• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कथा : महानगरभित्र

बिहानको करिब दस बज्दै थियो ।
म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किँदै पछिल्तिर फर्किएँ ।
“हजुर, नमस्कार !” एउटा युवक मुसुक्क मुस्कुराइरहेको थियो ।
परिचित जस्तो अनुहार लागे पनि मैले राम्ररी ठम्याउन सकिनँ । तर उसको हाँसो र उसले मप्रति देखाएको मुक्त व्यवहारले ऊ मेरो नजिकको मान्छे हो भन्ने बुझ्न बेर लाग्दैनथ्यो ।
“मलाई चिन्नु भएन कि क्या हो हजुरले ?” मेरो हात झट्कार्दै भन्यो उसले ।
उसको सोधाइपछि म झनै अल्मलिरहेको थिएँ । छैन भनौँ भने अत्यन्त परिचित जस्तो लागिरहेको थियो उसको अनुहार । चिनेँ भनौँ भने मैले राम्ररी ठम्याउन सकेकै थिइनँ ।
“म उही क्या साइला दमाइको छोरो तिलक !” म अक्मकाउँदै गर्दा आफ्नो परिचय उसले हत्तपत्त दियो ।
मैले उसको सबै पहिरन हेरेँ । भैरे दमाइको छोरो । यो कसरी हुन सक्छ ? ऊ मेरो गाउँको अत्यन्त गरिबको छोरो । घाँटीमा सुनको सिक्री थियो । हातमा अत्यन्तै महङ्गो लाग्ने घडी । उसले लगाएका जुत्ता र कपडाहरू सबै महङ्गाजस्ता लाग्थे ।
“हजुर, जाउँ, मेरो गाडी ऊ त्यहीँ छ । एउटा रेस्टुरेन्टमा गएर चिया कफी खाऊँ । मैले हजुरलाई धेरै समयदेखि खोजिरहेको थिएँ । मैले हजुरको फोन नम्बर पनि प्राप्त गर्न सकिनँ । आज भेट भयो । मेरो त भाग्य नै रहेछ नि !” उसले एकैपटक धेरै कुरा भनी सिध्यायो ।
म भने अन्योल र असमन्जस अवस्थामा गुज्रिएको थिएँ । पोहोरको दसैँमा घर जाँदा तिलकको बुवा साइला दमाइले आफ्नो छोरालाई भेटेर घर जान भनिदिनुप¥यो भनी आग्रह गरेको कुरा मेरो मानसपटलमा चलचित्रको दृश्य झैँ घुमिरहेको थियो ।
“मलाई त केही थिएन हजुर, ऊ काठमान्डूमै छ भनेर देख्नेहरूले भनेकै थिए । उसको चिन्ताले तिलककी आमाको हाड 
र छाला मात्र बाँकी छ । ऊ गएको यतिका वर्ष भइसक्यो । हजुरले खोजी गरेर पठाइदिए ठूलो गुन सम्झने थियौँ ।” यति भनिसकेर साइला दमाईले एक थोपा आँसु भुइँमा खसाएको थियो ।
तिलकले भनेको नमानुँ भने फेरि उसलाई भेट्न नपाइने डर । उसले भनेको मानुँ भने त्रिचन्द्र कलेजमा कक्षा छुट्ने डर । म यही द्विविधामा एकछिन रुमल्लिएँ ।
“के सोचिरहनु भएको जाउँ न हिँड्नुस् !” उसले मेरो हात समातेर झकझक्यायो ।
मैले पनि त्रिचन्द्रमा आजको कक्षा छाडिदिने विचार गरेँ र उसको पछिल्तिर लागेँ । ऊ मेरो अघिअघि लाग्यो र केही पर बाटोको किनारमा पार्किङ गरिराखेको कारको ढोका खोल्यो । उसले मलाई पछिल्लो सिटमा बस्न हातले इसारा ग¥यो ।
कार अत्यन्तै अत्याधुनिक र नयाँ मोडेलको थियो । उसले कारलाई नारायणहिटी दरबार अगाडिबाट पूर्वतर्फ नागपोखरीतिर मोड्यो ।
मेरो मनभित्र उसका बारेमा विभिन्न तर्कनाहरू खेलिरहेका थिए ।
“ऊ कसैको निजी ड्राइभर भयो होला या कुनै मोटर वर्कसपमा काम गर्छ होला ।” म उसले चलाइरहेको कारको पछिल्तिर बसेर यस्तैयस्तै सोच्दै थिएँ ।
“तिमी कहाँ बस्छौ ?” मैले कुराको पोयो खोल्ने विचार गरेँ ।
पहिले पहिले उसलाई तँ भनेरै सम्बोधन गर्थें । गाउँको दलित केटो त्यसमाथि मेरो कान्छो भाइको उमेरको मान्छे । तर उसको रवाफ देखेर आज तँ भन्ने आँट गर्नै सकिन । तिमी भनेर सम्बोधन गरेँ ।
“मेरो बारेमा एकछिनपछि हजुरले सब थाहा पाइहाल्नुहुन्छ नि !” उसले नागपोखरीबाट बालुवाटारतिर गाडी मोड्दै भन्यो ।
बालुवाटार नपुग्दै मलाई उसले एउटा रेस्टुरेन्टभित्र लिएर गयो । रेस्टुरेन्टभित्र पस्ने बित्तिकै उसले दुई जना मात्र बस्न मिल्ने एउटा सेक्रेट कोठाको माग ग¥यो ।
“किन चाहियो र सेक्रेट कोठा, आखिर कोही मानिसहरू त छैनन् ।” मध्यान्न हुन लागेको बेला खाली रेस्टुरेन्ट देखेर मैले उसलाई भनेको थिएँ ।
मैले भन्दा नभन्दै रेस्टुरेन्टको स्टाफले एउटा सेक्रेट कोठा देखाइदियो ।
“यो आफ्नै भाइहरूले चलाएको रेस्टुरेन्ट हो क्या दाइ !” उसले स्पष्टीकरण दियो ।
“के इच्छा छ हजुरलाई ? मम, पिज्जा, सेकुवा ।” उसले मेनु पल्टाउँदै भन्यो ।
“होइन, म त भरखरै खाना खाएर आएको । मलाई त केही पनि खाने इच्छा छैन । तिमीले आफूलाई मात्र मगाऊ ।” मैले आफ्नो स्थिति बताइदिएँ ।
“होइन, चिसो, तातो केही त लिनै पर्छ ।” मलाई उसले कर गर्न थाल्यो ।
“हुन्छ, मचाहिँ एक कप कफी खान्छु । अरू तिमीलाई के इच्छा छ लेऊ ।” मैले उपाय खोजेँ ।
“मेरो त खाना खाने बेलै भएको छैन । खाना खाँदा दिउँसोको बाह्र–एक बज्छ । बिहानै हेभी ब्रेकफास्ट लिन्छु र जीममा जान्छु ।” मेनुबाट आँखा नउठाइकन उसले भन्यो ।
पाँच वर्ष पहिले उसलाई मैले पहाडमै भेटेको थिएँ । मेरी आमा त्यसबेला बिरामी भइरहनुहुन्थ्यो । त्यस कारण म आफ्नो घर पहाड गइरहन्थेँ । त्यसैले ऊसँग मेरो निरन्तर भेट भइरहन्थ्यो ।
“तर पाँच वर्ष पहिलेको तिलक र अहिलेको तिलकमा आखिर यत्तिका फरक कसरी भइरहेको छ ?” म आफै यो प्रश्नमा रुमल्लिरहेको थिएँ ।
यसै बीचमा उसको गोजीमा मोबाइलको घन्टी बज्यो ।
“सानुमैयाँ ! म आइपुग्न अरू एक घण्टा लाग्छ है !” यति भन्दै उसले मोबाइल स्वीच अफ ग¥यो र टेबलमा राख्यो ।
टेबुलमा राखेको उसको मोबाइलमा आँखा पर्ने बित्तिकै पाँच वर्षअघिको अर्को सम्झनाले मलाई तान्यो । त्यस बेला टच स्क्रिन मोबाइलको सुरुवात भएकै थिएन । मैले भरखरै नोकियाको नयाँ सेट लिएर गाउँ गएको थिएँ । त्यसबेला मसँग भएको मोबाइल देखेर ऊ अचम्मित भएको थियो । अझ त्यसबाट टाढा टाढाका मानिसहरूसँग त्यसबाट कुरा गर्न सकिन्छ भन्ने थाहा पाएपछि उसको कोतूहलता देखेर मलाई निकै रमाइलो लागेको थियो । यति बेला टेबुलमा राखेको उसको अत्याधुनिक सेट देखेर म भित्रभित्रै लोभिइरहेको थिएँ । सम्पूर्ण क्रियाकलापहरूले उसको समग्र जीवनशैली अत्यन्तै उच्चस्तरको रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
तिलक मसँग केही कुरा गर्न चाहिरहेको छ भन्ने आभास उसका केही भागभङ्गिमाहरूले मलाई दिइरहेका थिए ।
“काठमाडौँमा तिमी के गरेर बसिरहेका छौ ?” उसको समस्यालाई बुझेर मैले नै कुरो सुरु गर्ने विचार गरेँ ।
“यस्तै त हो नि दाजु ! सडकतिर घुमेर दिन बिताएको छु ।” हल्का हाँसो हाँसेर हल्कै जवाफ दियो उसले ।
“सडकमा घुमेर खान पाउनु पनि ठूलै भाग्य हो नि !” मैले पनि हल्कै कुरा गरेँ ।
“पुगेकै छ दाजु !”
“भनेपछि ठूलै प्रगति गरेछौ जस्तो छ ।”
“सामान्य छ ।”
“के गर्छौ त ?”
यिनै संवादका बीच मेरो पछिल्लो प्रश्न पछि ऊ अलिक हडबडायो ।
मतिर हेर्दै ऊ अलिअलि मुस्कुराउने प्रयत्न गथ्र्यो । 
त्यसपछि ऊ लामो समय मौन देखियो । मेरो प्रश्नपछि उसको अनुहारमा एउटा त्रासको लहर दौडियो ।
हाम्रो अघिल्तिरको टेबुलमा कफीका दुईवटा कपहरू आइपुगे । ऊभित्र केही कुराहरू गुम्सिएर रहेका छन् र ती कुराहरू खोल्न उसलाई सकस परिरहेको छ भन्ने मैले अन्दाज गरिरहेको थिएँ ।
उसको मौनताको कारण खोजिरहेकोे थिएँ म । उसको स्वभाव मौन बस्न रुचाउने खालको थिएन । यो कुरा म राम्रोसँग जान्दथेँ । सानैदेखि चन्चले स्वभावको थियो ऊ ।
“ए ! घरमा तिम्रो बुवा निकै बिरामी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?” म ऊबाट छलफलको गति बढाउन चाहन्थेँ ।
“अहिले त ठीकै छ अरे !” ऊ फेरि छोटो उत्तर दिएर अडियो ।
“दाइलाई आज म मेरो घर देखाउन लान्छु । तर त्यसका लागि दाइसँग मैले केही कुरा गर्नु छ ।” यति कुरा गर्दागर्दै उसको अनुहार लज्जावती झारझैँ ओइलायो ।
“ए ! तिमीले काठमान्डूमा घर बनाइसक्यौ ?” मलाई पनि अचम्म लाग्यो ।
काठमान्डूमा आएर मैले कलेज पढाउन थालेको पनि दुई दशक भइसकेको थियो । बल्लबल्ल भक्तपुरको दुवाकोटमा तीन आना जग्गा जोड्न मात्र सकेको थिएँ । मेरा लागि घर बनाउनु त धेरै टाढाको कुरा भयो । उसले घर बनाएको कुरा गर्दा म साँच्चै अचम्मित भएँ ।
“कहाँ बनायौ घर ?” उसको कुरा सुनेपछि मेरो उत्सुकता पनि बढ्दै गयो ।
“लाजिम्पाटमा ।” उसले फेरि छोटकरीमै कुरो टुङ्ग्यायो ।
“लाजिम्पाटजस्तो भिआइपी ठाउँमा तिलकको घर ?” मलाई भित्रैदेखि उसको घर हेर्ने कोतूहलता जागेर आयो ।
“मैले मेरो घरमा मेरो पारिवारिक अवस्थाका बारेमा धेरै कुरा ढाँटेको छु । मैले मेरो ससुरालीतिर सबैलाई म ठकुरी जातको मानिस हुँ भनेर परिचय गराएको छु । मेरी श्रीमतीदेखि सबै जना मेरो कुरामा ढुक्क छन् । हजुरले यो कुरालाई मिलाएर कुरा गरिदिनुपर्ला है ! म हजुरलाई मेरो ठूलो बुवाको छोरो दाजु भनेर परिचय गराउँछु ।” सकसका साथ उसले आफ्ना कुरा राम्रोसँग भनिनसक्दै टाउको झुकायो ।
“कसकी छोरी विवाह ग¥यौ ?” म उसको बारेमा थप कुरा जान्न हतारिएको थिएँ ।
“राणाकी !” 
“कति वर्ष भयो विवाह भएको ?”
“चार वर्ष !”
“बच्चाहरू कति भए ?”
“दुईवटा । छोरा र छोरी ।”
सङ्क्षेपमा यिनै संवादहरू भए उसका र मेराबीचमा ।
“हजुर, जाऊ न त !” ऊ उठ्यो ।
“ऊसँग जाउँ भने झूटो बोल्नुपर्ने, जान्नँ भन्नलाई पनि ऊ निकै कर गर्ने मूडमा देखिन्थ्यो । म एकछिन रनभुल्लमा परेँ ।

दरबारमार्गको बाटो लाजिम्पाटतिर मोडिएपछि उसले आफ्नो मोटरलाई छेउतिर लगायो । देख्दैमा अत्याधुनिक लाग्ने बङ्गलाको अघिल्तिर उसले मोटर रोक्यो र लामो हर्न बजायो ।
एउटा अधबैँसे देखिने मानिसले आएर ढोका खोलेपछि हामी त्यो बङ्गलाभित्र प्रवेश ग¥यौँ ।
बगैँचामा  थरीथरीका  फूलहरू फुलिरहेका थिए ।
पारिजात, धुपी, सल्लाका बोटहरूले सहरभित्रको वातावरण पनि प्रकृतिमय थियो ।
काठमाडौँमा त्यो स्तरको अत्याधुनिक बङ्गलामा प्रवेश गरेको मेरो पहिलोपटक थियो ।
“आज किन हजुरले आउन ढिलो गरिस्यो त ?” भित्र कुनै कोठाबाट एउटा नारी स्वर सुनियो ।
“ठुल्दाजुसँग भेट भयो आज, त्यसैले ढिला भयो ।” बैठक कोठाबाट उसले चर्को स्वरमा भन्यो ।
“भेट भयो भयो मात्रै त भन्ने हो नि ! हजुरका मान्छेहरूलाई हामीले कहिले चिनेको होइन क्यारे !” भित्रबाट उही नारी स्वरको एउटा निरस प्रत्युत्तर आयो ।
“आज हाम्रो घरमा दाजु मसँगै आइसेको छ ।” तिलकले निकै उत्साहका साथ भन्यो ।
“ए, हो र !” भित्रबाट नारी स्वरको प्रतिक्रिया आयो र सँगसँगै छिटो गतिमा हामी बसेको ठाउँतिर आइरहेको पाइलाको आवाज आयो ।
त्यो आवाज हामी नजिक नजिक आइरहेको थियो । मैले अन्दाज गरिसकेको थिएँ । त्यो पाइलाको आवाज त्यही नारी स्वरकै हो । मलाई कता कता शरीरमा चिटचिट पसिना आएको महसुस भयो । अब एकछिनपछि मैले पूरै अभिनय गर्नुपर्ने छ र पूरै झूटैझूट बोल्नुपर्ने छ ।
“यो कसरी हुन सक्छ ?” मलाई मेरो शरीर पूरै ओइलाएको महसुस भयो ।
“म विद्यार्थीहरूलाई पूरै नैतिकवान् बन्न प्रेरित गर्ने गुरु ! तर यो कसरी ?” यस्तो सोच्दासोच्दै म आफूभित्रभित्रै भूकम्पका झट्काहरूको जस्तो तरङ्ग महसुस गरिरहेको थिएँ ।
“दर्शन दादा !” म अघिल्तिर एउटी महिला ठिङ्ग उभिएकी थिइन् । मैले पनि अभिवादन फर्काएँ ।
“यति नजिकै भएर पनि हजुरसँग भेट्ने साइत आज मात्रै जु¥यो । आजको दिन मेरो जीवनमा कस्तो खुसीको दिन भएर आयो ।” मसँग भेट्न पाएकोमा उनी यति फुरुङ्ग थिइन् कि उनको अनुहारमा यो खुसी राम्ररी पढ्न सकिन्थ्यो ।
अघिल्तिरको सोफामा तिलक बसिरहेको थियो । म घरीघरी तिलकतिर हेर्थें, तर ऊ मोबाइलमा व्यस्त देखिन्थ्यो अर्थात्् व्यस्त भएजस्तो अभिनय गरिरहेको थियो । एकप्रकारले तिलकसँग मलाई भित्रभित्रै रिस पनि उठिरहेको थियो ।
“मलाई हाम्रो पहाडको गाउँमा जान मन लागेको छ, तर उहाँले केके केके निहुँ निकाल्दै टारिसिन्छ ।” ऊ मेरो अघिल्तिर उभिएर यस्तै यस्तै मनमा लागेका सबै गुनासाहरू बकिरहेकी थिई ।
मलाई  उसको  कुरामा  ध्यान पु¥याउनुभन्दा पनि अब यहाँबाट कसरी चाँडै निस्कने भन्ने कुराको चिन्ता भइरहेको थियो ।
ऊ यस्तै यस्तै भन्दै थिई छेउमा उभिएर । एउटी बालिकाले जुसको ग्लास अघिल्तिर ल्याएर राखिदिई । त्यो बालिकाको रूपरङ हेर्दा काम गर्न राखिएकी जस्तो लाग्यो ।
“आज हामी सबै दादाको घर हेर्न जाने !” उसले तिलकतिर फर्किएर भनी ।
तिलक मोबाइलमा व्यस्त भएझैँ अभिनय गरिरहेको थियो ।
घरीघरी मलाई सत्य कुरा गरिदिऊँ जस्तो पनि लाग्थ्यो ।
“आज दाजुलाई एकदमै हतार छ अरे ! अर्को कुनै दिन जाउँला ।” मैले बोल्नुभन्दा पहिले तिलकले हतारिएर उत्तर दियो । मलाई लाग्छ, ऊ यस्ता उत्तर दिन खप्पिस भइसकेको थियो ।
म कुनै उपायले यहाँबाट चाँडै बाहिरिन चाहन्थेँ । तिलकको प्रत्युत्तरमा टेकेर त्यहाँबाट तुरुन्तै बाहिरिन उपयुक्त ठानेँ ।
“आज मलाई अत्यन्तै जरुरी काम छ । अर्को दिन भेटौँला है !” यसो भन्दाभन्दै म सोफाबाट उठिसकेको थिएँ ।
म हतार हतार गर्दै ढोकामै पुगिसकेको मात्र के थिएँ, ऊ दौडिँदै आई र मेरो घरको ठेगाना मागी । म फेरि के भन्ने के गर्ने भन्ने द्विविधामा रुमल्लिँदै थिएँ । पछिल्तिरबाट तिलक दौडँदै आयो र उसले मेरो घर देखिसकेको कुरा ग¥यो । भोलि, पर्सि कुनै दिन मेरो घर लिएर जाने कुरा ग¥यो ।
“दाजुलाई हतार होला, गाडीमा पु¥याइदिइस्यो न !” उसले तिलकलाई भनी ।
“पर्दैन, पर्दैन ! मैले जानुपर्ने ठाउँ यहीँ नजिकै छ ।” कुनै उपायले म त्यहाँबाट छिटोभन्दा छिटो उम्कन चाहन्थेँ ।
सबैसँग बिदा माग्दै तिलकतिर फर्किएर हेरेँ । तिलक मतिर नहेरी अर्कैतिर फर्किएको थियो ।
बाहिर बगैँचामा काम गरिरहेको एक जना मानिसले गेटको ढोका खोलिदियो । म पनि आफू हतारिएको अभिनय गर्दै बाहिर निस्किएँ ।
बाहिर सडकमा आएपछि मैले आफूलाई निकै स्वतन्त्र भएको महसुस गरेँ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर