• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:57 pm

'जबजको च्याप्टर क्लोज भो भनेर मैलै भनैकै हो ।'

'ओलीले पानी छाम्दै गर भनेर अरुलाई नै लगाएजस्तो लाग्छ, उहाँले नै जबज अघि सार्नुभएको हो भने आफ्ना कमजोरी ढाक्ने बहाना मात्रै हो'

घनश्याम भुसाल, स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

दुई कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको १३ महिना बितिसक्यो । तर, यसले आफ्नो एकता–प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । किन होला ? 

कुरा प्रतिवेदनको मात्रै होइन, प्रतिवेदन त एउटा कुरा हो । एकतापछि हामीले झेलिरहेको समस्या के हो भने पार्टी कसरी चल्छ ? विधिभित्र व्यक्ति वा नेता रहन्छ कि नेताको मातहत विधि रहन्छ ? अहिलेको मुख्य अन्तरविरोध यही हो । प्रस्ट भन्नुपर्दा कमरेड केपी ओली आफ्नो मातहतमा विधि राख्न चाहनुहुन्छ । व्यक्तिअन्तर्गत विधि रहनुपर्छ भन्ने कुरा पार्टीले बुझ्दैन, कार्यकर्ताले बुझ्दैनन् । सैद्धान्तिक हिसाबले भन्दा सबै (नेता) विधिअन्तर्गत रहनुपर्छ । तर, कमरेड ओली र अरूका बीचमा यो कुरा मिलेन । त्यसकारण तमाम सांगठनिक समस्याहरू थपिँदै गए र समाधान हुन सकेनन् । त्यही अस्तव्यस्तताको एउटा कारणले प्रतिवेदन छापिएनजस्तो लाग्छ ।

एकताका वेलामा विधि, प्रक्रिया र कार्यदिशाबारे छलफल भएन । तर, एक वर्षपछि सिद्धान्त नेताहरूको चासोमा पर्नुका पछाडि के कारण छन् ? 

यसपछाडि केही तत्कालीन र केही दीर्घकालीन उद्देश्यहरू होलान् भन्ने लाग्छ । यद्यपि, दुर्भाग्यवश हाम्रा बीचमा त्यतिवेला छलफल भएन । पहिलो कुरा, अहिले जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादको विषय उठाउने कुरा माधवकुमार नेपाललाई असफल पार्ने, अवसरवादी साबित गर्ने प्रयत्न हो । किनभने, कमरेड माधव नेपाल नेतृत्वको कार्यदलले तयार पारेको राजनीतिक दस्तावेजसम्बन्धी प्रतिवेदन पार्टीले स्वीकार गरेको हो । त्यो प्रतिवेदन माधव कमरेडले मात्रै तयार पारेको होइन । त्यसमा कमरेड ओलीले नै हस्ताक्षर गरिसक्नुभएको रहेछ । संस्थागत रूपमा माधवकुमार नेपाल नेतृत्वको कार्यदलले ल्याएको प्रतिवेदनमाथि प्रश्न गरेपछि र जबज नै चाहिन्छ भनेपछि हिजो त्यसैबाट हुर्किएको माधव नेपाललाई अप्ठ्यारो पर्नेछ । उनी अकमकाउनेछन्, खुट्टा डगमगाउने परिस्थिति निर्माण गर्न सकिन्छ भन्ने उद्देश्य हुन सक्ने देखेको छु । 

दोस्रो, राजनीतिमा तर्कहरू कमजोर हुँदै गएपछि स्थापित विधिहरू कमजोर हुँदै जाँदा साम्प्रदायिक, भावनात्मक पक्ष भड्काउने एउटा चलन हुन्छ । मदन भण्डारीलाई एमाले समुदायको आइकन बनाएर बेच्न सकिन्छ कि तिनको वरिपरि हिजोका सबै एमालेलाई एकै ठाउँमा राखेर पार्टीमा वर्चस्व बनाइराख्न सकिन्छ कि भन्ने उद्देश्य होला भन्ने लाग्छ ।

यो पशुपतिको हुलमूलमा सिद्रा बेच्ने प्रयास हो जस्तो लाग्छ । तर, जेसुकै भए पनि यो प्रयत्नले हाम्रो इमानमाथि प्रश्न गर्छ । किनभने, अध्यक्षले गलत प्रक्रियाबाट गोप्य रूपमा सहमति गर्नुभयो । पछि त्यही संस्थागत भएर आयो । त्यसैमाथि प्रश्न गर्दा राजनीतिक इमानका हिसाबले हामीले मुख देखाउन सक्दैनौँ । यसले हामीलाई राम्रो गर्दैन, बेइमान साबित गर्छ । 

तेस्रो, अहिले पुरानै सिद्धान्त चाहिन्छ भन्ने विचारले पार्टीलाई कमजोर पार्छ, विभाजित गर्छ । एमाले र माओवादीलाई अलगअलग ढिक्का राख्ने परिकल्पना गर्छ । त्यस्तो हुँदा यो सरकार अझ नराम्ररी भड्खालोतिर जान्छ, असफल दिशातिर जान्छ । पार्टीभित्रको विवाद स्वतः सरकारमा देखिनेछ । आज सरकार असफल हुने कुरा सानोतिनो खतरा होइन । भर्खर आएका छौँ, हरेक क्रान्तिमा यस्तो भएको छ । नवस्थापित प्रजातन्त्र र क्रान्तिका उपलब्धिहरूमाथि पटकपटक पुराना शक्तिहरूले आक्रमण गरेको विश्वको इतिहासमा हरेक ठाउँमा देखिन्छ । आज सरकार यसैगरी असफल भयो भने सरकार मात्र असफल हुँदैन, यो संघीय लोकतान्त्रिक गणतन्त्र असफल हुन्छ । यत्रो खतरा नदेखी त्यसमा खेलबाड गर्ने कुरा वस्तुतः असाध्यै गैरजिम्मेवार, सस्तो कुरा लाग्छ, मलाई । 

नेकपा दुईजना नेतामा केन्द्रित छ, उहाँहरू नबोले तलसम्मै बोलचाल बन्द, दुईजना बोले बोलचाल सुरु, बाँकी आठ लाख सदस्यको कामै छैन

 

पार्टीभित्र अरू अन्तरविरोध बढेपछि सैद्धान्तिक बहस उठेको हो कि ? अध्यक्ष प्रचण्डले सरकारमा आलोपालोको विषय उठाएपछि प्रधानमन्त्रीले त्यसविरुद्ध जबजको प्रसंग निकाल्नुभएको पनि भनिन्छ नि ? 

घटना हेर्नुहुन्छ भने त्यस्तो छैन । प्रचण्डले (प्रधानमन्त्रीमा) आलोपालोको विषय उठाउनुअघि नै कतिपय साथीले जबजको कुरा उठाउनुभएको छ । घटनाले के देखाउँछ भने जबजको कुरा उठेपछि मात्र प्रचण्डले उत्तर दिनुभएजस्तो देखिन्छ । त्यसैले, प्रचण्डको प्रतिक्रियामा जबज उठेको होइन, जबज उठाइएको प्रतिक्रियामा प्रचण्डले बोल्नुभयो भन्ने लाग्छ । यसमा सहमति/असहमतिका तमाम कुरा होलान् । जस्तैः म एमालेबाट हुर्किएँ, एमालेका कमजोरीहरू के हुन् ? सबल पक्षहरू के हुन् ? मैले पनि जिम्मा लिनुपर्छ । एमालेको इतिहास, त्यसप्रतिको मेरो लगाव एउटा कुरा हो । तर, आज म जहाँ उभिएको छु, त्यो अर्को अवस्था हो । यसो गर्दा आज हामीले तमाम कमजोरी हुँदाहुँदै पनि जुन एकता गरेका छौँ, यो भई नै सकेकाले अब बचाएर लैजानुपर्छ ।

यसलाई बचाइएन र भत्कियो भने धेरै भत्किनेछ । त्यतिवेला हामी मात्रै भत्किनेछैनौँ, संघीय लोकतान्त्रिक गणतन्त्र नै भत्किनेछ । त्यसकारण सहमति÷असहमति हुन सक्छन् । माओवादबारे मैले किताब, लेख लेखेको छु, मेरा धेरै रिजर्भेसन पनि छन् । माओवादी जनयुद्धबारे पनि मेरा रिजर्भेसन छन् । तर, यो इतिहास हो । माक्र्सको एउटा भनाइ छ– पुँजीवादमा इतिहासले वर्तमानमाथि शासन गर्छ, तर समाजवादमा वर्तमानले इतिहासमाथि शासन गर्छ । हाम्रो इतिहासले हामीमाथि शासन गर्नुहुँदैन । हाम्रो वर्तमानमाथि शासन गर्नुहुँदैन । वर्तमान अर्कै हो, यो अलग छ । यसलाई बचाउनुपर्छ । यसको मूल्यमा इतिहासको मूल्य खोज्न थाल्यौँ भने सत्यानाशको बाटो हो, ध्वंसको बाटो हो । दुनियाँले हामीलाई कसरी हेरिरहेको छ भने कम्युनिस्टहरूको भ्रम अब सकिँदै छ ।

कम्युनिस्टहरूले साँच्चै गर्न सक्दारहेछन् कि नसक्दा रहेछन् भन्ने कुरा यही वेलामा पुष्टि हुँदै छ । इतिहासमा जेजति मिथकहरू कम्युनिस्ट आन्दोलनबारे बने, आशा–संकल्प बने, गीत–कविता लेखिए, ती सबै कुरा देखिँदै छन् । पर्दा खुल्दै छ । त्यो अन्तिम पर्दा खुल्दा कम्युनिस्ट आन्दोलनको सत्यनाशको विरूप चित्र अगाडि आउने हो । यो आन्दोलन जन्मजात असफल हुनै जन्मेको थियो भनेर देखिने हो वा होइन ? यसमाथि लागेका समस्त आलोचना, आशंकाहरू नै भ्रम थिए, वस्तुतः यो वास्तविक थियो भन्ने देखिन्छ । हामी समयतिर होइन, कन्टेन्टतिर जाऔँ । कन्टेन्ट जसरी ल्याइयो त्यो गलत छ । 

पार्टी एकताको सेरोफेरोमा तपाईंले जबज र एक्काइसौँ शताब्दीको जनवादको अध्याय सकियो (च्याप्टर क्लोज) भन्नुभएको थियो । एकता घोषणामा ‘जनताको जनवाद’ अबको कार्यदिशा हुने भनियो । त्यो चीनमा माओले भन्ने गरेको ‘पिपुल्स डेमोक्रेसी’कै अनुवाद हो । पुरानो अध्याय सकिएजस्तो त देखिएन । नेताहरूले पुरानै अध्याय फेरि पढ्न खोजेका हुन् ?

वैचारिक प्रश्नको समाधानमा ठूला नेता (ठूला भनेको फूली लगाएका, ठूला पदमा बसेका) असाध्यै हाजिरजवाफीजस्तो ‘यो हो,’ ‘यो होइन’जस्तो गर्छन् । तर, सिद्धान्त कसरी बन्छ ? यसबारे संसारभरिका धेरै विश्वविद्यालयमा बहुत धेरै अध्ययन भइरहेको छ । वाम आन्दोलनमा सिद्धान्त निर्माणको असाध्यै जटिल प्रक्रिया छ । यस हिसाबले मैले ‘च्याप्टर क्लोज’ भनेको हुँ ।

तिवेला पनि मैले ठीकै भनेको थिएँ । मिडियामा जबजको च्याप्टर क्लोज भन्ने हिसाबले आयो । कुरा यति मात्रै छैन । हाम्रो कम्युनिस्ट आन्दोलनमा जे–जति अभ्यास भए– जबज, माओवाद, एक्काइसौँ शताब्दीको जनवादको अभ्यास भयो । कुनै वेला लोक जनवाद पनि भनियो । यी सबै चीनमा माओत्से तुङ र नेपालमा कमरेड पुष्पलालले भन्ने गरेको ‘नयाँ जनवाद’को फ्रेमभित्रका अभ्यास हुन् । ती सामन्तवाद र साम्राज्यवादविरोधी कार्यक्रम हुन् ।

एक्काइसौँ शताब्दीको जनवाद पनि सामन्तवाद–साम्राज्यवादविरोधी कार्यक्रम हो । बहुदलीय जनवादलाई कमरेड मदन भण्डारीले सामन्तवाद–साम्राज्यवादविरोधी कार्यक्रम भन्नुभएको थियो । हामी (तत्कालीन एमाले)ले नवौँ महाधिवेशनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो, भन्यौँ ।

हेटौँडा महाधिवेशनमा माओवादीले त्यही भन्यो । यसको अर्थ पुष्पलाल, मदन भण्डारी, प्रचण्डले जे सोच्नुभएको थियो, त्यो सम्पन्न भयो भनेर हामीले भन्यौँ । अब नेपाल सामन्ती रहेन, पुँजीवादी भयो । अब हाम्रो लक्ष्य जनवादी क्रान्ति रहेन, त्योभन्दा हामी अघि बढिसक्यौँ । च्याप्टर क्लोज भन्नुको अर्थ खारेज होइन, पूरा भयो भनेको हो । मानौँ, हामीले कहीँ जाने बाटो र लक्ष्य तय ग-यौँ ।

लक्ष्यमा पुगेपछि फेरि त्यही बाटो फर्कौँ भनेजस्तै हो अहिले जबज र एक्काइसौँ शताब्दीको जनवाद चाहिन्छ भन्नु ! हामी त्यसभन्दा माथि गइसक्यौँ, एकता दस्ताबेजमा त्यही लेखिएको छ । जबज र एक्काइसौँ शताब्दीको जनवादको कार्यक्रम पूरा भइसकेकाले परिमार्जन गर्दै हामी अघि बढ्छौँ । अब राष्ट्रिय पँुजीको विकास गर्दै समाजवादको तयारी गर्ने कार्यक्रम ल्याउँछौँ भन्नुभएको छ, नेताहरूले । यो कुरा ठीकै गर्नुभएको छ । ढोकाको चुकुल लगाएर गुरिल्ला शैलीमा सहमति गरे पनि दस्ताबेजमा उहाँहरूले जे लेख्नुपर्ने हो, ठीकै लेख्नुभएको छ । 

एक्काइसौँ शताब्दीको जनवाद र जबजको कार्यक्रमिक उद्देश्य पूरा भयो अर्थात् त्यसको च्याप्टर क्लोज भयो । यसर्थ, नयाँ जनवादकै च्याप्टर क्लोज भयो । तर, सिद्धान्तहरूको विकासमा नयाँ आउनुको अर्थ पुराना खारेज हुने होइन, पुरानैको जगमा नयाँ बन्दै जाने हो । यस हिसाबले जबजका केही सैद्धान्तिक पाटा बाँकी नै छन् ।

जबजलाई हामीले सिद्धान्त भन्ने गरेका छौँ । हिजो एमालेमा मदन भण्डारीको वैध उत्तराधिकारी को हो भनी वेलावेलामा विवाद गरिन्थ्यो । मलाई साथीहरूले अवैध कित्तामा राख्थे । मैले पटक–पटक के दाबी गरेँ भनेँ– जबजको कार्यक्रमको व्याख्या कमरेड भण्डारीले गर्नुभयो । पछि हामीले सिद्धान्त भन्यौँ । सिद्धान्त कसरी बन्छ ?  व्याख्या गरेनौँ । मेरो दाबी छ– सिद्धान्तका रूपमा त्यो मैले तयार पारेँ, हामीले पा-यौँ । आठौँ महाधिवेशनमा हामीले भन्यौँ– लोकतान्त्रिक तरिकाले श्रमजीवी वर्गको पक्षमा समाजको रूपान्तरण गर्दै जाने प्रक्रिया जबज हो । सिद्धान्त यसरी बन्छ ।

लोकतन्त्र मात्रै भन्यौँ भने हामी कांग्रेसजस्तो बन्छौँ । श्रमजीवी जनताको पक्षमा समाजको रूपान्तरण मात्रै भन्यौँ भने हामी माओवादी बन्छौँ । मैले त्यतिवेला गरेको व्याख्या यस्तो थियो । यसर्थ, लोकतन्त्र र श्रमजीवी वर्गको पक्षधरता, यी दुई अवधारणा हुन् । यी अवधारणाको अन्तरसम्बन्धलाई व्याख्या गर्दा सिद्धान्त बन्छ । आठौँ महाधिवेशनमा केन्द्रीय कमिटीमा पनि नरहेका हामी केटाहरूको दाबी के थियो भने यो दुई अवधारणाको व्याख्या हामीले ग-यौँ । हामीले विकसित गरेको जबजको सिद्धान्तको त्यो पाटो आज पनि बाँकी छ । त्यो तत्कालीन एमालेले मात्रै गरेको भन्न मिल्दैन ।

ढिलोचाँडो होला, तर एक्काइसौँ शताब्दीको जनवादमा पनि यही विचार छ । अलि अस्पष्ट छ, तर सार यही छ । यसर्थ, जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादको सैद्धान्तिक महत्व आज पनि बाँकी छ । अहिले केही साथीहरूले भनेजस्तो जबजका १४ वटा विशेषता बुर्जुवा विशेषता हुन्, माक्र्सवादी होइनन् ।

कमरेड मदन भण्डारीले ती विशेषतालाई खास परिस्थितिमा अघि सार्नुभयो । कम्युनिस्ट आन्दोलनमाथि भयंकर आक्रमण भइरहेका वेला कमरेड भण्डारीले जोडले उठाउनुभयो र क्रान्तिको सार बचाउन रूपगत पक्षलाई बढी प्रचार गर्नुभयो । उहाँ त्यसलाई रूपगत पक्ष भन्दै जोडले उठाउनुपर्छ भन्नुभयो र सार नयाँ जनवादै हो भन्नुभयो । यसरी फर्किएर सिद्धान्तको व्याख्या गर्ने हो भने जबज र एक्काइसौँ शताब्दीको जनवादको सैद्धान्तिक महत्व  अहिले पनि सान्दर्भिक छ । कार्यक्रमका हिसाबले भने तिनको च्याप्टर क्लोज भइसकेकै हो ।

हामी सबै सहमत भएर यसको नाम जबज वा एक्काइसौँ शताब्दीको जनवादभन्दा पनि फरक पर्दैन । भावनात्मक कुरा नमिसाउने हो भने सहमतिमा नाम जे राख्दा पनि हुन्छ । तर, सिद्धान्त र कार्यक्रमको भिन्नता नबुझ्नेहरूले भारतीय राजनीतिमा जस्तो– ‘पाकिस्तान आक्रमण कर रही हे’ भनेजस्तै पूर्वएमालेवालाहरूलाई भड्काउन जबज प्रयोग गर्नुपर्छ भन्दिने, व्यापारका लागि, तत्कालको नाफाका लागि । अनि, हिजोको माओवादीहरूलाई एकीकृत गर्न माओवाद, जनयुद्ध, क्रान्ति, बगेको रगत, एक्काइसौँ शताब्दीको जनवाद भन्दिने । यी भावनात्मक कुरा हुन् । यिनै भावना भड्काएर अहिले साथीहरूले अरू नै कुराको व्यापार गर्न खोजेका छन् । क्रान्तिकारीहरूले यसो हुन दिनुहुन्न ।

त्यो अरू नै कुराको व्यापार भनेको के हो ?

अहिलेको हामी निकै नराम्रो बुर्जुवा राजनीतिको भूमरीमा परेका छौँ । त्यसको खास अर्थ भनेको व्यक्तिवादी भन्ने हो । व्यक्ति सत्तामा जान गुट बनाउनुपर्छ, गुट जति ठूलो हुन्छ, सत्तामा पुग्ने त्यति ग्यारेन्टी हुन्छ । त्यसकारण यी पार्टी सत्ताभित्र आफ्नो प्रभुत्वका लागि रचिएका प्रपञ्चहरू हुन् । 

अध्यक्ष केपी ओली पार्टीभित्र कमजोर हुन थालेका हुन् ? त्यसैकारण जबजको बहस अघि सारिएको हो त ?

कमजोर र बलियो सापेक्षिक कुरा हो । उहाँ (ओली) कमजोर भएर यो (जबज) ल्याउनुभयो भनेर व्यक्तिगत रूपमा त के भनौँ ? यो कमरेड ओलीले आफँैले ल्याउनुभएजस्तो मैले देखेको छैन । अरूले नै पानी टेस्ट गर्दै छन्जस्तो लाग्छ । पानी तातो छ कि चिसो हेर्दै गर है भनेर अरूलाई नै लगाइएजस्तो लाग्छ ।

ओलीले नै यो ल्याउनुभएको हो भने पार्टी र सरकारका कमजोरी ढाक्ने बहाना मात्रै हो । उहाँ यसमा लागि हाल्नुहुन्छ भन्ने लाग्दैन । उहाँले नवौँ महाधिवेशनमा टेस्ट गर्नुभयो । यो समाज परिवर्तन भएकै छैन, पँुजीवाद आएकै छैन, जनवाद आएकै छैन भनेर उहाँले विभिन्न एजेन्सी सक्रिय बनाउनुभएको थियो, त्यो काम लागेन । सम्भवतः यो पनि काम लाग्दैन ।

पार्टीभित्रै असन्तुष्टि छ । पार्टीका कमजोरी के हुन् ? सरकार कहाँनिर असफल भयो त ? 

पार्टी त चलेकै छैन । यसका के कमजोरी भन्नू ? पूर्ण रूपमा पार्टी गठन भएकै छैन, घोषणा मात्रै भएको छ । गठन हुन त सबै ठाउँका कमिटी र तिनको कार्यविभाजन हुनुपर्छ, अधिकार र कर्तव्यहरू प्रत्यायोजन भएर काम गर्न थाल्नुपर्छ, त्यो गठन हो । कुनै संस्था गठन गर्ने निर्णय हामीले लियौँ तर, त्यसको स्वरूप बनाउन बाँकी छ भने त्यो घोषणा मात्रै हो । नेकपा पनि गठन गर्ने घोषणा भएको हो, पार्टी पुनर्गठन भएकै छैन । हामी चौध महिनादेखि यसमा लागेका छौँ । त्यो पूरा भइसकेको छैन । त्यसो हुँदा यस्तो पार्टीको के कमजोरी भन्नु र ?

सरकारबारे मन्त्रालयपिच्छे म जान चाहन्नँ । सरकारका मुख्य दुई काम हुन्छन् । एउटा त्यसले जनताबाट सहमति लिइरहन्छ र अर्को शासन वा दमन गर्छ । जुन सरकारले शासन गर्नका लागि यथेष्ट जनमत लिँदैन, त्यो ध्वस्त हुन्छ, ढल्छ । संसारभरिका विद्वान् र घटनाले यही भन्छन् । सरकारले बजेट ल्याउँछ, कानुनहरू बनाउँछ, त्यसमार्फत् कार्यान्वयन गर्छ र जनमत सिर्जना गर्छ । फेरि आफू बलियो हुन्छ र कार्यान्वयन गर्छ । जति कार्यान्वयन प्रभावकारी बनाउँछ, त्यति नै जनमत सिर्जना गर्छ । यो द्वन्द्वात्मक हुन्छ । जनमत सिर्जना गर्ने एजेन्सी पार्टी हो । जहाँ पार्टीले काम गर्दैन, त्यहाँ व्यक्ति जति चिच्याए पनि केही चल्दैन । म पपुलर हुँ, म कुलको वा वंशको हुँ, म राजखानदानको हुँ भनेर हुँदैन । यहाँको सैद्धान्तिक समस्या यो हो । सरकारले गरेका कामबाट जनमत वा सहमति सिर्जना गर्ने काम भएन । यो सरकार शासन मात्रै गर्न चाहन्छ । विधेयक ल्याएको छ, कहाँ जुलुस गर्ने–नगर्ने भनेको छ, प्रेसलाई के भन्दै छ, अर्कोलाई के भन्दै छ । यो सबै शासनको पाटो मात्रै हो । जनमत सिर्जना गर्ने कारखाना (पार्टी) उसले बन्द गरिदिएको छ, चाबी लगाएर राखेको छ । राजनीतिक शास्त्रको आँखाले हेर्नुहुन्छ भने केपी ओलीको असफलता यहाँनेर हो । 

नेकपामा अहिले प्रधानमन्त्री ओलीको विकल्प खोजिँदै छ भन्ने सुनिन्छ नि ?

लोकतन्त्रमा लोकतान्त्रिक भइरहनुपर्छ । लोकतन्त्र चलाउँछु भन्नेले सबैभन्दा पहिले आफैँ लोकतान्त्रिक भइरहनुपर्छ । एक दिन लोकतान्त्रिक भएर हुँदैन । सातौँ महाधिवेशनताका केपी ओली लोकतान्त्रकि बन्नुभएको थियो । त्यो एक दिन बनेर भएन । भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्रीका रूपमा उहाँ राम्रै भूमिकामा हुनुहुन्थ्यो । मैले भनेको थिएँ– तपाईंले धेरै राम्रो काम गर्नुभयो । त्यसरी एकचोटी गरेर हुँदैन, निरन्तर गरिरहनुपर्छ ।

लोकतन्त्रमा मेरा पुर्खाले अर्जेको माटो भनेर ज्ञानेन्द्रले बोलेजसरी हुँदैन । कसैले हटाउन खोजेको छ ? केपी ओलीले राम्रै गर्नुभएको छ भने कसैका बाउको दैया चल्दैन । उहाँले ठीकसित चलाउनुभएन भने पनि कसैका बाउको दैया चल्दैन । त्यसैले, हटाउन खोज्ने र नखोज्ने कुरा सब्जेक्टिभ हुन् । कसैलाई कमरेड ओलीसँग रिस उठेर यसो भन्दै छ भने यो व्यक्तिगत कुरा हो । तर, समाजले नै विकल्प सोच्न थाल्यो भने त्यो खतरा हो ।

सहमति लिने भल्भ तपाईंले बन्द गरिदिनुभयो र आदेश मात्रै दिनुभयो भने त्यो ‘क्र्यास’ हुन्छ । इतिहासमा क्र्यास भएका छन् । समग्रमा भन्नुपर्दा नेकपामा जुन पोटेन्सियल छ, यत्रा कार्यकर्ता छन्, त्यत्रो डरलाग्दो युद्ध व्यवस्थापन गरेर आएको नेतृत्व छ । यता गाउँगाउँमा गएर आमा–बूढीआमाहरूसँग सुखदुःख साटेर, तिनका विदेश गएका छोराछोरीलाई फोन हानेर ‘लौ आमा कुरा गर्नुस्’ भनेर, पाँच वर्ष लाएर एउटा आमाको भोट लिने तन्मयतासहित आएका नेता–कार्यकर्ताको पल्टन छ । मान्छेसित मात्रै होइन, धुलोमाटोसँग समेत भोट माग्न सिकेको पंक्ति छ । राजनीतिक रूपले यत्रो संसदीय उपस्थिति छ । यो सबै हेर्ने हो भने केपी ओलीले साँच्चै गर्नुभएन, गरिराख्नुभएको छैन । ओली कमरेडको (भविष्य) के हुन्छ भन्ने कुरा उहाँको कर्म, क्षमता, दायित्व निभाउने तरिका आदिले भन्ने कुरा हो । मैले भन्ने कुरा होइन ।


जनताले आशा गरेर नेकपालाई जनमत दिएकै हुन् । तर, एक/डेढ वर्षमै जनतामा असन्तुष्टि देखिन थाले । नेकपाले जनचाहना पूरा गर्न किन सकेन त ?
कमरेड ओलीबारे मैले पहिले पनि भनेको थिएँ । कतिलाई अर्घेल्याइँ बोल्यो भन्ने लाग्थ्यो । उहाँको काम बिग्रँदै थियो । असन्तुष्टि सुरु भएको थियो । ओली भन्नुहुन्थ्यो– यत्रो काम गरेको छु, खटेको छु । मैले भनेँ–तपाईं  त्यस्तो व्यापारी हो, घरमा मुसाको औषधि र मुसो मार्ने साँचो राख्नुभएको छ । बिरालो पाल्नुभएको छ । तर, बिरालो बाँध्नुभएको छ, मुसा मार्ने साँचो बोरामा थन्क्याउनुभएको छ, मुसा मार्ने औषधि व्यापारका लागि -याकमा राख्नुभएको छ । अनि, लाठी लिएर तपाईं मुसाको पछि दुगुर्दै हुनुहुन्छ र फ्याँफ्याँ हुनुभएको छ । यता हानेर गिलास, उता हानेर टेबल फुटाउनुभयो । पल्टेर आफैँ घाइते हुनुभयो, खुट्टामा चोट लाग्यो । अनि भन्दै हुनुहुन्छ– ‘मुसा मार्न मैले यत्रो मिहिनेत गरिरहेको छु, मलाई कसैले जस दिँदैनन् ।’ 

केपी ओलीको कार्यशैली म त्यस्तै देख्छु । म पनि त व्यस्त छु, ६/७ घन्टा सुत्नेभन्दा बढी मैले केही गरेको छैन । पार्टीमै लागेको छु । यसरी पार्टीमा लाग्ने हजारौँकोे पल्टन छ । परिणाम देखिँदैन भने यसो भनेर सुख पाइँदैन । गिरिजाप्रसाद कोइरालाले राजाको शासनविरुद्ध संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने सन्दर्भमा भन्नुहुन्थ्यो, ‘जंगलमा हिँड्दा बाटो बिराइयो भने जहाँबाट बिराएको हो त्यहीँबाट खोज्न सुरु गर्नुपर्छ ।’ हामीले पनि पार्टीलाई विधिमा फर्काउनुपर्छ । ०७४ असोज १७ (एकता संयोजन समिति बनेपछि) हामी चुनावमा गयौँ । पार्टी एकता घोषणा ग-यौँ । सबै गरियो, काम यति फैलाइयो कि १०/२० हजारले काम गर्नुपर्ने भयो । तर, अधिकार १७ असोजको घोषणामा भनेभन्दा अगाडि गएन, दुईजनामा मात्रै रह्यो । हाम्रो कार्यशैली र तरिका, अधिकारप्रतिको हाम्रो लगाव दुईजना नेतामा केन्द्रित भयो । उहाँहरू बोल्नुभएन भने पूरै पार्टीको तलसम्मै बोलचाल बन्द ।

दुईजनाले बोल्नुभयो भने फेरि पूरै पार्टीभित्र बोलचाल सुरु । कस्तो देखिन्छ हेर्नुस् त ! पार्टीको हालत यस्तो छ । बाँकी आठ लाख सदस्यको त्यहाँ कुनै मूल्यांकन छैन । तिनको आवाज छैन, भावना छैन, काम छैन । जे छ, वश दुईवटा नेताहरूमा छ । यसरी बिग्रियो । म पटक–पटक भन्छु, हामीलाई मन परे पनि नपरे पनि ओलीजी र प्रचण्ड हाम्रा वैध अध्यक्ष हुनुहुन्छ । उहाँहरूको वैधता, हामीले दिएको सहमतिबाट निसृत हो ।

उहाँहरूले यो बुझ्नुभएको छैन र खतरातर्फ जाँदै हुनुहुन्छ, पार्टीलाई डो-याउँदै हुनुहुन्छ । हामीले दिएको सहमतिलाई उहाँहरूले सुविधा ठान्नुभएको छ । पार्टीमा छ महिनाभित्र हामीले धेरै गुमाएका छौँ, त्यो इतिहासमा लेखौँला । किनभने, यो १४ महिनामा हामीले गर्ने कति धेरै कुरा थिए, त्यो हामी उठाउँला–नउठाउँला, तर फेरि पनि यो मुलुकको भाग्य र भविष्य बदल्ने शक्ति हामीसँग छ । चुनावमा हाम्रो जुन लोकप्रियता थियो, छ महिनामा त्यहाँ पु-याउन सकिन्छ । त्यसका लागि व्यक्तिको व्यवस्थापन होइन, विधिको व्यवस्थापन गर्नुपर्छ । 

लोकतन्त्रमा एउटा भनाइ छ, ‘जुन शासकले कम शासन गर्छ, त्यो असल र महान् शासक हो ।’ उहाँहरूलाई बढी शासन गर्ने जुन भोक छ, त्यो गलत हो । उहाँहरू जति कम शासन गर्नुहुन्छ, त्यत्तिकै लोकप्रिय हुनुहुनेछ । त्यत्तिकै यो पार्टीलाई राम्रो बनाउनुहुनेछ । उहाँहरूको जिन्दगी सार्थक हुने हो भने कम शासन गरेर हुन्छ । बढी शासन गरेर, देखाएर, बदला लिएर, अहंकार देखाएर, ठूलो छु भन्ने स्थापित गरेर लोकतन्त्रमा कोही राम्रो शासक हुन सक्दैन । म फेरि दोहो-याउँछु, जो कम शासन गर्छ त्यो महान् शासक हो । 

तपाईंहरूले नै सहमति गरेर नेतृत्वलाई प्राधिकार दिनुभयो । अब फर्किएला भन्ने विश्वास छ त ? 

यो पार्टी फेरि बन्नै नसक्ने भनेर सोच्नु असाध्यै ठूलो गल्ती हुनेछ । आज हामी त्यहाँ छैनौँ । हामीलाई पार्टीका रूपमा थोरै काम गर्न दिनुहोस् । यो पार्टी जमिन्दारहरूको जत्था होइन, सेयर ब्रोकरहरूको संस्था होइन । यो एक्काइसौँ शताब्दीको लोकतान्त्रिक अनुभव संगालेर आएको पार्टी हो । त्यसकारण लोकतान्त्रिक रूपमा यसलाई चल्न दिनुहोस्, यो पार्टी र सरकारलाई धेरैमाथि उठाउन सक्छौँ । त्यो सामथ्र्य हामीसँग छ ।

केन्द्रीय कमिटी र संसदीय दललाई विधि बनाएर विश्वासमा लिनुभयो भने, सरकारका काममा संसदीय समितिको भूमिका रह्यो भने, पार्टीका हरेक काममा केन्द्रीय कमिटी सदस्यले भाग लिए भने, विधिमा सहभागी भए भने यो हाम्रो शक्तिको स्रोत हुन्छ । एउटा गाउँ कमिटीको इन्चार्ज र सहइन्चार्जमा सांसद पठाउन सक्ने हैसियत छ हाम्रो ।

हामी १७६ जना सांसद र ४४१ जना केन्द्रीय सदस्यले दिनभरि के ग-यौँ भनेर साँझ अध्यक्षलाई रिपोर्ट बुझाउन सक्छौँ । स्थायी समितिमा यो कुरा राखेर छलफल गर्न सक्छौँ । यति सानो मुलुकमा यत्रा अपार स्रोत र साधन भएको मजबुत पार्टी छ, यसलाई राम्रोसँग चलाउने हो भने अजस्र शक्ति हुन सक्छ । त्यसकारण म असाध्यै विश्वास गर्छु । अघिल्ला पिँढीले राम्रोे गरेन भने हाम्रो पुस्ता हस्तक्षेप गर्न तयार हुनुपर्छ । उहाँहरूका व्यक्तिगत आकांक्षा र कुण्ठाको सिकारबाट अबको पुस्ता मुक्त हुन लाग्नुपर्छ । यो स्थायी समितिले हस्तक्षेप गर्नुपर्छ भन्ने लाग्छ । आफ्ना आकांक्षा र कुण्ठाहरूलाई सिद्धान्तको खोल ओढाउने कुराबाट हामी मुक्त हुनुपर्छ । 

 

 

 

आजको नयाँ पत्रिकामा छापिएको यो अन्तवार्ता सङ्गीतरशुरोजंग पाण्डेले लिएका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तत्काल नयाँ विधेयक ल्याउँछाैं, जनप्रतिनिधिको सुविधा रोकिँदैन : सभामुख थापा

  • ५ कार्तिक, २०७६

कैलाली । प्रदेश १ बाहेकका अन्य ६ वटा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले लिँदै आएको पारिश्रमीक रोक्न भन्दै सर्वोच्च अदालतले गत शनिबार फैसला

चीन र भारत दुवैतिरबाट काठमाडौंमा रेल आउँछ – प्रधानमन्त्री

  • २ कार्तिक, २०७६

काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाँ बनाउन शिलान्यास

अमेरिकी अनुदान सम्झौता महराका कारण संसदमा रोकिएको होईन–प्रचण्ड

  • १ कार्तिक, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज