घरघरमा खानेपानीको धारा

स्याङ्जा । कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३  चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् ।  । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ । 

गाउँपालिका र  पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा सबैका घर घरमा खानेपानीको  धारा जडान भएपछि बासिन्दाले सरसफाइदेखि करेसाबारीसम्म पानी प्रयोग गरेका छन् । 

हरिनाश –३ चिसापानीकी रीता गुरुङले पहिला खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुशी लागेको बताए । उनी भन्छिन,“ पहिला पहिल पानीको लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपथ्र्यो, अहिले घरघरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ, पानीको लागि खर्च गर्ने समयमा अरु काम गर्न पाइएको छ ”, उनले भने  । घरघरमा पानी आएपछि गाउँवासीले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेको उनी बताउँछन् । 

गाउँपालिकाको रु ३२ लाख र परियोजनाकोे रु ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र बाँकी स्थानीयवासीको जनश्रमदान गरी रु एक करोड २६ लाखको लागतमा निर्माण भएको योजनामा स्थानीयवासीले ९३ दिन  जनश्रमदान  गरेका थिए । 

चिसापानीका २०२ घरधुरीका एक हजार १५८ जनसङ्ख्या सो पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष  झनमाया पराजुलीले बताए । गाउँभन्दा ६ किमी पर रिपसुंवारा मूलबाट पानी ल्याएर चार टयाङ्की र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो ।   स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर