• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने

काठमाडाैं– राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ । यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो । फ्रेन्च भाषामा पोख्त प्रहरी ती देशमा पठाउन लागिएको छ । यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।

मालीमा खटाउनेबारे पनि छलफल भइरहेको उनले बताए । गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको छ । १७ वर्षपछि नेपाल प्रहरी राष्ट्रसंघअन्तर्गत कंगो मिसनमा खटिएको हो । जहाँ हाल चारजना प्रहरी कार्यरत छन् । हाल नयाँ मिसनहरूमा जानका लागि प्रहरी अधिकारीहरूले अंग्रेजीका साथै फ्रेन्च भाषासमेत जान्नुपर्ने भएको छ । त्यसैले प्रहरीमा फ्रेन्च पढ्ने लहरसमेत सुरु भएको छ । पछिल्लोपटक प्रहरी जान थालेका मिसनमा फ्रेन्च अनिवार्य गरिएको छ । कंगो मिसनमा पनि फ्रेन्च जान्ने प्रहरीलाई मात्र पठाइएको छ । फ्रेन्च मिसनहरूमा प्रस्ताव आएपछि प्रहरीले आफैँ पनि भाषा पढाउन थालेको छ ।

कंगोबाहेक सुडान र दक्षिण सुडानमा नेपाल प्रहरीका अधिकारीहरू कार्यरत छन् । हाइटीस्थित एफपियू मिसन गत महिना मात्र बन्द भइसकेको छ । तर, केही महिनाका लागि केही प्रहरी अझै कार्यरत छन् । हाइटीबाट बस्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ । पछिल्ला वर्ष नेपाल प्रहरीको राष्ट्रसंघमा अवसर कम हुँदै गएको छ । तीन वर्षअघि राष्ट्रसंघले नयाँ एफपियू मिसन दिने प्रस्ताव गरे पनि प्रहरीले बन्दोबस्तीका सामान किन्न नसक्दा अवसर कम हुँदै गएको छ । प्रहरीले नयाँ मिसनका लागि लबिङ गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर