बुटवल उपमहानगरको बजेट एक अर्ब ९० करोड 

चालुतर्फ एक अर्ब १२ करोड,पुँजीगततर्फ ७७ करोड ९८ लाख  

बुटवल ।  बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ ।

संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ३५ करोड बढि रकमको बजेट प्रस्तुत गरिएको हो । बुटवल उपमहानगरले गत आवमा एक अर्ब ६६ करोड ५० लाख रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो । 

उपमहानगरका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको नगरसभाको पाँचौं अधिवेशनमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७६÷०७७ का लागि एक अर्ब ९० करोड बजेट प्रस्तुत गरिन । 

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल ः खुसी जनता’ रहेको उल्लेख छ । उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसंगै यो आकारको बजेट प्रस्तुत भएको हो । पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधार मान्दै योजना कार्यान्वयनको वर्ष रुपमा लिंदै बुटवलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

बजेटको स्रोतका रुपमा स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) तर्फ जम्मा रु. ५१ करोड ९४ लाख ४० हजार, राजश्व बाँडफाँड तर्फ जम्मा रु. १६ करोड ७४ लाख १४ हजार, संघीय सरकारको तर्फबाट प्राप्त हुने समानिकरण, सशर्त, पूँजीगत अनुदान समेत रु. १ अर्व १ करोड ३१ लाख, प्रदेश सरकारको तर्फबाट प्राप्त हुने जम्मा रु. १० करोड ७५ लाख ९६ हजार, अन्य आय जम्मा रु. ५ करोड ७४ लाख ५० हजार, गत वर्षको अ.ल्या. जम्मा रु. ३ करोड ५० लाख समेत गरी जम्मा आम्दानी रु.एक अर्ब ९० करोड हुने अनुमान गरिएको उल्लेख गरिएको छ । 

बुटवलको प्रस्तुत बजेटबाट पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्टाइएको छ । यस्तै वन वातावरण, हरियाली प्रवद्र्धन सरसफाई तथा विद् व्यवस्थापन एवम् सूचना प्रविधिका लागि चार करोड ९० लाख बजेट विनियोजन गरिएको छ । यसैगरि वडास्तरीय कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन भएको छ ।

सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड, शिक्षा, युवा तथा खेलकुद र जनस्वास्थ्य २९ करोड ३२ लाख ४२ हजार रुपैयाँ र स्वास्थ्यका लागि चार करोड ४० लाख ५० हजार रकम विनियोजन भएको छ । यस्तै स्थानीय सेवा मानव संसाधन तथा सुशासन प्रवद्र्धन तर्फ २८ करोड २६ लाख, राजस्व प्रशान सुधार, सार्वजनिक निजी साझेदारी विभाज्य तथा वित्तिय सेवा समेतका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ । 

बजेटका सिद्धान्त र प्राथमिकता 
बजेटले अंगिकार गरेका सिद्दान्तका रुपमा समन्यायिक विकास, लैङ्गिक समानता, समावेशीकरण तथा सामाजिक न्याय, श्रमको सम्मान, उद्यमशिलता, अनुशासन र सहिष्णुताको प्रवद्र्धन, सास्कृतिक विविधता बीच एकता, सार्वजनिक निजी तथा सहकारी क्षेत्रको सहभागितामा स्रोतको उच्चतम परिचालनलाई लिइएको छ । 

बजेटका प्राथमिकताका रुपमा आधारभुत शहरी पूर्वाधार विकास, शिक्षा तथा जनस्वास्थ्य, खानेपानी, सरसफाई तथा फोहरमैला व्यवस्थापन, पर्यटन, कृषि, उद्योग, वाणिज्य, सहकारी, श्रम तथा रोजगारी, वातावरण, हरियाली तथा सौन्दर्यकरण रहेका छन् । 

यस्तै सामाजिक सुरक्षा तथा समाज कल्याण, युवा खेलकूद, भाषा, साहित्य, संस्कृति, स्थानीय सेवा, मानव संशाधन तथा सुशासन प्रवद्र्धन जस्ता क्षेत्रलाई बजेटको केन्द्र भागमा राखेर विनियोजन प्रस्ताव गरिएको छ । नगर सभामा आर्थिक विकास समितिका संयोजक टंकप्रसाद पराजुलीले आर्थिक विधेयक–२०७६ प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर