धकेलियो मौद्रिक नीति सार्वजानिक हुने मिति, कहिले आउला !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भोलि अर्थात् असार २७ गते सार्वजानिक गर्ने भनिएको मौद्रिक नीतिको समय धकेलिएको छ । संघीय संसदबाट बजेट पनि पारित भइनसकेको र मौद्रिक नीतिबारे थप छलफल आवश्यक परेको हुनाले मौद्रिक नीति अघिल्लो वर्षको तुलनामा केही ढिला गरी आउने भएको हो । 

चालू आर्थिक वर्षको मौद्रिक नीति सरकारले गत असार २७ गते ल्याएको थियो । 

गभर्नर चिरञ्जीवी नेपालले समेत यसअघि चर्चामा आएको जस्तो असार २७ गते नै मौद्रिक नीति सार्वजानिक नहुने संकेत गरेका छन् । उनले संसदबाट बजेट पनि पारित भइनसकेको अवस्थामा भोलि नै मौद्रिक नीति नआउने बताए । 

पूर्वगभर्नरसँग छलफल गर्दै राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा राष्ट्र बैंकले पूर्वगभर्नरसँग छलफल थालेको छ । बिहीबार राजधानीको होटल र्याडीसनमा दिउँसो साढे १ बजेदेखि छलफल सुरु भएको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिका सम्बन्धमा पहिलोपटक पूर्वगभर्नरहरूसँग छलफल हुने भएको हो । केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पूर्वगभर्नरहरूसँग छलफल कार्यक्रम सुरु भएको जानकारी दिए । 'आगामी मौद्रिक नीतिका सन्दर्भमा पूर्वगभर्नरसँग राय सुझाव लिन कार्यक्रम आयोजना गरिएको हो ।' समाचार दैनिकसँगको कुराकानीमा उनले भने । 

राष्ट्र बैंकले यसअघि सोमबार उद्योगी, व्यवसायी साथै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको थियो ।

सर्वाधिक चासोमा बिग मर्जर

मौद्रिक नीति सार्वजानिक हुने दिन नजिकिँदै गर्दा बिग मर्जरको विषयले निकै तरंग उत्पन्न गरेको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उदेश्यसहित ल्याउन लागिएको बिग मर्जरको विषयलाई निकै महत्त्वका साथ हेरिएको छ । गभर्नर नेपालले फोर्सफुल्ली मर्जरको संकेत गरिरहँदा बैंकरहरू भने मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहित गर्नुपर्ने बताउँछन् ।  

कहिले आउला मौद्रिक नीति ?

यसअघि असार २७ गते मौद्रिक नीति ल्याउने चर्चा चलेपनि सो मितिमा सार्वजानिक नहुने देखिएको छ । एकातिर मौद्रिक नीतिका सम्बन्धमा राष्ट्र बैंक छलफलकै क्रममा रहेको छ भने अर्कोतर्फ संसदबाट बजेट पारित हुन समेत बाँकी छ । राष्ट्र बैंक स्रोत पनि मौद्रिक नीतिको तयारी पुरा भइनसकेको बताउँछ । 

यता, राष्ट्र बैंक सञ्चालक समितिका सदस्य तथा अर्थमन्त्रालयका प्रतिनिधि अर्थसचिव डा. राजन खनाल पनि देशबाहिर छन् । सञ्चालक समितिको महत्वपूर्ण सदस्यको उपस्थितिबिना मौद्रिक नीति तत्काल आउन नसक्ने कतिपयको तर्क छ । स्रोतका अनुसार आगामी आर्थिक वर्ष साउनको पहिलो साता मौद्रिक नीति सार्वजानिक हुने भएको छ । 

छुटाउनु भयो कि

 

कस्तो मौद्रिक नीति चाहन्छन् बैंकहरु !

बैंक तथा वित्तीय संस्था एकैसाथ मर्जरमा गए के होला सेयर बजार ?

सहुलियतपूर्ण कर्जामा देखिएन आकर्षण, १६ जनाले मात्रै लिए शैक्षिक कर्जा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर