसक्नुको ठाउँ हो । कसैलाई कसैको मतलब छैन । बास्तवमा शहरीकरणले मानिसको सामाजिक सम्बन्धलाई च्वाट्ट छिनाल्ने रहेछ ।

अमरेको उदेश्य लामो समय सँगै जनसमरमा होमिएका आफ्नो कमाण्डरलाई भेट्नु थियो । उसलाई अयोग्य लडाकु त भनियो तर राजा फाल्ने लडाईँ आफूले लड्को हुँ भन्ने गर्व अझै थियो उसको । त्यसैले परिवर्तनको बाँकी कार्यभार कहाँ पुग्यो भन्ने हुटहुटी उभित्र बाँकी नै थियो । त्यसो हुन स्वभाविक पनि थियो किनकी उसको त्योबेलाको कमाण्डर अब मन्त्री भएका थिए । 

मन्त्री भेट्न बहुत गाह्रो भयो अमरेलाई । जसोतसो गरेर सिंहदरबार त छिर्न सक्यो तर सिंहदरबारमा बसेका मन्त्रीका स्वकीय सचिवलाई अमरेको योगदानको फुटीकौडीको अर्थ थिएन । स्वकीय सचिवले जनसमर कस्तो हुन्छ भन्ने कथासम्म आफ्नो जीवनमा सुनेका थिएनन् । धरै बेर बाहिर कु¥यो आफ्नो कमाण्डर भेट्न अमरेले । सुट टाई लगाएका सज्जनहरु महत्वपूर्ण आगन्तुक थिए त्यहाँ । अमरेले भने बाहिर राखेको सोफाको एउटा कुनामा बसेर कु¥यो ।

“आज मन्त्रीज्यूको समय छैन ।” स्वकीय सचिवले बारम्बार भनिरहेको थियो ।
मन्त्री कार्यकक्षबाट बाहिर निस्किए । उनको छेऊछाऊमा दुई÷चार जना अरुहरु पनि थिए । उनीहरुसँग गफ गर्दै निस्किए मन्त्री । अमरेलाई लाग्यो मन्त्रीले उनलाई देखेनन् । ऊ दगुर्दै छेऊमा पुग्यो । 
“अभिवादन !” उसले मुठ्ठी उठायो । मन्त्रीले हत्केला अलिकति उचाले । मन्त्री आफ्नै गफमा अगाडि बढे । अमेरेलाई लाग्यो मन्त्री झुक्किए, चिनेनन् । 
ऊ फेरि अगाडि आयो अनि भन्यो “ म अमर ! कमरेड उज्वल । जनयुद्धमा हामीसँगै थियौं नि, कमाण्डर कमरेड ।” मन्त्री मुसुक्क हाँसे अनि खुत्रुक खुत्रुक खुड्किलाहरु उत्रिएर झण्डावाल गाडिमा चढे ।

अमरे झसङ्ग भयो । उसको मुखबाट अनायास निस्कियो, “बर्ग फेरिएछ ।”
अमरे त साँच्चै नै बर्बराएछ । नीमाले जुरुक्क उठर भनिन् “के भनेको तिमीले ?”
अमरेले आँखा मिच्यो । आङ्ग तान्यो अनि भर्खर निन्द्राले छाडेको जस्तो बाहाना ग¥यो । नीमाले भने एकोहोरो अमरेलाई हेरिरहेकी थिइन् । 
“त्यो तस्वीर हेर त ।” खाटबाट आँखा खोल्नासाथ देखिने आफ्नो कम्ब्याट पोसाकधारी तस्वीरतिर ईंगित ग¥यो उसले । नीमाले पनि तस्वीरतिर पुलुक्क हेरि ।

“नचिताएको कुरा । भोकका विरुद्ध बन्दूक बोकिएला भनेर पनि चिताएको थिइँन, अनि अयोग्य बनेर आफ्नैले नचिन्ने अवस्था होला भन्ने पनि चिताएको थिइँन ।” मलिन हाँसो मुस्कुरायो अमरे ।
“जे गर्दैछन्, सोची सम्झी नै गर्दै होलान् नि माथिकाले ।” नीमाले सकारात्मक आश्वासन दिन खोजी ।
“साँच्ची, त्यो हामीले बोकेको बन्दूक अहिले कता छ होला ?” अम्मरेले अकस्मात प्रश्न ग¥यो ।
“हे, यो मान्छे पनि !” नीमाले झर्किएको आवाज निकालिन् अनि ओछ्यानबाट जुरुक्क उठेर कोठा बाहिर निस्किन् ।  भित्तामा कमब्याट ड्रेस लगाएर हातमा बन्दूक बोकेको अमरेको तस्वीर झुण्डिरहेको थियो । अमरे ओछ्यानमै पल्टिएर त्यहि भित्ता हेरेर टोलाईरह्यो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर