शिवसताक्षी नगरको सभा नेकपाकै सदस्यले बहिस्कार गर्ने, यस्तो रहेछ कारण

झापा । शिवसताक्षी नगरपालिकाको नगर सभा बैठक विवादमा परेको छ । यही १० असार २०७६ हुन लागेको नगरसभा बैठकको प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा विवादमा परेको हो ।
शिवसताक्षी नगपरपालिकाको नगरसभा तथा आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत हुने नगरसभाको प्रमुख अतिथिको बिषयमा नगरप्रमुख र बहुमत सदस्यबीच मतभेद भएको छ । 

बैठकमा मेयर चन्द्र कुमार शेर्माले महान्यायाधिवक्ता अग्नी खरेललाई नगरसभाको प्रमुख अतिथि बनाउने प्रस्ताव राखेका थिए । मेयर शेर्माको प्रस्तावलाई उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतले मात्रै समर्थन जनाएका थिए । 

तर, तीन जना बाहेक सबै नगरसभा सदस्यले यस क्षेत्रबाट निर्वाचित एलपी साँवा लिम्बूलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राखेका थिए । 
बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेत लगायत बहुमत सदस्यले भने नगरसभा बैठकमा क्षेत्रबाट निर्वाचित संसदलाई बनाउनुपर्ने भन्दै अडान लिएपछि बैठक विना निर्णय सकिएको थियो । बहुमत सदस्यहरुले भने नगरपालिकाका बिकासमा नगरपालिका र निर्वाचित संसदको समन्वय जरुरी रहेको भन्दै प्रमुख अतिथि पनि सांसद साँवालाई बनाउनुपर्ने तर्क राखेका थिए । 

प्रमुख अतिथि विवाद भएपछि  ५ असार २०७६ मा बस्नु पर्ने नियमित बैठक र ८ असारमा नगरसभाको तयारी सम्बन्धमा बस्नुपर्ने बैठक समेत स्थगित भएको छ । नगरसभाले भने प्रमुख अतिथिको बिषयमा निर्णय गर्न सकेको छैन तर मेयर शेर्माले भने अग्नी खरेललाई प्रमुख अतिथिको निम्तो दिइसकेका छन् । 

सत्तारुढ नेकपा र बहुमत सदस्यले बहिस्कारमा 
नगरपालिकाको औपचारिक निर्णय विना नै प्रमुख अतिथि खरेललाई बनाउन तयारीपछि नगरपालिकाको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र बहुमत नगरसदस्यले बहिस्कार गर्ने भएका छन् । शिवसताक्षीका मेयर शर्मा सहित बहुमत सदस्यहरु नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

विना निर्णय प्रमुख अतिथि बोलाउन लागिएपछि बहिस्कारको तयारी गरिएको एक वडाध्यक्षले बताए । ‘नगरसभा कुनै व्यक्तिको पुजा पाठ जस्तो होइन यो नगरको कार्यक्रम हो । त्यस कारण नगर बैठकबाट निर्णय गराएर मात्रै कार्यक्रम तय हुनुपर्छ,’ ती अध्यक्षले भने । मेयर शर्मा बैठकमा अल्पमतमा पर्ने भएपछि चोरबाट तिर लागेको उनको आरोप छ । 

नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराईले नगरसभा बारेमा मेयर शेर्माले पार्टीसँग कुनै समन्वय र छलफल नगरेको बताए । उनले भने, ‘संस्थागत निर्णयबाट काम होस् भन्ने हाम्रो सुझाव हो । तर, प्रक्रियागत र संस्थागत निर्णयलाई मात्रै पार्टीले मान्छ तर व्यक्तिगत निर्णय हामी मान्दैनौं ।’

विवादको चुरो
महान्यायधिवक्ता खरेलको गृह जिल्ला झापा भए पनि उनी गौरादह–३ का स्थायीबासी हुन् । साँवा भने यहाँका निर्वाचित संघीय सांसद हुन् । स्रोतका अनुसार मेयर शेर्मासँग खरेल नजिक छन् । यही कारण शेर्माले भने खरेललाई प्रमुख अतिथि बनाउन चाहेका छन् । तर, साँवा यस क्षेत्रका जनप्रतिनिधि भएको कारण साँवालाई नै प्रमुख अतिथि बनाउनुपर्ने बहुमत नगर सदस्य र स्थानीय पार्टी कमिटिको अडान रहेको छ ।  महान्यायाधिवक्ता खरेल र साँवा दुबै प्रधानमन्त्री ओली निकट हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर