• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ओली–प्रचण्ड सम्बन्ध : विश्वास र शंका बराबर

काठमाडौं । संसदीय चुनावमा वाम गठबन्धन बनाएर जाने सहमतिमा पुग्नु अघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा सरकार संचालनको गठबन्धन बनेको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएर नै तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन तयार भएर प्रस्तावक बने । 

नेपाली कम्यूनिष्ट अन्दोलनका दुई ठूला घटकका बीचमा लामो दुस्मनीपछि सहकार्य र सहमतिको राजनीति सुरु भएको थियो । तर त्यो पनि वियोगान्तमा गएर टुंगियो । तत्कालिन नेकपा एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीलाई सहमति अनुसार सत्ता प्रचण्डलाई सुम्पिएर कम्युनिष्ट एकताको बाटो फराकिलो बनाउन सुझाव समेत दिएका थिए । तर उनिहरुले भने जस्तो भएन ।

जब ओलीले सत्ता हस्तान्तरण सन्बन्धी भद्र सहमति तोडे, प्रचण्डको मनै कुंडियो र अविश्वसको प्रस्तावबाट ओली हट्न पुगे । माओवादी र कांग्रेसको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बने । ओलीलाई छोडेर काँग्रेससंग गठबन्धन बनाउदै गर्दा संसदमा उतिबेला प्रचण्डले प्रधानमन्त्री ओलीप्रति प्रशस्त शंकासहितका प्रश्न गरेका थिए । हुनत विगत हेर्ने हो भने दुवैले दुवैलाई सकेजति आलोचना गरेका छन् । 

कांग्रेस माओवादी गठबन्धनले स्थानीय तहको चुनाव सम्पन्न गरेपछि आएको परिणामले फेरीपनि एमाले माओवादीलाई सहकार्यको बाटोमा जोडिदिएको थियो ।

एमालेसँग गठबन्धन र एकताका लागि भएका विभिन्न छलफलमा सहभागि एक नेताका अनुसार स्थानीय तहमा माओवादीले हाँसिल गरेको मतपरिणाम पछि केपी शर्मा ओली अब माओवादीसँगै गठवन्धन गरेर संसदीय चुनाव लड्नुपर्छ भन्ने निचोडमा पुगेका हुन् ।

परिणामस्वरुप ०७४ सालको दशैंमा हिन्दु परम्परा मान्ने नेपाली नागरिकका घरमा मिष्ठान्न पाक्यो, नेकपाका नेताहरुका घरमा पार्टी गठबन्धन हुंदै एकतासम्म जाने राजनीति पाक्यो ।

त्यसयता पनि एकता प्रकृयाका दर्जनौं बैठकहरु भएका छन् । छलफल, सहमति, सहमति तोडिने, अविश्वास गर्ने, घात गर्ने लगायतका उतार–चडावको महाभारत श्रृंखला नै बनेको छ । 

अविश्वास र आशंका भएपछि सार्वजनिक रुपमा छेडछाड सुरु गर्ने र छलफलबाट विश्वास पलाएपछि फेरी एउटै भाषा बोल्ने ओली–प्रचण्डको विगत हो । माओवादी र एमाले चुनावी गठवन्धन गर्छन्, वा पार्टी एकता गर्छन् भन्ने कुरा एकाधले मात्रै विश्वास गरेका थिए । तर अध्यक्षद्वयले दुनियाँलाई चक्मा दिए । अरुलाई चक्मा दिन माहिर उनिहरु जब एक आपसमै त्यो कार्ड प्रयोग गर्दछन् अनि फेरी अविश्वास र अशंका सुरु हुने गरेको छ । 

पछिल्लो चरणमा अध्यक्षद्वय वा उनिहरु नजिकका भनिएका नेताहरुका बीचमा अविश्वास, आशंका र छेडखानीको श्रृंखला चलिरहेका बेला सोमबारको संसदीय दलको बैठकमा दुवै अध्यक्षले बोलीमा लोली मिलाए । जसका कारण थियो केही दिन यता अध्यक्षद्वयले गरिरहेको बाक्लो छलफल र अघिल्लो दिन भएको सघन वार्ता ।

त्यही वार्ताले उनिहरुलाई फेरी एकठाँउ ल्याएको नेकपाका एक सचिवालय सदस्य बताउँछन् । वार्ताको क्रममा भने दुबै नेताले मन खोलेर कुरा गरे ।  अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलाीलाई प्रधानमन्त्री आधार कार्यकाल दिने भद्र सहमति गरेर त्यस विरुद्ध माहोल बनाएको, सहमतिका आधारमा महाधिवेशन गरेर अध्यक्ष बनाउने सहमति अनुसार काम नगरेको, सरकारका काम एकलौटी गरेको, अध्यक्ष दुई जना भएपटि एकलौटी चलाएको, अर्का नेता माधव कुमार नेपाललाई आफुपछिको अध्यक्ष वा प्रधानमन्त्री भनेर आश्वासन दिएको, ईश्वर पोखरेललाई लगाएर सहमति विपरित जबजको विषय उठान गराएको, पार्टीका नेताहरुका बीचमा भएको छलफललाई भारतले उचालेर गरेको भन्ने आरोप लगाएकोलगायतका आशंका ओली समक्ष राखे । 

बालुवाटार श्रोत भन्छ,‘ प्रधानमन्त्री ओलीले पनि त्यत्तिकै प्रष्ट भाषामा प्रचरण्डप्रतिका आशंका र अविश्वस भनिदिए । आफु विरुद्ध माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायतलाई भेला गराएर बहुमत जटाउदै हटाउन खोजेको, सरकारका काममा सहयोग नगरेको, पार्टीमा बहुमत जुटाएर सरकारबाट फिर्ता गराउने दवाव सृजना गर्न लागेको, कहिले सरकार फेरिन्छ, कहिले मन्त्री फेरिन्छ भनेर सरकारलाई अस्थिर बनाउन खोजेको लगायतका आशंका ओलीले पनि प्रचण्ड सामु राखे ।’

दुवैले दुवैका मनको भडास पोखेपछि प्रचण्डले यी विषयलाई पार्टीको स्थाइ समितिमा लगेर समाधान निकाल्न प्रस्ताव गरे भने प्रधानमन्त्री ओलीले पहिला सचिवालयमा छलफल गरेर मात्रै स्थायी समितिमा जाउँ भन्ने प्रस्ताव गरे ।
 
अध्यक्षद्वयको यो छलफलले उनिहरुका बीचमा फेरी एकताभाव पैदा गरेको उनिहरुका निकटस्थहरु बताउँछन् । लगत्तै सचिवालय बैठक बस्ने भनिएपछि अहिलेसम्म मितिको टुंगो लागेको भने छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर