• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

देशभर फलफूलका बिरुवा रोपिँदै

नेपाल सरकारले वृक्षरोपणमा फलफूलका बिरुवा रोपण कार्यक्रमलाई जोड दिने नीति अंगीकार गरेको छ । गत वर्ष विश्व वातावरण दिवसका दिन ५ जुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकेडो र लिचीको बिरुवा रोपेका थिए । 

एक वर्षअघि रोपिएका ती बिरुवा राम्ररी जागेर झाँगिँदै गएका छन् । सरकारले २०७६ लाई वृक्षरोपण वर्ष तथा यस वर्ष असार १४ गतेदेखि राष्ट्रिय वृक्षरोपण दिवस मनाउने मन्त्रिपरिषद्को यही असार ८ को निर्णयअनुसार देशका विभिन्न भागमा खेर गएका जमिनमा फलफूलका बिरुवा रोप्ने क्रम जारी छ । यो अभियान देशव्यापी हुँदै गएको छ । 

विगतका वातावरण दिवसमा रूख रोप्ने तर, ती बिरुवाको खासै हेरचाह नहुने हुँदा एउटै ठाउँमा बर्सेनि वृक्षरोपण गर्नुपर्ने अवस्था हुन्थ्यो । यस्तो प्रवृत्ति अन्त्य गरी फलफूलका बिरुवा रोपिँदा बढी संरक्षण हुने र ती बिरुवाले केही वर्षमै प्रतिफल पनि दिने अपेक्षा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले वृक्षरोपणमा ३० प्रतिशत बिरुवा फलफूलका हुनुपर्ने नीति नै बनाएको छ ।  

यो वर्षदेखि खेर गएका जग्गालाई फलफूलले भर्ने लक्ष्यसहित वृक्षरोपण अभियान फलफूलका बिरुवा रोपणतर्फ मोडिएको छ । यही क्रममा प्रधानमन्त्री ओलीले असार १४ गते कोटेश्वरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपण अभियान सुरु गरे । यो वर्ष वृक्षरोपण दिवसमा मात्र काठमाडौंको चक्रपथ किनारामा दुई हजार ६ सय ८१ बिरुवा रोपिएको वन तथा वन्यजन्तु संरक्षण महाशाखाका उपमहानिर्देशक डा. राजेन्द्र केसीले जानकारी दिए ।

देशव्यापी वृक्षरोपणको विवरण भने आइसकेको छैन । यस वर्षको देशव्यापी वृक्षरोपणमा सेनाले पनि सघाएको छ ।  सो दिनदेखि असार १९ गतेसम्ममा सेनाका जवानले ४५ हजार १ सय ४२ बिरुवा (अधिकांश फलफूलको बिरुवा) रोपेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । सेनाले यस वर्ष एक लाख ५० हजार ९ सय ७७ बिरुवा रोप्ने लक्ष्य लिएको छ ।    

 

प्रधान सेनापतिबाट एकै दिन चार जिल्लामा वृक्षरोपण

 

वृक्षरोपणको राष्ट्रिय अभियानलाई सघाउने उद्देश्यले नेपाली सेनाले पनि ‘एक जवान एक रूख’को नीति लिई वृक्षरोपणलाई देशव्यापी बनाउन सघाएको छ ।  असार १४ मा सो दिवसको अवसरमा प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले देशका चार जिल्लाका चार ठाउँमा वृक्षरोपण गरे । अधिकांश ठाउँमा फलफूलकै बिरुवा रोपिएका थिए । 

प्रधानसेनापति थापाले काभ्रेको भकुण्डेबेंसीस्थित दलसिंगे पाखो, बर्दिवासस्थित मध्यपूर्वी पृतनाको खेर गएको जमिन तथा चितवनको शक्तिखोरस्थित सिंहनाथ गण (कमान्डो) परिसरमा वृक्षरोपण गरी काठमाडौं फर्केपछि त्रिभुवन विमानस्थलस्थित त्रिभुवन आर्मी गल्फ कोर्सको जमिनमा बिरुवा रोपेका थिए ।  

उनले भकुण्डेबेंसीमा आँप, बर्दिवासमा रुद्राक्ष, शक्तिखोरमा लिची र गल्फ कोर्समा सुन्तलाको बिरुवा रोपेका थिए । ती सबै ठाउँमा रक्षासचिव रेश्मीराज पाण्डेले पनि बिरुवा रोपेका छन् । चीनका विभिन्न सहरमा कपुरका बिरुवा रोपिने गरेको र आफूलाई पनि सो बिरुवा मनपर्ने उनले बताए । 

प्रधानसेनापति थापाका अनुुसार  त्रिभुवन विमानस्थल गल्फ कोर्समा बिरुवा रोपिँदा विमानस्थलको सौन्दर्य बढाउन पनि सहयोग पुग्छ ।  सेनाको ‘गो ग्रिन क्याम्पेन’ अन्तर्गत गल्फ कोर्सले पनि हरियाली कायम गर्न अभियान चलाउँदै आएको छ । 

 

कसरी सुरु भयो अभियान ?

 

गत वर्षको विश्व वातावरण दिवसमा प्रधानमन्त्री ओलीले सिंहदरबार परिसरमा एभोकाडो र लिचीको बिरुवा रोपेपछि फलफूलको बिरुवा रोप्ने क्रम सुरु भएको हो । यो वर्ष पनि सोही दिन उनले एभोकाडोको बिरुवा रोपेर अभियानलाई निरन्तरता दिए । २०७५ साल जेठ २२ देखि मंसिरसम्म देशभर २८ लाख ९० हजार ९ सय १९ फलफूलका बिरुवा रोपिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कँुवरले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको चाहनाअनुसार नै विभिन्न जिल्ला, महानगर, उपमहानगर, नगर तथा गाउँपालिकालाई प्रधानमन्त्री कार्यालयबाटै पत्राचार गरी सातै प्रदेश र ७७ जिल्लामा वृक्षरोपणको अभियान चलाइएको उनले जनाए । अभियान सुरु हुँदा तीन वर्षमा तीन करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिइएको थियो । यो वर्ष वृक्षरोपण दिवसमा रोपिएका फलफूलका बिरुवाको देशव्यापी विवरण भने आइनसकेको प्रवक्ता कुँवरले बताए । 

२०७५ मंसिरसम्म संकलित विवरणअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ लाख ३० हजार २ सय १४ र सबैभन्दा कम प्रदेश २ मा ६५ हजार ७ सय ७३ वटा फलफूलका बिरुवा रोपिएका थिए । प्रदेश ५ ले ४ लाख २४ हजार २ सय २४, प्रदेश ३ ले ३ लाख ५५ हजार ३ सय ३६, कर्णाली प्रदेशले २ लाख ५६ हजार ४ सय ३५, प्रदेश १ ले २ लाख २ हजार ३ सय ६४ र सुदूरपश्चिम प्रदेशले १ लाख ८२ हजार ३ सय ९३  फलफूलका बिरुवा रोपेका थिए । 

यही क्रममा नेपाली सेनाले ४१ हजार ७ सय ८१, नेपाल प्रहरीले ३४  हजार १ सय ३, सशस्त्र प्रहरीले २४ हजार ७ सय ३७ र बंैक तथा वित्तीय संस्था एवं सार्वजनिक संस्थाले २५ हजार ४ सय गरी जम्मा १ लाख २६ हजार २१ फलफूलका बिरुवा रोपेका थिए ।  

मुलुकका विभिन्न प्रदेश, जिल्ला, महानगर, नगर, गाउँपालिकाहरुमा रोपिएका फलफूलका बिरुवामा कागतीका सबैभन्दा बढी ५ लाख ४ हजार ४ सय ९४ बिरुवा रोपिएका थिए भने दोस्रोमा अलैंचीका ४ लाख ६९ हजार १ सय ५० र तेस्रोमा सुन्तला÷मुन्तलाका ३ लाख ३९ हजार ८ सय ३८ बिरुवा रोपिएका थिए । अन्य रोपिएका फलफूलका बिरुवामा आँप, लिची, केरा, स्याउ, अम्बाका छन् । सबैभन्दा कम रोपिएको फलफूलमा भुइँकटहरका ५ मात्र छन् ।

जिल्लागत रूपमा सबैभन्दा बढी फलफूलका बिरुवा रोप्ने जिल्लामा क्रमशः लमजुङ, रोल्पा, पर्वत, उदयपुर र कास्की रहेका छन् । लमजुङमा तीन लाख ८१ हजार ८ सय ६७ बिरुवा रोपिएका थिए । रोल्पामा दुई लाख १३ हजार ३ सय १५, पर्वतमा १ लाख ७० हजार ९ सय ६४, उदयपुरमा १ लाख आठ हजार ४ सय ४५ र कास्कीमा १ लाख ३ हजार २ सय ६५ बिरुवा रोपिएका थिए । न्यून संख्यामा फलफूलका बिरुवा रोप्ने पाँच जिल्लामा क्रमशः मुस्ताङ, बैतडी, सल्यान, मनाङ र तेह्रथुम रहेका छन् । ती जिल्लामा क्रमशः १३, १७, ५५, ५६ र ६० फलफूलका बिरुवा रोपिएका थिए । 

वृक्षरोपण अभियानले गत वर्ष २०७५ मै गति लिइसकेको थियो भने सरकारले यसलाई अभियानको रूपमा लैजाने तदारुकता देखाएको हो । यस वर्षदेखि असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवस मनाउने घोषणासँगै विभिन्न निकाय तथा जनप्रतिनिधिको प्रयासमा ठूलो संख्यामा देशभर बिरुवा रोपिएका छन् ।

वृक्षरोपणमा सेनालगायतका सुरक्षाकर्मीले गर्ने भूमिका प्रभावकारी देखिएको प्रध्रानमन्त्री कार्यालयका प्रवक्ता कँुवर बताउँछन् । उनीहरूले बिरुवा रोप्ने मात्र नभई संरक्षण पनि गर्ने र हुर्कन नसकेका ठाउँमा नयाँ बिरुवा ल्याई रोप्नेसमेत गर्ने भएकाले वृक्षरोपण प्रभावकारी हुने गरेको छ । 

प्रधानमन्त्री ओलीले लुम्बिनीमा गौतमबुद्ध फलफूल वाटिका बन्ने गरी फलफूलका बिरुवा रोप्न आह्वान गरेपछि लुम्बिनीमा पनि फलफूलका बिरुवा रोपिएका छन् । त्यहाँ सेनाले मात्र पाँच हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ । 

लुम्बिनी भ्रमण गर्ने देशी विदेशी भक्तजनले लुम्बिनीमै फलेका फलफूल प्रसादका रूपमा लैजान पाउन् भनेर यहाँ पनि यो अभियान चलाइएको प्रवक्ता कुँवरले बताए । प्रधानमन्त्रीको फलफूल तथा प्रांगारिक खेतीतर्फको झुकावले नेपालको वृक्षरोपण फलफूल रोपणतर्फ मोडिएको छ र यसले अन्ततः नेपालको वातावरण संरक्षणका साथै समृद्घिलाई पनि सघाउने विश्वास गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर