• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

विषादी प्रकरण : अन्ततः प्रम ओलीले भने– ‘लज्जित छु, क्षमा चाहन्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताएका छन् । प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनुपरेको उल्लेख गर्दै माफीसमेत मागेका छन् । 

प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनतासामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको पनि स्पष्ट पारे ।

‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रूपमै बोलेँ, प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्याे, त्यसप्रति क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफू मात्र भएको दाबी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिबद्धता जनाए । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने उनले दाबी गरे । 

प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चारमाध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

उनले कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए । उनले भने, ‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो, देशका सबै सडक कालोपत्रे गर्न सकिनछु ।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने भन्नुभयो, ‘धन्य छ, मिसन पत्रकारिता ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि दोहोर्याए। प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताए । उनले स्थानीय सरकार प्रदेशको मातहत रहेको पनि स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले संविधानले सुरक्षा, परराष्ट्र मामिला तथा आर्थिक अधिकारका विषय संघीय सरकारअन्तर्गत सञ्चालित हुने भनेर प्रदेश सरकारलाई संघीय सरकारकै मातहतमा राखेको पनि स्मरण गराए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर