• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

शहरमा मकै पोल्ने व्यापारीको गुनासो : 'महंगी बढ्यो, व्यापार बढेन' [भिडियो]

काठमाडौं । ‘मकै खानेभन्दा पोल्ने धेरै भएका छन् । पहिले पहिले जस्तो व्यापार छैन अहिले । सारै गाह्रो भएको छ ।’

ललितपुरको भैंसिपाटीस्थित सडकमा ५ वर्ष पहिलेदेखि मकै व्यापार गर्दै आएकी दोलखाकी सिता बस्नेतलाई हामीले व्यापार कस्तो छ ? भनेर सोद्दा दिएको उत्तर हो यो ।
 
मकैलाई आगोको रापले मात्रै पकाँउछ अचेल उनलार्इ आगोको राप र घामको राप दुवैले सेक्ने गरेका छन् । पानी पर्न थालेपछि रन्किएका कोइला च्वाई... गर्दै निभ्न थाल्छन् । तर उनको शरिर पानीले निथ्रुक्कै भिजेर भएपनि आफ्नो गुजारा चलाउने सहारा बनेका कोईला जोरजाम गर्छिन । निभ्न दिन्नन् । आगो नै निभ्यो भने त उनको रोजी रोटी नै खोसिन्छ । अनि जिन्दगी नै निभिहाल्छ नि । धुलो, धुवाँ, हिलो, घाम, पानी यी सवै अचेल उनका साथी जस्ता भईसके । किनकी हरेक दिन यी मध्यै कुनै न कुनैले छोड्ने भए पो !

पानी पर्दापनि भिजेरै बस्नुपर्छ उनलाई । न त घाम लाग्दा नै छाता ओढ्न पाएकी छिन् । अचेल  ‘अलिअलि व्यापार होला की भन्ने आश लाग्छ, घामपानी केही भन्न पाईंदैन ।’ उनले भनिन्– ‘एनसेल ले पनि साना तिना पसललाई मात्र छाता दिन्छ । आफूलाई गाह्रै परे पनि छाता दिँदैन ।’ 

आफ्ना पीडालाई लुकाएर भएपनि हाँस्दै एनसेलप्रतिको असन्तुष्टि पनि उनले फुत्त पोखिहालिन् । मंहगो कोठाभाडा, छोराछोरीको पढाई र रासन सबै पुर्याउँदै कमाएको एक पैसा पनि बचाउँन नसकोको गुनसो उनले गरिन् । 

मकै राखेर बेच्ने गाडा पनि पैसा नपुगेरै मर्मत गर्न सकेकी छैनिन् उनले । ‘नयाँ किन्न पैसा छैन्, अहिले यसैले काम चलाएको  छु । होस, अब के गर्नु त !’ कमाइले खर्च धान्न नसकेकी बस्नेतको गुनासो यस्तो थियो । 

उनको छोरा छोरी सहित ४ जनाको परिवार काठमाडौंमा बस्छन् । श्रीमान भने गाउँमा नै बस्छन् । छोरा छोरीलाई अहिलेसम्म जसोतसो पढाउन सकेको भएपनि अब गाह्रो हुने उनले बताइन् । काठमाडौंमा बढेको महंगिप्रति उनको चरम गुनासो छ ।

गरिबीको समस्याबाट भाग्न हुँदै केही गरेर खानुपर्छ भन्ने सोच भएकी उनी काठमाडौंका मकै व्यापारीको भीडमा एक प्रतिनिधि पात्र मात्रै हुन् ।
 
उनीजस्तै, सिन्धुलीबाट काठमाडौं आएर मकै व्यापार गर्दै आएकी जमुना मगरले पनि मकै नै बेच्न थालेको १५ वर्ष भयो । कस्तो छ कमाई ? कसरी चल्दै हुनुहन्छ ? भनेर सोद्दा उनी हाँस्दै भन्छिन्–‘कति हुनु कमाई ! त्यस्तो छैन् । जे होस घरखर्च चलेको छ ।’

एक छोरा र एक छोरीसंग ललितपुर बस्दै आएकी जमुनाका श्रीमान छैनन् । श्रीमान नभएपनि आफूले मकै पोलेर व्यापार गर्दै छोरा छोरीको पढाइदेखि घर खर्चसमेत धान्न पर्ने बाध्यता जमुनाको छ । ‘भगवानले हेर्दिएका छन् । अहिलेसम्म पुगिरहेकै छ ।’ उनले भनिन् । 

‘पहिला मकै सस्तो थियो सस्तैमा बेचिन्थ्यो । अहिले त एउटै मकैको ३० रुपैंया पुगिसक्यो ।’ ३ रुपैंयाका किनेर ६ रुपैंयामा मकै बेचेका दिनहरुको स्मरण गर्दै उनले महगिंको पीडा हामीलाई सुनाइन् ।  

हामीसंग गफ गर्दापनि उनलाई मकै पोल्न र बेच्न भ्याइनभ्याई थियो । एकल महिला भएर पनि आफ्नो परिवारलाई मिहेनतका साथ पाल्नुपर्छ भन्ने सोच उनमा प्रष्टै देखिन्छ । तर, चोक चोकमा व्यापारी बढेसंगै पछिल्लो समय आफ्नो व्यापारबाट उनी खुसी हुन सकेकी छैनन् । 

सर्लाहीबाट आएर ललितपुरमै मकै व्यापार गरिरहेकी अर्की एक महिला व्यापारीको व्यथा पनि उस्तै नै छ । ‘मकै व्यापारबाट कमाइ घट्दै गएको छ । अहिले खाए भरे के खाउँ भरे खाए अहिले के खाउँ जस्तो छ ।’ उनको पनि गुनासो अरु व्यापारीको जस्तै छ ।
 
छोराछोरीलाई पढाउँदै उनी काठमाडौंमा मकै व्यापारबाट गुजारा चलाउँदै आएकी छिन् । 

‘छोराछोरीसहित ४ जनाको परिवार पाल्ने मुख्य आयस्रोत नै मकै व्यापार हो । बच्चाहरुले पनि पढ्दै सोनोतिनो काममा लागेका छन् । केही राहत चाँही भएको छ ।’ उनले भनिन् । मकै बेच्नुअघि उनी गलैंचा बुन्ने काम गर्थिन् उनी ।

भिडियो :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर