पोखराको रोपाई महोत्सवमा रमाए पर्यटक [तस्बिरहरु]

पोखरा । गलामा माला, रातो टिका अनि पञ्चे बाजाको धुन घन्किरहेका थिए । टपरीमा रोटी, अनि दहि र चिउरा । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन ।

पर्यटकलाई हिलोमा रमाई रहेका थिए । पोखरा महानगर पालिका १७ महतगौडामा । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा १६ औ असारे रोपाई महोत्सव भयो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको छ ।

खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक हिलोमा छ्यापाछ्प गरेका थिए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो ।

असारे रोपाई महोत्सवको हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् थियो । “पोखरा सबै मौसमका लागी” भन्ने नारा सहित स्वदेशीदेखि विदेशीहरुका लागि महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने ।

पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा भाग लिदै रोपाइ महोत्सवमा रमाए । विदेशी पर्यटकहरुले नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष सहभागी हुदाँ खुशी लागेको बताए ।

खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ता कार्यक्रममा सबैले व्यक्त गरे ।

यस वर्ष पोखरा १७ महतगौडाका ऋषिराम भण्डारीको ४ रोपनी क्षेत्रफलमा चार हल गोरु नारेर रोपाई महोत्सव गरिएको थियो । रापाई महोत्सवमा सहभागी हुनका लागि अमेरीका, बेलायत, चाइना लगाएतका देशबाट विदेशी आएका थिए ।

कास्कीमा जेठो बुढो, मनसुली, गुर्दी, बतीसरा, तौली लगायतका पुराना जातका धानका साथै, राधा ७, राधा नौ, सावित्री लगायतका विकासे धानहरु लगाइन्छ । नेपालभर धानका करिब एक हजार जातका धान लगाउने गरिन्छ ।

हालसम्म नेपालमा ३८ प्रकारका वैज्ञानिक धान लगाउने गरेकोमा कास्कीमा १० प्रकारका वैज्ञानिक धान लगाउने गरिएको कृषि क्षेत्रका जानकारहरु बताउ छन् । कास्कीमा २६ हजार सात सय हेक्टर जमिनमा धान खेती हुने गरेकोमा बर्सेनि ८० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ । यस वर्ष पोखरा २४ पामे, हेम्जा र लेखनाथमा समेत रोपाई महोत्सव भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर