• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अन्तर्वार्ता लिने, पास/फेल हेर्ने, मन्त्री फेर्ने तयारीमा प्र.म ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेटका मन्त्रीहरुको कार्यसम्पादन मुल्याङकन फारम भरेर बुझाउन निर्देशन दिईसकेका छन् । अर्धवार्षिक तथा वार्षिक रुपमा मन्त्रीहरुको कामको मुल्याङकन हेरिरहेका प्रधानमन्त्री ओलीले चित्तबुझ्दो काम गर्न नसकेको र अत्यधिक रुपमा विवादमा परेका मन्त्रीहरुलाई हटाएर नयाँ अनुहार भित्र्याउन लागेका हुन् ।

सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेट पारित भएपछि मन्त्रीहरुको हेरफेर गर्ने तयारी प्रधानमन्त्रीको छ । प्रधानमन्त्री कार्यालय श्रोत भन्छ, ‘मन्त्रीहरुलाई अघिल्लो आर्थिक वर्षमा गरेका कामको समिक्षासहितको रिपोर्ट तुरुन्त बुझाउन भनिएको छ । साथै मन्त्रीहरुले असार २५ गते सम्ममा आगामी कार्ययोजनासहितको रिपोर्ट बुझाउनु पर्नेछ ।’

मन्त्रीहरुले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री ओलीले एक्ला–एक्लै वा कुनै दुई मन्त्री लाई संगै राखेर त्यसमाथि छलफल गर्ने तयारी गरेका छन् । कार्यसम्पन्नको रिपोर्ट, आगामी कार्ययोजनाको रिपोर्ट र प्रधानमन्त्रीसँगको छलफलले कुन मन्त्री फेरिने हो ? कुन मन्त्री रहने हो भन्ने कुराको निक्र्योल हुने प्रधानमन्त्री निकट श्रोत बताउँछ । 

प्रधानमन्त्री कार्यालयले यस अघि गरेको मुल्याङकनमा मन्त्रीहरुले गरेका काम र आगामी कार्ययोजनाका आधारमा हरियो, पंहेलो र रातो चिन्ह दिइएको थियो । हरियो पाउने उत्तम, पंहेलो पाउने ठिकै रातो पाउने असक्षम भन्ने परिभाषा गरेको सो मुल्याङकन सार्वजनिक भएपछि मन्त्रीहरुका काम गर्नैपर्ने दवाव समेत बढेको छ । 

दुई तिहाई सरकारले जनताका पक्षमा काम गर्नै सकेन, परिणाम देखिएन भन्ने लगायतका विषयमा तीव्र आलोचना आएपछि प्रधानमन्त्री ओलीले मन्त्रालयहरूको कामको अनुगमन गर्न विभिन्न ‘मोडालिटी’ अभ्यास गर्दै आएका छन् ।

प्रगति विवरणमा कुन महिनामा के–के काम गर्ने उल्लेख थियो, त्यसअनुसार कति बजेट खर्च भयो, सफट्वेयरमार्फत नै मूल्यांकन हुने व्यवस्था राखिएको छ । 

कार्ययोजनामा जनाएको प्रतिबद्धताअनुसार ८० प्रतिशतभन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात् ग्रिन जोनभित्र पर्नेछन् । ५० देखि ८० प्रतिशत काम गर्ने राम्रो अर्थात् यलो जोनभित्र पर्नेछन् । त्यस्तै, कार्ययोजनामा उल्लेख भएभन्दा ५० प्रतिशत कम काम गर्ने मन्त्रीहरू रेड जोनभित्र पर्नेछन् ।

रेड जोनभित्र पर्ने मन्त्रीको काम सन्तोषजनक नहुने भएकाले त्यस्तालाई जुनसुकै वेला प्रधामन्त्रीले फेरबदल गर्न सक्ने प्रधानमन्त्री निकट स्रोतले जनायो । गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए।

मन्त्री फेर्ने योजना, प्रचण्ड तटस्थ 
मन्त्रिपरिषदका एक सदस्य भन्छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला मन्त्रीहरु फेरबदल गर्न सक्नुहुन्छ ।’ 

नेकपाका अध्यक्ष प्रचण्डले समेत प्रधानमन्त्रीसँग छलफल गरेर सरकारका काम गर्न स्वयत्तता छोडेको बताएका छन् । 

पोखरा पुगेर अध्यक्ष प्रचण्डले मन्त्रीहरूको जिम्मेवारी फेरिनेबारे बोले भने उनले १८ जेठमा विराटनगर विमानस्थलमा पनि पत्रकारहरूसँग कुरा गर्दै सरकारको कामलाई गति दिन मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका थिए ।

२४ सदस्यीय मन्त्रिपरिषद्मा पूर्वएमाले समूहबाट प्रधानमन्त्रीसहित १३ जनाको प्रतिनिधित्व छ । पूर्वएमाले समूहबाट ११ मन्त्री र १ राज्यमन्त्री छन् । त्यस्तै, पूर्वमाओवादी समूहबाट ७ मन्त्री र एक राज्यमन्त्रीसहित ८ जना सहभागी छन् । समाजवादी पार्टी नेपालका तर्फबाट २ मन्त्री र १ राज्यमन्त्री छन् । 

को जालान् ? को आउलान् ?
मन्त्रीहरुको फेरबदल भएमा पूर्व माओवादी तथा पूर्व एमाले तर्फका केही मन्त्रीहरु बाहिरिने संभावना छ । यसअघि भएको कार्यसम्पादन मुल्याकंन, प्रधानमन्त्री ओलीसँगको सम्बन्ध र खटपट लगायतका विषयलाई आधार मन्त्रीहरु फेरिन लागेका हुन् । 

फेरिने संभावना भएका मन्त्रीहरुमा पूर्व माओवादीका तर्फबाट, उद्योगमन्त्री मातृका यादव, कृषि तथा सहकारीमन्त्री चन्द्रप्रकाश खनाल रहेका छन् ।
 
सचिवहरुको फेरबदल, मेलम्ची खानेपानी काठमाडौं भित्र्याउने विषय लगायतका कारण खानेपानी तथा सरसफाईमन्त्री विना मगर समेत प्रधानमन्त्रीले रुचाएको पात्र हैनन् । तर, अध्यक्ष प्रचण्डको बुहारी लगायतका कारणले प्रधानमन्त्री ओलीले मन्त्री मगरलाई हटाउने संभावना न्यून छ ।
 
अध्यक्ष प्रचण्ड निकट श्रोत भन्छ, ‘मन्त्रीहरु फेर्ने विषयमा प्रधानमन्त्रीले अध्यक्षलाई ३, ४ पटक सोधिसक्नुभयो, तर प्रचण्डले यो तपाईको विषेशाधिकार हो भन्दै पन्छने गर्नुभएको छ ।’ माओवादीबाट मन्त्री बन्नेमा प्रभु शाह, देवेन्द्र पौडेललगायत अग्रपंक्तिमा छन् । 

पूर्व एमालेका तर्फबाट श्रममन्त्री गोकर्ण विष्ट हट्न सक्ने, स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डीत, संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ । 

पूर्व एमालेबाट खाली रहेको पर्यटन मन्त्रालय र संभावित खाली हुने मन्त्रालयका लागि स्थायी समिति सदस्य योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, यज्ञराज सुनुवार, प्रेम आलेलगायत आकांक्षी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर