प्रदेशका मन्त्रीहरूबीच अनियमितताको प्रतिस्पर्धा चलिरहेको छ : पूर्वमन्त्री यादव

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश दुई सरकारका मन्त्रीहरुबीचमा अनियमितता गर्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले जनकपुरधाममा  पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेश दुईका मन्त्रीहरूबीच कसले कति अनियमितता गर्न सक्छ भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाए । उनले मन्त्रीहरूबीच विकास निर्माणमा लाग्नु भन्दा पनि कसरी आफ्नो ढुकुटी भर्ने भनेर प्रतिस्पर्धा नै चलिरहेको अरोप लगाए ।  

प्रदेश सरकार भ्रष्ट प्रदेशको रूपमा चिनिन थालेको बताउँदै उनले संघीयतालाई प्रदेश २ सरकारले बदनाम गर्न लागिपरेको आरोप लगाए । प्रदेश सरकारले पुरानै जिविसको शैलीमा अनियमित तरिकाले बजेट विनियोजन गरेको उनले बताए । 

पूर्वमन्त्री यादवले असारे बजेटको नाउँमा उपभोक्ता समितिमार्फत प्रदेश सरकारका मन्त्रीहरूले आफ्ना कार्यकर्ता पाल्ने काम मात्र गरेको आरोप पनि लगाए । उपभोक्ता समितिको उद्देश्य ठीक रहे पनि गठन प्रक्रिया गलत रहेको उनले बताए । प्रदेशका मन्त्रीहरूले आसेपासेलाई उपभोक्ता समितिमा राखेर कमसल खालको काम गर्ने तथा बजेट दुरुपयोग गर्ने गरेको यादवले आरोप लगाए । 

आर्थिक वर्षको ११ महिनामा १३ प्रतिशत मात्र विकास बजेट खर्च गरेको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनामा ४ अर्बभन्दा बढी बजेट कसरी खर्च भयो भन्ने यादवले प्रश्न गरे ।

प्रदेश सरकार पूर्ण रुपमा भ्रष्टाचारमा लिप्त रहेकाले अख्तियारले प्रदेश सरकारको क्रियाकलापमाथि छानबिन गर्नुपर्ने उनले माग राखे । 
राजनीतिक रूपमा समेत सरकार अग्रसरता देखाउन नसकेको आरोप लगाउँदै उनले संघ सरकारलाई गाली गरेर प्रदेश सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर