• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रदूषित पानीले झाडाबान्ताका बिरामी बढे

चितवन । वर्षात् सुरु भएसँगै दूषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडाबान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ ।
 
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात–आठ झाडाबान्ताका बिरामी आउन थालेका छन् । प्रदूषित पानीसँगै भारतबाट आयातीत आँपका कारण रोग देखापरेको डा. अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडाबान्ताका बिरामी आउन थालेका छन् । 

दूषित पानीका कारण झाडाबान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडाबान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताए । झाडाबान्ताले शरीरमा हुने पौष्टिक तत्त्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ ।

संक्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरंग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उनले बताए । 
बाहिरको पानी प्रदूषित हुन सक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उनले जानकारी दिए ।  

तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ । 

२४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदूषित पानी पस्न सक्ने सम्भावना रहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख इ. नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदूषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उनले जानकारी दिए ।

दूषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर