• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

टाउको दुखाइलाई बेवास्ता गरे समस्या आउँला

टाउको नदुख्ने मानिस कमै होलान् । विभिन्न कारणले मानिसको जीवनकालभरमा टाउको दुखेकै हुन्छ । टाउको दुखाइलाई तपाईँ हामी सामान्य रूपमा लिन्छौँ तर, यो सधैँभरि सामान्य नभई घातक रोगको लक्षण पनि हुनसक्छ ।

के हो टाउको दुखाइ

आँखाको माथिल्लो भाग वरिपरीको दुखाइलाई टाउको दुखेको भनिन्छ । टाउको दुखाइ विभिन्न कारणले हुन्छ । कहिलेकाहीँ टाउको दुखाइ अति सामान्य कारणले हुन सक्छ भने कहिलेकाहीँ धेरै नै घातक रोगका कारण पनि टाउको दुखेको हुनसक्छ जुन आम मानिसले याद गर्दैनन् । समय बित्दै गर्दा बिरामीको अंगभंग वा मृत्युसमेत हुनसक्छ ।

टाउको दुखाइका कारण–

अति सामान्य कारण

कहिलेकाहीँ तनावका कारण, निद्रा नपुगेका कारण, थकानले गर्दा पनि टाउको दुख्छ । जुन दुखाइ घरमै सामान्य आराम गर्ने, पानी प्रशस्त खाने गर्नाले आफैँ निको हुन्छ । यसका लागि औषधिको आवश्यकता पर्दैन ।

सामान्य कारण

शरीरमा भएको कुनै रोगका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ भनिन्छ जुन सामान्य उपचार पछि निको भएर जान्छ । जस्तै कसैलाई माइग्रेनका कारण टाउको दुख्ने हुन्छ, कसैलाई आँखा कमजोर भएर पनि टाउको दुखिरहेको हुनसक्छ । यस्तै डिप्रेसन, पिनास उच्च रक्तचाप जस्ता कारणले पनि टाउको दुख्छ । यस्तो प्रकारको टाउको दुखाइलाई औषधि माध्यमबाट निको पार्न सकिन्छ ।

घातक कारण

घातक कारणले टाउको दुख्दा बिरामीलाई असह्य पीडा हुन्छ । यस्ता कारणहरुको बेवास्ता गरिए ज्यानै जान सक्छ । यो कम हुने भए पनि यसका कारण अत्यन्त घातक हुने भएकाले यसको उपचार यथासम्भव चाँडो हुनु जरुरी छ ।
जस्तै– ब्रेन ट्युमर, मस्तिष्क ज्वरो, मस्तिष्कको टीबी र मस्तिष्काघात आदि कारणले टाउको दुखेको हुन सक्छ ।

यस्तो टाउको दुखाइ घातक मानिन्छ

–४० वर्षभन्दा माथिको उमेरमा टाउको दुख्न शुरु हुनु
–अचानक दुखाइ शुरु हुनु
–दुखाइ क्रमैसँग बढ्दै जानु
– दुखाइसँगै मुख बांगिनु
–दुखाइमा परिवर्तन हुनु
–कुनै चोटपटकपछि दुख्नु

उपचार

सामान्यतया टाउको दुखाइको उपचार भनेको आराम र तनावरहित जीवन जिउनु हो । त्यसपछि मात्र औषधिको सेवन । तर लगभग ६० प्रतिशत बिरामी टाउको दुखाइलाई बेवास्ता गर्ने र आफैँ औषधि पसलमा गई नदुख्ने औषधि किनेर खाने गर्छन् । यो गलत हो । टाउको दुखाइ समयमै उपचार गरे रोगको निदान हुन्छ । त्यसैले टाउको दुखाइलाई बेवास्ता नगरौँ। बेलैमा ध्यान पुर्याऔँ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर