• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विप्लव समूह सशस्त्र हिंसामा आउँछ भने सरकारले त्यस्तै जवाफ दिन्छ : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपछी विकास मन्त्री चक्रपाणि खनालले विप्लव समूह सशस्त्र हिंसामा आउँछ भने सरकारले पनि त्यस्तै जवाफ दिने बताएका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले यदि विप्लव समूह वार्तामा आउन चाहन्छ भने सरकारले वार्ताको लागि ढोका खुल्ला राख्ने स्पष्ट पारे । उनले भने, ‘विप्लव समूह कमसेकम हिंसा त्यागेर वार्तामा आउनुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्रका सन्दर्भमा उठाइएको प्रश्नका बारे स्पष्ट पारेका छन् । उनले भने, ‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो । हामीलाई पनि बोधार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लुटिआअनुसार पत्र आएको हो । यो सामान्य पत्र हो, तर यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’

मन्त्री खनालले विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको सुनाए । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरूको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नति गर्ने पनि उनले विश्वास दिलाए ।
मन्त्री खनालले अहिले पनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको सुनाए । उनले भने, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिबेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’

काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरू रहेका मन्त्री खनालले सुनाए । उनले भने, ‘तर, ती सबै ल्याब अहिले सञ्चालनमा छन् भनेर म भन्दिनँ । भएका ल्याब सञ्चालन गर्न म्यानपावरको समस्या छ ।’

भारतबाट मात्र नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए । सर्वोच्च अदालतले हिजो मात्र विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरूले पालना गर्ने पनि उनले विश्वास दिलाए । उनले भने, ‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’
विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाइसकेको पनि उनले जनाए । उनले भने, ‘खरिद प्रक्रिया पूरा गर्न अझै कम्तिमा पनि ६ महिना र बढिमा दश महिना लाग्छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर