• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

संसदमा जनार्दन शर्माको 'विष्फोटक' भाषण : 'रुकुमको बजेट झापा लगेहुन्छ'

काठमाडौं । बुधबार संघीय संसदको प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि अघि सारिएको बजेटमाथि छलफल चल्यो । श्रम तथा रोजगार मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र भौतिक योजना मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटका बारेमा पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य समेत रहेका जनार्दन शर्माले आफ्नो मन्तव्य राखे ।

शर्माले सुरुमा नै संसदमा विनियोजन विधेयकमाथि हुने गरेको छलफलको आलोचना गरे । बजेट पछिको छलफल समयको दुरुपयोग मात्रै हुने उनको टिप्पणी छ । बजेट प्रस्तुत भएकै दिन पारित गर्दा हुने उनको भनाई छ । बजेट आईसकेपछि हुने छलफलले कुनै फाईदा नहुने समय खेर मात्रै जाने भन्दै उनले प्रि बजेट छलफलमात्रै विस्तृतमा छलफल गरेर माननीयका सुझाव सम्बोधन गर्नु विधि सही हुने उनको धारणा थियो ।

त्यसपछि उनले श्रम तथा रोजगार मन्त्रालयका विषयमा टिप्पणी सुरु गरे । श्रम मन्त्रालयले युवा बेरोजगारहरुलाई विदेश पठाउन कुन देशमा के सम्झौता भयो भन्ने विषयलाई गर्व गर्ने गरेको उल्लेख गर्दै यसले गर्व हैन देशको शीर झुकाएको बताए ।

श्रम मन्त्रालयको बजेटमा श्रम सहकारीहरु बन्ने, तीनलाई तालिम र साधन श्रोत दिएर विकास पूर्वाधारमा यूवाहरुलाई लगाईएला, उद्योगहरु स्थापना हुने, हरेक गाँउ आत्मनिर्भर होला भन्ने आशा गरेकोमा विदेशमा भएको सम्झौतामा छाती फुलाएकोमा शीर निहुरिएको बताउदै मन्त्रीलाई धन्यवाद दिए ।

ऊर्जाका विषयमा बोल्दै नेता शर्माले भने, ‘यो देशमा लोडसेडिङ थियो मैले ऊर्जा मन्त्रालय सम्हालेको भोलीपल्ट मैले लोडसेडिङ अन्त्य गर्छु भनेको थिए । आयात निर्यात उस्तै, पूर्वधार उस्तै थियो । जे थियो पुरानै त्यतीकैमा मैलो लोडसेडिङ हटाएको हो ।’

लोडसेडिङ हटाएकोमा आफुले सजांए पाएको बताउदै उनले गतवर्ष बजेट नपरेकोमा अहिलेपनि रुकुममा ऊर्जाको क्षेत्रमा २ करोड मात्रै बिनियोजन गरेकोमा त्यसले कुनै काम नहुने भएकाले २ करोड थपिदिन माग गरे ।

भौतिक पूर्वाधार मन्त्रालयका विषयमा नेता शर्माले बजेटमाथि संशोधन हाल्ने बताउँदै सरकारको कटु आलोचना गरे । बजेट नेतामुखी, भएको संघीयताको मर्म अनुसार समानुपातिक ढंगबाट वितरण नभएकोमा उनले आक्रोष पोखे । ‘२४० लेखेको छ, त्याे भनेकाे कति हाे म जान्दिन, जतिभएपनि म प्रस्ताव गर्न चाहान्छु, रकमान्तर गरेर यो बजेट झापामा हालियोस, म प्रधानमन्त्रीज्यूलाई सहयोग गर्न चाहान्छु । झापा मात्र भन्यो भन्ने मन्त्रीज्यूलाई लाग्यो भने केही जनकपुरमा पनि हाले हुन्छ ।’ 

अन्त्यमा नेता शर्माले भने, ‘संघीयता आएपछि समानुपातिक विकास होला भनेको केन्द्रिकृत र नेतामुखी बजेट आयो, दुख व्यक्त गर्न चाहान्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर