• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कविता : ऐना

हिजोआज मैले हेर्ने ऐनामा 
अर्कै मान्छेको अनुहार देखिन्छ ।
जीवनभर
जसलाई गाली गर्दागर्दा थाकेको थिएँ ,
र मुद्दा हालेको थिएँ बाटोका प्रत्येक कुइनेटाहरूमा
अचेल लुसुक्क आइदिन्छ उही
मैले हेर्ने ऐनामा ।
बिहानबिहान मुख धोएर हेर्छु आफ्नो अनुहार
अर्कै मान्छे देखिन्छु ऐनामा ,
दारी काटेर हेर्छु
दारी पालेको अर्कै मान्छे देखिन्छु
साधारण लुगा लगाएर ऐना हेर्छु
टाइ, सुट र कोटमा देखिन्छु ।
प्रत्येक दिन नयाँनयाँ ऐना किनेर ल्याइरहेकोछु
तर कहिल्यै देखिएन आफ्नो सक्कली प्रतिबिम्ब
म आजित भएको छु आफैंले दिनहुँ हेर्ने
आफ्नै ऐनासङ्ग ।
हिजोआज
ऐनामाआफ्नो अनुहार
कहिलेकाहिँ दक्षिणतिरका छिमेकीको जस्तो
कहिलेकाहिँ उत्तरतिरका छिमेकीको जस्तो
कहिले अमेरिकीको जस्तो
कहिले कुनै ठेकेदारको जस्तो
कहिले कुनै दलालको जस्तो
कहिले कस्को जस्तो
कहिले कस्को जस्तो
केही समयका लागि
मैले अचेल ऐना हेर्न पनि छाडीदिएँ
ऐना बोक्न पनि छाडीदिएँ
म सँगसँगै मेरा साथीहरू पनि
अचेल ऐनासँग खुबै डराउछन् ।
ऐनामा आफ्नो अनुहार हराएका
हामीहरू
निरन्तर छलफल गरिरहेका छौं ।
हिजोआज मैले ऐनामा
आफ्नो अनुहार हराएको छु ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर