• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जनकपुरधामको अर्को परिचय बन्दै गंगा आरती

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाइ अभियानबाट सुरु भएको गंगा आरती आज पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।  पाँच वर्ष पूर्व गंगा दशहाराको अवसर पारेर सुरु भएको गंगा आरतीको वार्षिकोत्सवको अवसरमा विशेष आरती गर्ने तयारी गरिएको छ । विशेष गंगा आरतीमा प्रमुख अतिथिको रुपमा पूर्वराष्ट्रपति डा.रामवरण यादव सहभागी हुने छन् । 


जनकपुरधामको धार्मिक र पवित्र गंगा सागरमा सेभ हिस्टोरिकल जनकपुरको पहलमा सुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गंगा आरती जनकपुरधामको अर्को परिचय बनेको भन्दा अतिशयोक्ति नहोला ।  नेपालमै पहिलो पटक शुरु गरिएको गंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । जनकपुरधाममा सुरु भएको गंगा आरतीपश्चात पोखराको फेवातलाका साथै सिरहा, महोत्तरीको जलेश्वर लगायतका स्थानमा समेत साँझ आरती हुन थालेको छ ।


तीन महिनाको गंगा सागर सफाई अभियानपश्चात पाँच वर्षपूर्व सुरु गरिएको गंगा आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताए । गंगा आरती केहो भन्ने सवालमा रामाशिषले छोटो जवाफ दिए, ‘जलको संरक्षण र प्रकृतिको पूजा नै हो गंगा आरती ।’ जलकी देवी गंगा र जमिनकी देवी जानकीको संयुक्त पूजा हुने आरती स्थलमा प्रत्येक बेलुका हजारभन्दा बढी मानिसको भीड लाग्छ । झन्डै दुई घण्टाको संगीतमय आरतीको अन्त्यमा प्रसाद समेत बाँडिन्छ । भक्तहरूले चढाएको भेटी र दानबाट नै यो चार वर्षदेखि आरतीले निरन्तरता पाइरहेको छ भने यहाँबाट सिकेर जनकपुरका अन्य तालहरू पनि सफा राख्नुपर्छ भन्ने सचेतना बढेको छ । बनारसबाट आएका पण्डितले यहाँका सात जनालाई आरती गर्न सिकाएपछि अहिले हरेक सोमबार जलेश्वर महादेव मन्दिरमा समेत महाआरती गरिंदै आएको छ । 

 


आरतीका लागि गंगा सागरको किनारामा ३ वटा मण्डप बनाइएको छ । तीनवटा पण्डित एकैसाथ गीत संगीतकै धूनमा आरती गर्ने गर्छन् । हिन्दु धर्ममा आरती पूजा अर्चनाको एउटा विधि हो । आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्य समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ । आरतीको टुकी  घ्यू वा तेलको दियोको हुन सक्छ वा कपूरबाट बनाइएको हुन्छ । यसमा वैकल्पिक रूपमा घ्यू, धूप तथा सुगन्धित पदार्थहरुको पनि मिश्रण गरिएको हुन्छ । कयाै पटक यसका साथै संगीत (भजन) तथा नृत्य पनि गरिने गरिन्छ । मन्दिरहरुमा विहान, बेलुका एवं रातिमा द्वार बन्द हुनुभन्दा अगावै आरती हुन्छ । जनकपुरधामको गंगा आरतीका लागि विशेष प्रकारको आरती बनाइएको छ ।

भारतको बनारसको गंगाआरती जस्तै यहाँ पनि रहेको छ । दूई वटा ठूल ठूलो आरती जसमा आगोको डल्लो जलिरहन्छ ।  
गंगासागरमा आरती शुरु हुनुभन्दा एकघण्टा पहिला देखि नै स्थानीयवासीका साथै पर्यटकहरुको भीड लाग्न थाल्छ । साँझ ७ बजेदेखि राति ८ बजे सम्म गंगासागरको चारै तीर श्रद्धालुहरु जम्मा भएर आरतीको आनन्द लिने गर्छन । आरतीमा कयोपटक सहभागी भईसकेका पूर्व राष्ट्रपति डा. रामवरण यादवले भने,  कसरी एक घण्टा बितिहाल्छ पत्तो नै चल्दैन । जनकपुरधाममा रहँदा आरतीमा सहभागी हुने अवसर छुटाउँदिन । 


गंगा आरती स्थल गंगासागरको महत्व

गंगासागरको महत्व अत्याधिक रहेको छ । त्रेतायुग कालिन यसको पनि इतिहास रहेको छ । इतिहासकारहरु यो गंगासागर कुन प्रयोजनका लागि निर्माण गरियो त्यसमा एकमत नदेखिए पनि त्रेतायुगकालिन रहेको यसमा कुनै द्विविधा नरहेको उनीहरु बताउँछन । केही इतिहासकारहरु रामजानकीको विवाहको बेला जानकीकै आग्रहमा भगवान रामले आफ्नो बाणले गंगालाई जनकपुरमा आमन्त्रीत गरेको दावी गर्छन भने केहीले त्रेता युगमा मिथिला नरेश निमिको श्रापबाट पूरै शरीर गलिसकेको थियो, त्यस पछि उनको शरीरलाई मन्थन गरियो जसबाट मिथि नाउँका बालकको जन्म भएको थियो ।

सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदी तथा सरोवरहरुबाट पानी ल्याइयो सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको हुन सक्ने बताउँछन । रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव भन्नु हुन्छ अहिले पनि प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवमा मटकोर गंगासागर पोखरीमै हुन्छ र अन्य विशिष्ट उत्सवमा पनि गंगासागर पोखरीकै पानी ल्याउने गरिन्छ । यसले पनि गंगासागर पोखरीको महत्व कति छ भन्ने कुरो दर्शाउँछ ।

भारतको बनारसको गंगाघाटमा प्रत्येक साँझ हुने गंगा आरतीबाट प्रभावित भएर जनकपुरको गंगासागरमा गंगा आरती शुरु गरिएको छ । तर जनकपुरको आरतीमा गंगा, जानकी र शिवको संगै आरती हुने गरेको छ । यहाँको आरतीको सुगन्ध नै यो रहेको सेभ हिस्टोरिकल जनकपुरका महासचिव एवं मानवअधिकारकर्मी समेत रहेका मधेशी आयोगका अध्यक्ष विजय दत्तले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर