• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

थला पर्यो महाकाली अस्पताल : ‘न एम्बुलेन्स न चिकित्सक नै !’

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोग विहिन

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पताल समस्या नै समस्याले थला परेको छ । अञ्चल अस्पतालको अवस्थाबारे सम्बन्धित निकाय बेखबर भएपछि अस्पतालको दुर्दशा दिनप्रति दिन बढ्दै गएको हो ।

विशेषज्ञ डाक्टरको अभाव रहेको अस्पतालको फार्मेसी र एक्सरे सेवा समेत अलपत्र परेका छन् । बजेटको अभाव तथा बिग्रेको मेसिन मर्मतमा सम्बन्धित निकायले ध्यान नदिँदा सेवाग्राहीले अञ्चल अस्पतालबाट पाउने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । चुनावका बेला महाकाली अञ्चल अस्पताललाई मुख्य एजेन्डा बनाएका उम्मेदवार चुनाव जितेपछि अस्पतालको अवस्थाबारे बेखबर बनेको स्थानीयको आरोप छ ।
 
एम्बुलेन्सविहीन अवस्था
अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि अञ्चल अस्पताल एम्बुलेन्सविहीन बनेको छ । भारतीय दूतावासले सहयोग गरेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर बेकामे बनेपछि अस्पताल आउने बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनुपरेको छ ।

अस्पतालका एम्बुलेन्स दुई वर्ष अगाडि नै बिग्रिएर थन्किएपछि अस्पतालसँग अहिले आफ्नो एउटा पनि एम्बुलेन्स नभएको अस्पतालका सूचना अधिकारी अवस्थीले जानकारी दिए । उनले भने,– ‘यसबारे सरकारलाई पटक–पटक जानकारी गरायौं तर हाम्रो कुराको सुनुवाइ भएन ।’
अञ्चल अस्पतालमा एम्बुलेन्सजस्तो अत्यावश्यक साधन नहुँदा बिरामी मर्कामा परेका छन् । यदि बिरामी रेफर गर्न वा अन्य ठाँउ लैजानु परेमा चर्को भाडा तिरेर बाहिरका एम्बुलेन्स लिनुपर्ने बाध्यता छ ।

२७ दरबन्दीमा तीन जना मात्रै डाक्टर
सरकारले अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन सकेको छैन । हाल अस्पतालमा तीन जना विशेषज्ञ डाक्टर मात्र छन् । यद्यपि उक्त अस्पतालका लागि २७ डाक्टरको दरबन्दी छ । जसमा १८ जना भने विशेषज्ञ डाक्टर पर्छन् । विशेषज्ञ डाक्टर नहँुदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।
हाल अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ र सर्जनबाहेक अन्य विशेषज्ञ डाक्टर नभएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए । दरबन्दीअनुसार डाक्टर नहुँदा एउटै डाक्टरले विभिन्न रोगका बिरामीलाई हेर्नुपर्ने अवस्था छ ।

महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रतिवद्धता गरेर प्रतिनिधिसभाको चुनाव जितेका डा. दीपकप्रकाश भट्टले अस्पतालका लागि केही गर्न नसकेकोे आरोप लाग्ने गरेको छ । तर, उनीभने चुनावी प्रतिवद्धतामा कति पनि विचलित नभएको जीकिर गर्छन् । 

उनले अस्पतालको गुणस्तर उकास्न आफूले सक्दो प्रयास गरिरहेको दाबी गरे । समाचार दैनिकसंगको कुराकानीमा उनले भने,–‘मैले सक्दो पहल गरिरहेको छु । अब अञ्चल अस्पताल केन्द्र सरकारभन्दा पनि प्रदेश सरकारसँग जोडिएको छ । त्यसैले प्रदेश सरकारसँग समेत अस्पतालको समस्या समाधानका लागि छलफल गरिरहेको छु ।’

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोग विहिन
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालले आईसीयू सेवा सञ्चालन गर्ने चर्चा चलेको ५ वर्ष पूरा हुन लागेको छ । आर्थिक वर्ष २०७१÷७२ मा आईसीयू सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरण खरिद गरेको अस्पतालले आईसीयू कक्ष तयार गर्दै उपकरण जडान गरेरे राखेको छ । तर आईसीयु सेवा प्रयोग गर्न पाउने कुरा कञ्चनपुरबासीका लागि आकाशको फल आँखा तरी मर जस्तै भएको छ । अस्पतालले जनशक्ति अभावकै कारण आईसीयू सेवा सेञ्चालन गर्न नसकिएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए । उनले आईसीयू सञ्चालन नभएपछि  गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गरिदै आएको जानकारी दिए ।

अस्पतालले २ वटा भेन्टिलेटर, एनेस्थेसिया मेसिन, इन्डोस्कोपी, सीआर्म मेसिन, एक्सरे, डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, पत्थरी र किड्नी चेक गर्ने लगायत थुपै मेसिन पनि स्टोरमा थन्क्याएको छ । जनशक्ति अभावकै कारण ती उपकरणहरु पनि प्रयोगमा ल्याउन नसकिएको बतार्इंदै आएको छ । कैलालीको टीकापुर अस्पतालमा पनि वर्षौं पहिले खरिद गरिएका उपकरणहरु प्रयोगमा आउन सकेका छैनन् । कोरियाली सहयोग नियोग (कोईका) को आर्थिक सहयोगमा खरिद गरिएका ४ करोड बढिका उपकरण प्रयोगवीहिन भएका छन् । भेन्टीलेटर लगायतका उपकरण सञ्चालनमा ल्याएर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नतर्फ अस्पताल प्रशासनदेखि अन्य निकायहरुले ध्यान नदिएको आरोप लाग्दै आएको छ ।

महाकाली अञ्चल  र टीकापुर अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगवीहिन भएका बेला स्थायी राजधानी घोषित अत्तरियाको मालाखेती अस्पतालमा पनि एक्सरे मेसिन सञ्चालनमा नआएको लामो समय भइसकेको छ । तर, उक्त मेसिन सञ्चालन गर्न आवश्यक पर्ने समाग्री खरिद गर्न नसकिएका कारण थन्क्याउनुपरेको अस्पतालले बताउँदै आएको छ । 

अस्पतालहरुले जनशक्ति अभावका कारण भएका उपकरणहरु समेत प्रयोगमा ल्याउन नसकेपछि यसक्षेत्रका बासिन्दा सरकारी अस्पतालमै स्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् । सुदूर पहाडका बासिन्दा अस्पतालमा भौतिक पूर्वाधार र उपकरण अभावका कारण स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला कैलाली कञ्चनपुरका अस्पतालहरुले भने करोडौँका उपकरण खरिद गरेर थन्क्याएका हुन् ।

अन्य अस्पतालमा खरिद गरिएका उपकरणहरु समेत प्रयोगमा नआउँदा गम्भीर प्रकृतिका विरामीलाई सेती अञ्चल अस्पताल रेफर गर्ने गरिएको छ । सेती अञ्चल अस्पतालमा पनि सीमित जनशक्ति र पर्याप्त मात्रामा उपकरण नहुँदा उपचारमा समस्या हुदै आएको छ भने केही मेसिनहरु त पूरानो भएर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर