महानगरपालिका पनि सार्वजनिक गुठीको जमिन हडप्न लागिपर्यो – केदार कार्की

विराटनगर । गुठीको जमिन मास्ने र दुरुपयोग गर्ने प्रवृत्तीको विरुद्धमा राष्ट्रिय माहोल बनिरहेको बेला प्रदेश सभाको बैठकमा पनि यस विषयले प्रवेश पाएको छ ।

विराटनगर महानगरपालिका स्वयं गुठीको सम्पती दुरुपयोग गर्न उद्यत भएको भन्दै प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले सरकारको ध्यानाकर्षण गराए । विराटनगरको पुरानो सांस्कृतिक पहिचान बोकेको सत्यनारायण गुठीको ४ विगाह जमिन ५२ जनाको नाममा बाँडिचुँडी गरेको र विराटनगर महानगरपालिकासमेत जग्गा हडप्न लागिपरेको भन्दै प्रमुख सचेतक कार्कीले विरोध गरे ।

विराटनगर ३ स्थित सितुदास रावंशीले गुठीलाई दान दिएको जमिन सत्यनारायण मन्दिरको सञ्चालनमा प्रयोग भइरहेको अवस्थामा महानगरपालिकाले भ्यु टावर निर्माण गर्न खोज्नु गलत हुने उनले बताए । उनले भने –‘तात्कालिन नेकपा माओवादी पार्टी, लायन्स क्लव, औद्योगिक प्रदर्शनी स्थल, भ्युटावर लगायका संरचना बनाउन महानगरपालिका र बल्लवप्रसाद अधिकारीसहित ५२ जनाको नाममा जमिन बाँडिएको छ, यस विषयमा म सरकारको ध्यानाकर्षण गराउँछु ।’

सत्यनारायण गुठीको जमिन गुठीको साधारण सभाको निर्णय अनुसार बल्लव प्रसाद अधिकारीले ९९ वर्षकालागि लिजमा लिएर विभिन्न संस्था र व्यक्तिलाई वितरण गरेको उनको आरोप थियो ।

प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्नुभएका नेता कार्कीले पूर्वाञ्चल विश्वविद्यालयबाट इन्जिनियरिङ पास गरेका २२ जना विद्यार्थीहरुलाई इन्जिनियर काउन्सिलले सर्टिफिकेट नदिएको भन्दै विद्यार्थीहरुको भविष्य र जीवन रक्षा गर्न सरकारसँग माग गरे । ‘पढेर पास गरेका विद्यार्थीहरुलाई सर्टिफिकेट दिइएको छैन, प्रधानमन्त्रीको टेबुलमा पु¥याउँदा पनि सुनुवाई भएको छैन,’ नेता कार्कीले भने– ‘अहिले ति विद्यार्थीको भविष्य बर्वाद हुने देखिदै छ र यहि कारणले कसैले आत्महत्या गरेभने त्यसको जिम्मा सरकारले लिन सक्छ कि सक्दैन ?’

साथै उनले लोकसेवा आयोग ऐन, प्रदेश प्रहरी ऐन आदि ल्याउने विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गरे । उनले सरकारले निर्णय गर्ने आँट नगरेको आरोप लगाउँदै यस्ता निर्णयमा प्रतिपक्ष सँधै सहयोगी बन्ने पनि बताए । उनले प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको र पथरीमा ‘हत्या हुने क्षेत्र’ भन्ने स्टिकर नै टाँस्नु पर्ने अवस्था आएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर