• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 07:22 pm

‘युद्धका ती दिन’ : नयाँ पुस्ताका लागि पठनीय इतिहास [पुस्तक समिक्षा]

गत महिना विमोचन भएको पत्रकार संगीता खड्काको ‘युद्धका ती दिन ः एक पत्रकारको भोगाइ’ पुस्तक पढ्ने सुअवसर मिल्यो । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विमोचन गरिएको प्रस्तुत पुस्तक पढिसकेपछि मनमा उब्जिएको एक प्रश्न हो– ‘म पनि युद्ध हुँदाहुँदैको देशमा जन्मिएर हुर्केको नागरिक हुँ र ?’

कुनै पनि मानिसको वर्तमानमा घटेका हरेक क्षण आगामी पुस्ताका लागि पठनीय इतिहास बन्छन् नै । लेखक तथा पत्रकार खड्काको जीवन भोगाइको शृंखलालाई नजिकबाट नियाल्दा उनले वास्तविक जीवनका भोगाइ नै पठनीय इतिहास बनेको महसुस गर्न पाएँ । तत्कालीन नेकपा माओवादीले भूमिगत रूपमा सुरु गरेको सशस्त्र विद्रोहको हिंसात्मक राजनीतिको एउटा पाटोलाई पुस्तकमा सविस्तार वर्णन गरिएको छ । 

‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ मा संकटकालको समयदेखि शान्ति प्रक्रियासम्म आउँदा आफू र अन्य पत्रकारको भोगाइ तथा जेल जीवनको स्मरण सिलसिलाबद्ध ढंगले प्रस्तुत गरिएको छ । 

काठमाडौंमा जन्मेहुर्केकी एक युवतीका लागि पत्रकारितासँगैको माओवादी राजनीति तत्कालीन समयका लागि चुनौतीको विषय थियो नै, तिनै चुनौतीलाई दबाब दिँदै माओवादी राजनीतिमा प्रवेश गरेकी खड्काले प्रतिबन्धित अवस्थामा आफूले भोगेको तितो यथार्थलाई आङ सिरिंग हुने गरी पुस्तकमा प्रस्तुति दिएकी छिन् । माओवादी विद्रोहको दसवर्षे जनयुद्धलाई एउटा घटना मात्र सोच्ने जोकोहीका लागि पनि पत्रकार खड्काको पुस्तक गतिलो पाठ हुने मेरो विश्वास छ ।

माओवादी जनयुद्धका चर्चित पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’को निडर स्वभाव, युद्धप्रतिको बफादारीजस्ता विषयलाई पुस्तकमा गरिएको वर्णनले पुस्तकलाई पूर्ण गराएको छ । 

सरकारद्वारा प्रतिबन्धित भएको माओवादीका युद्धसम्बन्धी सामग्री प्रकाशन गरेबापत जेल परेका इच्छुकको जेलमै हत्या भयो । भौतिक जीवनलाई केन्द्रमा राखेर माओवादी जनयुद्धको सविस्तार वर्णनले पुस्तक पढ्दा कत्ति पनि अल्छि महसुस हुँदैन । बरु माओवादी जनयुद्धसँग जोडिएका अनेकन इतिहासको बारेमा बुझ्ने मन जागेर आउँछ । 

सेना र प्रहरीबाट हिरासतमा हुँदा पाएको यातनालाई पत्रकार खड्काले मनै झसंग हुने गरी प्रस्तुत गरेकी छिन् । हिरासतमा हुँदा कतिपय प्रहरी वा अन्य समयमा गरेको सहयोगले भने मन खुसी बनाउँथ्यो । 

युद्ध पत्रकारिता गरेकी संगीताले पुस्तकमा उल्लेख गरेका केही महत्त्वपूर्ण व्यक्ति अहिले दुई तिहाइको सरकारमा छन् । सँगै युद्धमा होमिएका आफ्ना कमान्डरहरूले सरकारको नेतृत्व गरिरहँदा केही पत्रकार तथा लेखक जेलमा थुनिरहेका छन् भन्ने तितो यथार्थ मनमा उब्जँदा भने नरमाइलो लाग्छ । पुस्तकमा प्रस्तुत भएका कहालीलाग्दा क्षणले मन अहिले पनि हल्लिरहेको प्रतीत हुन्छ । 

संगीतालाई भेट्न बोलाएर प्रहरीको जिम्मा लगाएर पठाउने सहकर्मीको हर्कतले मनै नरमाइलो बनायो । सरकारले प्रतिबन्ध गरेको हरेक कुराहरूलाई सहजै चिर्दै जेलनेल भोग्दै परिवर्तनका लागि भनेर हिमाल पहाड तराईका जंगलमा बिताएका हरेक रातहरूलाई पाठकले सहजै बुझ्न सक्ने गरी लेखकले पुस्तकमा प्रस्तुत गरेकी छिन् । हिरासतमा प्रहरीले गरेको अमानवीय व्यवहारलाई शब्दमा उतार्ने लेखको साहसलाई मान्नैपर्छ । माओवादी जनयुद्धलाई ‘इतिहास’ मा मात्र सीमित हुन नदिएर जीवन्त बचाइराख्न पुस्तकले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । 

युद्धमा एक पत्रकारको भोगाइलाई पुस्तकमा कुनै हिचकिचाहटविना नै विस्तार गरिएको छ । पत्रकारिता के हो ? पत्रकारको काम के हो ? प्यासन के हो ? र एक पत्रकारको जिम्मेवारी के हो ? भन्ने प्रश्नहरूको जवाफ उनको जीवन भोगाइबाट प्रस्ट बुझ्न सकिन्छ । खड्काको साहस र अविचलित यात्राले उनलाई युद्धको पत्रकार बन्न सफल बनायो । युद्धको बेलामा खड्कासहित गिरफ्तारीमा पर्दा जेलभित्रबाटै सूचना सम्प्रेषण हुने गरेको प्रसंग सामान्य होइनन् भन्ने बुझिन्छ । 

तत्कालीन युद्धको समयमा भएका घटना र त्यसलाई गरिएको प्रस्तुतिको भाषालाई हेर्दा खोज पत्रकारिताका बारेमा बुझ्न केही हदसम्म सहयोग गरेको छ । पुस्तकमा सञ्चारगृहसँग तत्कालीन कमान्डरहरू कसरी जोडिएका थिए वा शीर्ष तहका नेताहरूले लिएको मिडिया पोलिसीका बारेमा कम चर्चा भएको हो कि भन्ने महसुस गराउँछ । 

कृष्ण सेन इच्छुकको गिरफ्तारीपश्चात् सञ्चारगृह सञ्चालनमा देखिएको समस्यालाई पुस्तकमा समावेश गरिएको छ । शीर्ष तहका नेताहरूले तत्कालीन समयमा मिडियाको अधिकमत प्रयोगबाट सरकारसमक्ष आफ्ना बोलीहरू बुलन्द गर्ने रणनीति कसरी लिएका थिए भन्ने विषयलाई पनि चर्चामा राखेको भए पुस्तक अझै पूर्ण हुन्थ्यो । 

समग्रमा एक लडाकुको जेल जीवन, जेलभित्रका साथीभाइ, प्रहरीको दमन, पार्टीप्रतिको वफादारिता, महिला भएर युद्ध लड्नुको पीडा, परिवार, जीवनसाथी, मृत्यु, आदेश, उद्देश्य, सफलताजस्ता विषयलाई पुस्तकमा पठनयोग्य तरिकाले प्रस्तुत भएको ऐतिहासिक पुस्तक हो, ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बार्दलीको एउटा अनुहार

  • ३० कार्तिक, २०७६

अरू बिसौनीमा दुई मिनेट रोक्ने बस, ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै

फर्केर हेर्दा

  • ३० कार्तिक, २०७६

सधैँभरि फर्केर हेरिँदैन । सधैँभरि त अगाडि गइन्छ, जान खोजिन्छ । ‘खोज्नु’मा गति छ, गतिमा प्रगति छ तर पुग्नु यी कुनैमा छैन, कहीँ छैन । हुँदो हो त सन्तोष

साँच्चै हो

  • ३० कार्तिक, २०७६

सदियौँदेखि ब्रह्मपुत्रका ताता बालुवामा र असमका बाह्र जिल्लामा अनि  शिलाङका काला कोइलाखानीहरूमा दिनौँ रगटिँदा स्फटिक ती सेतै