• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

मञ्चले गठन गरेको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन् । वर्षको उत्कृष्ट महिला खेलाडी विधामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
त्यस्तै प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, प्याराग्लाईडिङका योगश भट्टराई, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्का मनोनयनमा परेका छन् ।

मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ । मञ्चले पिपल्स च्वाईस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाईसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर