• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संसद् सरकारको छायाको रूपमा सीमित हँुदै गयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् सरकारको छायाको रूपमा सीमित हँुदै गएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाको रूपमा सीमित भएको संसद्का सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । 

नेता थापाले सरकारले प्रतिपक्षी दललाई पेलेर जाने नियत राखेको र त्यसलाई सभामुखले अनुसरण गरेको टिप्पणी गरे । उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए । 

नेता थापाले भने, ‘एकपटक फेरि नेपालको संसद् नेपालको सरकारको छायाको रूपमा सीमित रहेको छ । सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसद्प्रति सांसदकै भरोसा टुट्छ भने आमव्यक्तिको भरोसा के रहन्छ ? पेलेर जाने रबैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन–प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद् चल्ने कुरामा हाम्रो सहयोग रहँदैन । सरकारले यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ ।”

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशन पछि हटेको दाबी सांसद थापाले गरे । उनले भने, ‘संसदीय छानबिन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरूले हामी तयार छैनौं भन्नुभयो, कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरूले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो । कम्तीमा हामी एकजना सांसदले कुरा राख्छांै भन्दा कुरा समेत पनि राख्न नदिने । किनकि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्योचाहिँ आदेश पालना गरेजस्तो भयो ।

नेता थापाले दुई भिन्नभिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफुहरूले संसदीय छानविन समिति गठनको माग गरेको स्पष्ट पारे ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छानबिन समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए ।

कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेर उभिईरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरूले रोस्टम घेराउ गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर