• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अमेरिकाको निशानामा इरानी नेता अली खमेनी

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै त्यसमा इरानी नेता अली खमेनीलाई पनि राखिएको बताए । राष्ट्रपति ट्रम्पले अमेरिकी ड्रोनमाथि भएको हमलासहित अन्य घटनालाई लिएर इरानमाथि थप प्रतिबन्ध लगाइएको बताए ।

ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको हरेक गतिविधीमा इरानी नेता खमेनी जिम्मेवार रहेको भन्दै उनीमाथिको प्रतिबन्ध अति जरुरी रहेको प्रतिक्रिया दिए ।  उनले इरानका सर्वोच्च नेताले नै सत्ता सञ्चालन गर्ने र उनकै अन्तर्गत सबै खतरनाक चीज रहने भन्दै प्रतिबन्ध लगाउनु परेको बताए । त्यसअन्तर्गत इस्लामिक रेभोल्युसनरी गार्डस्का सेना पनि रहेका छन् ।

 नयाँ प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनी मातहतका सबै व्यक्तिलाई आउने वित्तीय सहयोग रोकिने दाबी अमेरिकाको छ । अमेरिकी कोष विभागले रेभोल्युसनरी गार्डका आठ कमान्डरलाईसमेत कालो सूचीमा राखिएको जनाएको छ । नयाँ प्रतिबन्धपछि इरानको अर्बौं डलर सम्पत्ति फ्रिज गरिने छ । यसले इरानलाई ठूलो असर पर्ने दाबी अमेरिकाले गरेको छ ।


यता इरानले भने अमेरिकाको यो निर्णय युद्ध निम्त्याउने अर्को कदम भएको जनाएको छ । इरानका विदेशमन्त्री जावेद जरीफले अमेरिकाको यो कदमलाई घृणित कूटनीतिको संज्ञा दिँदै ट्रम्प प्रशासन युद्धका लागि आतुर रहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर