जब म फेरि मन्त्री बनें...
आज मेरो घर खचाखच थियो । मलाई भेट्न आउनेहरूको घुइँचो थियो । अरू त अरू, अरूबेला धारेहात लगाएर मेरो उछित्तो काढ्नेहरू मेरो बिस्तारामै पुगुंलाझैं गर्दै थिए । मेरो जिल्लाका सबै साहुमहाजन, नवधनाढ्य, पार्टीका नेता–कार्यकर्ता मेरा मतदाताहरूको जुलुस मेरो घरतर्फ आउँदै थियो ।
मेरो घर सुरक्षाकर्मीले पहरा दिएको थियो । झन्डावाल गाडी घरअगाडि आइपुग्दै थियो । स्वदेशी र विदेशी ठूला सञ्चारमाध्यमका पत्रकार लामालामा क्यामरा बोकेर आउँदै थिए । सामाजिक सञ्जाल म मन्त्री भएको खबर र मेरो फोटोले रंगिएका थिए । पत्रपत्रिकामा ठूलाठूला समाचार मेरै थिए ।
म दोस्रोपटक मन्त्री भएको थिएँ । हुन पनि मेरो विकल्प थिएन । मेरो अगाडि अरू सबै भुसुनासरह हुन् । देशको कायापलट गर्न मबाहेक अरूले गर्नै सक्दैनन् । जहाँ विकास, त्यहीँ म । विकास भनेपछि म हुरुक्कै हुन्छु । सबैले देखेकै छन्– संसद्मा देशको मुहार फेर्ने विधेयकमाथिको छलफल छोडेर, संसद् रित्तै पारेर एउटा धारोको टुटी खोल्न जान मन पर्छ मलाई । मैले नछोई विकासको कुनै डोजर एक इन्च अघि सर्नेवाला छैन ।
मलाई संसद्मा बोरलाग्दो बसाइ गर्नु भन्दा भर्खरै पिच गरेको बाटो अनुगमन गरेको फोटो फोटो पोस्ट नगरी–नगराई निद्रा लाग्दैन । किन हो किन आफूबाहेक अरू सबै विकासविरोधीजस्तो लाग्न थालेको छ । संसद्देखि श्रद्धाञ्जलीसभा सबैमा उनीहरूलाई थर्काउने भाषण हुन्छ मेरो ।
घरवरिपरि मानिसको भीड लागे पनि म मेरो बिस्तारामै छु । म अलि सोचमग्न छु । राजनीतिमा नलागेको भए मेरो हबिगत के हुन्थ्यो होला ? यो सोच्नु बेकार छ । विख्यात अंग्रजी कवि रबर्ट फ्रोस्टले ‘द रोड नट टेकन’मा भनेजस्तै म राजनीतिको बाटो हिँडें र यहाँ छु ।
नहिँडेको बाटोको किन कुरा गर्ने ? म राजनीतिमा यति डुबेर लागेंछु कि मेरो आलिसान महल कसरी बन्यो, मजस्तो सामान्य मानिसको विभिन्न कम्पनीको सेयर त्यत्रो कित्ता कसरी आयो, मेरो नाउँमा राम्रा–राम्रा ठाउँमा जग्गाका टुक्रा कसरी आए थाहै छैन ।
पहिलोपटक मन्त्री हुँदा मजस्तो निष्कलंक मन्त्री कोही थिएन । मेरो मन्त्री अवधिमा मैले हजारौं फाइल सदर गरें होला । सबैजसो फाइल देश र जनतालाई शिरमा राखेर एक पैसाको पनि लोभ नगरी इमानदारीपूर्वक सदर गरें मैले ।
एक दिन मन्त्रालयमा एउटा मानिस आयो । कुरा बुझ्दै जाँदा ऊ मेरै निर्वाचन क्षेत्रको मतदाता रहेछ ।
ऊ बोल्यो, ‘चुनाव आउँदै छ, के छ तयारी ?’
मैले भनें, ‘संगठन राम्रो बनाइएको छ । यसपालि म चुनाव जित्छु ।’
उसले ओठ लेप्य्रायो, टाउको हल्लायो र भन्यो, ‘तपाईंले चुनाव जित्नुहुन्न, कहिल्यै जित्नुहुन्न ।’
‘किन ?’ मैले उत्सुकतापूर्वक सोधें ।
‘कान्छी नानी कति छ ?’ उसले उसको बूढी औंला र चोर औंला फिस्दै भन्यो ।
म बोलिनँ, किनभने मसँग चुनावमा खर्च गर्ने पैसा थिएन ।
अब ऊ उत्साहित देखियो । धक नमानी यसो भन्यो, ‘हेर्नोस् दाइ, आदर्शवादी भएर हुँदैन । कोही पनि जोगी हुन राजनीतिमा लागेको हँुदैन । प्लिज हामीले भनेको एउटा कुरा मान्दिनोस्, तपाईंले चुनाव जित्नुभयो, तपाईंको तीन पुस्ता बन्यो ।
मेरो उनीहरूसँग दोस्ती सुरु भयो । उनीहरूले ल्याएको फाइल म नपढी सदर गर्न थालें । मेरो आवश्यकता उनीहरूले पूरा गर्दै गए । अहिले पनि गरिरहेछन्– क्रिस्टोफर मार्लोको विश्वविख्यात नाटकको प्रमुख पात्र डक्टर फस्टसलाई मेफिस्टोफिलिसले उसका हरेक माग पूरा गरेजस्तै ।
म सोचमग्न रहेकै अवस्थामा मेरो मोबाइलमा घण्टी बज्यो । अज्ञात नम्बरबाट खबर आयो, ‘शपथग्रहण आठ बजे ।’
म तयारीमा लागें । दाह्री काटें । नुवाइधुवाइ गरें । दौरा– सुरुवाल लगाएर बूढी आमाले तयार पारेको टीका–सगुन ग्रहण गरेर घरबाहिरको भीड पन्छाउँदै झन्डावाल गाडीतर्फ अगाडि बढें । सुरक्षाकर्मीले गाडीको ढोका खोल्न गाडीको ह्यान्डल ताने ।
गाडीको ढोका खुलेन ।
वरिपरि तैनाथ सुरक्षाकर्मी आएर ह्यान्डल ताने । फेरि ढोका खुलेन । शपथको समय घर्कन लागेको थियो । मेरो बेचैनी बढ्दै थियो ।
मैले आफ्नो बल सम्झें ।
दसजना लडाकुले आक्रमण गर्दा उनीहरू सबैलाई किक हानेर फुत्केको सम्झें । सबै सुरक्षाकर्मीलाई हटाएर आफैं गाडीको ढोकाको ह्यान्डल तान्न तम्सें । हतारका मारे मेरो घुँडो नराम्ररी गाडीमा ठोकियो । ड्याम्म !
ऐया ! मेरो घुँडो त आफू सुतिरहेको खाटमा पो ठोकिएको रहेछ । म ब्यूँझें । सात बजेको रहेछ । हतार–हतार रेडियो खोलें ।
रेडियोले समाचार भन्दै थियो, ‘मन्त्री छनोटको मापदण्ड तयार, एकपटक मन्त्री भइसकेकालाई पुनः मन्त्री नबनाइने... ।
प्रतिकृया दिनुहोस