• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कागतीको बोक्रा खादा लाभै लाभ

गर्मीसंगै शरीरलाई मनग्ये पानी चाहिन्छ । ठीक यही बेला अस्वस्थकर अनि महँगो चिसो पेय पदार्थको बिक्री पनि बढ्छ । यस्ता पेय पदार्थले हड्डी कमजोर बनाउँछन् । त्यसो भए गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने ? प्रश्न हुन सक्छ । ‘कागतीको सर्बत’ सबैभन्दा प्रभावकारी उत्तर यही हो । सर्बतलाई हामी गर्मी वा जाडो, तातो वा चिसो जेमा पनि मिलाएर खान सक्छौं ।

म कागतीलाई ‘औषधिको डल्लो’ भन्छु र दिनहुँ कमसेकम दुई वटा कागतीलाई चिया, सर्बत, दाल आदिमा मिलाएर खाने गर्छु ।
कागतीमा भिटामिन सी पाइन्छ । यो भिटामिनले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । कागतीको त्यही शक्तिलाई चिनेर नै हुनुपर्छ, हाम्रा पुर्खाले गर्मी शुरू हुने अक्षय तृतीयामा कागतीको सर्बत र जौको सातु खाने चलन चलाएका । गर्मीमा कागतीसँग सातु खाँदा विभिन्न खाले पेटको विमारबाट बच्न सकिन्छ । तर, अचेल अक्षय तृतीयामा प्याकेटमा पाइने फलफूलको महँगो र हानिकारक रस, चिसो पेय पदार्थ प्रयोग गरिन्छ । यसले संस्कृति नष्ट मात्र गर्दैन, स्वास्थ्य पनि बिगार्छ ।

कागतीको महत्व वैद्यहरूले पनि बुझेकै हुनाले भनेका रहेछन्, ‘कागती र अदुवा दिनदिनै खानेको घरमा रोगले प्रवेश पाउँदैन ।’
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले गरेको एक अध्ययनले कागतीले हैजाको कीटाणु वृद्धि रोक्ने निष्कर्ष निकालेको छ । तर, यस्तो उपयोगी कुराको प्रचार हुन सकेन ।

कागतीमा रहेको भिटामिन सीले भोजनको लौहतत्व सोस्न मद्दत गर्छ । कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई कागतीको रसको साटो भिटामिन सीको चक्की दिंदै खानासँग खानु भन्छन् । फलामको भाँडोमा पकाएको दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवतीको रक्तअल्पता कम हुन सक्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भनेर १७ औं शताब्दीमै पत्ता लागेको हो । शरीरका अतिरिक्त क्रियाकलापमा यो एसिडले सघाउँछ र कागतीमा यो पाइन्छ ।
कागतीको चिया जबकि ‘लेमन टी’ भनेर पाँचतारे होटलमा रु.१५० मा बेचिन्छ । हामी मीठो मानेर पिउँछौं । सजिलै पैसा तिर्छौं । तर, त्यही ‘लेमन टी’ घरमा खान पिउन मन पराउँदैनौं । पाहुनालाई दिन हच्किन्छौं ।

कागती खाने अधिकांशले बोक्रा फालेको देखिन्छ । तर, यही बोक्रामा रेसादार पदार्थ, भिटामिन सी र क्याल्सियम पनि पाइन्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित सेवनले शरीरमा बोसो घटाउन पनि सहयोग गर्ने देखाएका छन् । बरु बोक्रा कसरी खाने भनेर धेरैलाई थाहा नहुन सक्छ, रस निकालिसकेको कागतीको बोक्रालाई सानो सानो टुक्रा पारी सलादमा राखी खानु उपयुक्त मानिन्छ ।

बोक्राको तीतो स्वाद मन नपरेमा सुकिसकेपछिको बोक्रालाई सिसाभित्र नूनमा चोबली घाममा सुकाएर अचार बनाएर पनि खान सकिन्छ ।
यो गर्मीमा कागतीको सर्बत पिउने हो कि ?     
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर