• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विष्णु पौडेल अर्थमन्त्री बन्ने, खतिवडा हट्ने, यी हुन् ‘सेफ जोन’मा रहेका मन्त्रीहरु

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट पारित भए लगत्तै मन्त्रीमण्डलमा नयाँ अनुहार भित्र्याउने तयारी तिब्र पारेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल समेत गरिसकेका छन् । जुन कुराको खुलासा अध्यक्ष प्रचण्डले केही दिन अघि गर्दै भनेका थिए, ‘बजेट पारित भएपछि मन्त्रीहरुको हेरफेर हुन सक्छ, कसलाई हटाउने, कसलाई राख्ने भन्ने कुरा प्रधानमन्त्रीजीकै विषय हो ।’

मन्त्रीहरुको हेरफेर विगत लामो समयदेखि चर्चामा रहेको विषय हो । अघिल्लो आर्थिक बर्षको बजेट आएको केही समय लगत्तै अध्यक्ष प्रचण्डले बजेटले दुई तिहाई जनमतको भावना र समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार तयार पार्न सकेन त्यसैले पुरक बजेट ल्याँउ अर्थमन्त्री फेरौं भन्ने प्रस्ताव गरेका थिए । 

त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले देशको शान्ति सुरक्षा तथा विवादमा आएको निर्मला हत्याकाण्ड, सुन तस्करी, सिण्डीकेट, एनजिओहरुलाई प्रतिवन्ध लगाउने, ठेकेदारलाई कारबाही गर्ने लगायतका विषय उठाउँदै गृहमन्त्री रामबहादुर थापा लगायतका केही मन्त्री हटाउने प्रस्ताव गरे । 

प्रधानमन्त्रीको सो प्रस्ताव स्वीकार गर्दै प्रचण्डले जवाफ दिएका थिए, बरु प्रधानमन्त्रीज्यूले पुरै सेट नै फेर्नुभए हुन्छ । त्यसपछि यो च्याप्टरनै बन्द भएको थियो । 

सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संघीय संसदमा छलफल चलिरहेका बेला बजेल ल्याउने अर्थमन्त्री डा।युवराज खतिवडाको उपादेयता अब सकियो भन्ने बहस सुरु भएको छ । खतिवडा संगै प्रधानमन्त्रीले यसअघि नै हटाउन खोजेका केही मन्त्रीहरु र  कार्यसम्पादनमा कमजोर सावित भएका मन्त्रीहरुलाई एकै पटक हटाएर नयाँ राख्ने तयारीमा प्रधानमन्त्री लागेका हुन् ।

दुई तिहाई बहुमतको सरकार छ तर जनताका पक्षमा डेलिभरी छैन भन्ने चर्को आलोचना प्रधानमन्त्री ओली माथि परिरहेको छ । सो आलोचनाबाट मुक्त हुन पनि प्रधानमन्त्री ओलीले राम्रो काम गरेर परिणाम दिन सक्नेलाई मन्त्री बनाउने तयारी गरेको बालुवाटार श्रोतले समाचार दैनिकलाई बतायो ।

अर्थमन्त्री खतिवडा जाने विष्णु पौडेल आउने
‘प्रधानमन्त्रीज्यूलाई को हटाउने र को ल्याउने भन्ने अप्ठ्यारो अवस्था आएमा एक अर्का अध्यक्ष प्रचण्डको पहिलेको प्रस्ताव अनुसार एक पटक सवैलाई हटाउने र विवाद नभएका, राम्रो परिणाम दिएका केही र बाँकी नयाँ लाई पुनु ः मन्त्री बनाउने संभावना पनि छ,’ श्रोतले भन्यो ।

अन्यथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा। युवराज खतिवडालाई हटाएर महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा लगभग पुगेको बताईन्छ । मन्त्री खतिवडाको राष्ट्रिय सभाको कार्यकाल पनि लामो नभएको, बजेट पनि पास भईसकेको अवस्थामा प्रधानमन्त्री ओली खतिवडालाई हटाउन तयार भएका हुन् ।

यी हुन् सेफ जोनमा रहेका मन्त्रीहरु 
बालुवाटार उच्च श्रोत भन्छ, ‘पार्टीको स्थायी समिति सदस्य समेत रहेका र काम समेत सन्तोषजनक गरेका मन्त्रीहरु हट्ने संभावना छैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीका विश्वास पात्र हुन् । उनि विवादमा पनि फसेका छैनन् भने जनताको काम गर्ने भूमिकामा समेत छैनन् । 

गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका बीचमा प्रारम्भिक चरणमा केही अन्तरविरोध भएपछि पछिल्लो चरणमा सम्बन्ध सुधार भएको छ । पार्टीको आन्तरिक राजनीतिमा मन्त्री थापा प्रधानमन्त्री ओली नजिक भनेर समेत चर्चा भईरहेका बेला प्रधानमन्त्री ओलीले अहिले गृहमन्त्रीलाई नहटाउने बरु परिणाम दिन सक्ने पूर्व माओवादीकै अन्य कुनै मन्त्रीसँग जिम्मेवारी हेरफेर गर्ने मनसाय बनाएका छन् । 

शिक्षामन्त्री गिरिराजमणी पोखरेल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ नजिकका नेता हुन् । उनले मन्त्रालयमा गरेको केही कामको सार्वजनिक रुपमा विवाद भएपछि आलोचनाको सिकार हुनु परेको छैन । 

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन स्थायी समिति सदस्य हुन् । नेकपामा पूर्व माओवादीभित्र बलियो संगठनात्मक पकड भएका पुन अध्यक्ष प्रचण्डका विश्वास पत्र हुन् । उनले सम्हालेको मन्त्रालय विवादमा नपर्नु, र ऊर्जा उत्पादन लगायतका काममा सफलता मिल्नु उनका लागि सकारात्मक पक्ष हो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, खानेपानी तथा सरसफाईमन्त्री बीना मगरलाई समेत  कार्यसम्पादन मुल्यांकनका आधारमा फेर्ने पक्षमा प्रधानमन्त्री ओली अहिले नरहेको उनि निकट श्रोतको दावी छ । 

नेकपाका अन्य मन्त्रीहरुको हकमा भने कार्यसम्पादन रिपोर्ट, भावी कार्ययोजना र प्रधानमन्त्रीसँग हुने छलफलले निर्धारण गर्नेछ । प्रधानमन्त्री ओलीले असार महिना भरीमा मन्त्रीहरुसँग अहिले सम्म गरेका कामको कार्यसम्पादन रिपोर्ट, अब गर्ने कामका योजना सहितको कार्ययोजना रिपोर्ट र त्यसैका आधारमा हुने छलफल पछि को मन्त्रीलाई राख्ने को मन्त्रीलाई हटाउने भन्ने निर्णय गर्नेछन् ।

सूर्य चिन्ह लिएर संसदीय चुनाव लडेका, नेकपा प्रवेश गर्ने हल्ला पटक–पटक चलेपनि राजनीतिक अभियान चलाएर बसिरहेका मधेशका प्रभावशाली नेता ह्देश त्रिपाठी समेत सरकारमा सहभागि हुने संभावना रहेको श्रोतले बतायो । त्रिपाठी राजपाको राजनीतिक छोडोर तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर नेकपाकै प्यानलबाट चुनाव लडेर जितेका प्रतिनिधिसभा सदस्य हुन् ।

मन्त्रीपरिषदमा गोकर्ण विष्ट    श्रम , रोजगार, तथा सामाजिक सुरक्षा, भानुभक्त ढकाल    कानुन, न्याय, तथा संसदीय मामिला, लालबाबु पण्डित    सङ्घीय मामिला तथा सामान्य प्रशासन, मातृकाप्रसाद यादव    उद्योग, वाणिज्य तथा आपूर्ति, चक्रपाणी खनाल    कृषि तथा पशुपंक्षी विकास, थममाया थापा    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शक्तिबहादुर वस्नेत    वन तथा वातावरण, डा। युवराज खतिवडा    अर्थ, जगतबहादुर सुनार ९विश्वकर्मा०    युवा तथा खेलकुद, गोकुलप्रसाद वाँस्कोटा    सञ्चार तथा सूचना प्रविधि, पद्माकुमारी अर्याल    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तथा नेकपाका २ राज्यमन्त्री छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर