• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सत्तारुढ सांसदले नै मागे संचारमन्त्रीको राजीनामा, भने–‘आफ्नो औकात नबिर्सनुहोला !’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामविर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सुचना प्रविधि तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने बताएका छन् । 

शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बास्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिनुपर्ने तर्क गरे । मन्त्री बास्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उहाँले अपमान गर्ने विभागिय मन्त्री र सरकारका प्रवत्ताको दिनगन्ती सुरु भएको चेतावनी दिए ।

उनले भने–‘मन्त्रीहरुको दिनगन्ती सुरु हुन्छ । याद गर्नुहोस् ।  गणतन्त्रको पनि दिनगन्ति सुरु हुन्छ कि भन्ने हाम्लाई चिन्ता लागिरहेको छ ।’

सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाण्डौमा आन्दोलन चर्काउने चेतावनी दिए । उनले विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासंग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गरे उनले २ सय ४० बर्षे  राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए ।

उनले भने–‘मन्त्री पद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ । सुन्नुपर्छ । फेबदल गरेर कसैको इज्जत र जात जादैन । जात र इज्जतको लागि गर्या हो भने गर्नुहोस् । केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ है फेरि । किनभने २ सय ४० बर्षको राजतन्त्रलाई निकाल्ने हामी जस्तै कार्यकर्ता हुन् । नेपाली जनता हुन् । त्यसकारण यसलाई ठूलो स्वरले भन्यो भन्ने नठान्नुहोला । यदि गुठी विधेयक बारे २ गते प्रधानमन्त्रीले केही बोलेन् भने ४ गते हेर्नुहोला । फेरी पनि मैले दोहोर्याएर भने ४ गते पर्खेर बस्नोस् । ४ गते उपत्यकामा तपाई हामीले सोचेको जस्तो दिन हुनेछैन । ”

संगसंगै राजसंस्थाविरुद्ध लडेर आएकाहरुमाथि नै सरकारले दमनको नीति लिएको भन्दै उनले आक्रोश पोखे । उनले भने–‘आफ्नो औकात नबिर्सनुहोला, काठमाण्डौमा कसरी बस्नुभएको थियो ? के गर्नुभएको थियो ? के खानुभएको थियो ? कुन घरमा सुत्नुभएको थियो ? कसरी संरक्षण थियो ? त्यो ख्याल गर्नुहोला ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए । उनले भने–‘सरकारले बुझोस् । राजा फाल्ने शक्तिले तपाईलाई फाल्ने मान्त्रै होइन तपाईलाई मासमा ल्याएर धुलोपीठो बनाउँछ जनताले । याद गरोस् यो सरकारले ।’

उनले भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापुर्ण भएको टिप्पणी गरे । संस्कृति विद् डाक्टर गोविन्द टण्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठीको संञ्चालन गरि सम्पदाको संरक्षण गरि परम्परालाई कायम राख्नुपर्ने तर्क गरे ।

गुठी विधेयकको सडक देखि सदन सम्म विरोध हुदै आएको छ । राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दिनहुँजसो गुठी विधेयकको विरोधमा प्रर्दशन हुदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर