• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाकिस्तानमा रेल जुध्यो, १० को मृत्यु, ६० बढी घाइते

तस्विर : वेब

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ)मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए ।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताए ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर