• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पुर्वमा विप्लव समूह : गतिविधि उत्तेजक, अवस्था रक्षात्मक !

वार्ताबाट समाधान खोज्न मन्त्री कार्कीको आग्रह

विराटनगर । केही समय यता प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाहरुमा नेत्रविक्रम चन्द(विप्लव) समूहको गतिविधि बढेकाे देखिएपनि सुरक्षाको दृष्टिले नियन्त्रण बाहिर जाने अवस्था नरहेको बताइएको छ । यि तीन जिल्ला बाहेक खोटाङ र ओखलढुंगाको पूर्वी क्षेत्रमा सो समूहको गतिविधि अन्यत्रको तुलनामा बढी देखिएको छ । तर ठूलो र संगठित सैन्य समूह भने कतैपनि नदेखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता किशोरकुमार दाहालले बताएका छन् । 

प्रदेशका जिल्लाहरुमा खटिएका सुरक्षा संयन्त्रले सो समूहका हरेक कृयाकलाप र गतिविधिहरुलाई नजिकबाट नियालिरहेको छ । उनीहरुका धेरै सूचना सुरक्षा निकायको पहुँचमै रहेको बताइएको छ । प्रवक्ता दाहालका अनुसार ‘अहिलेसम्म ५–७ जनाको समूह बनाएर केही गाउँबस्तीमा उनीहरु हिड्ने गरेको पाइएको छ भने १०–१२ जनाको समूहभन्दा बढी संख्यामा उनीहरु कतै देखापरेको सूचना छैन ।’ 

मकालु बरुण राष्ट्रिय निकुञ्ज वपरपरिको क्षेत्रलाई आधार बनाएर उनीहरुका गतिविधि देखिएको र ति क्षेत्रमा केही हतियारसहितको एउटा समूहको गतिविधि बारेपनि प्रहरी जानकार देखिएको छ । संख्या थोरै भएपनि उनीहरुसँग केही आधुनिक हतियार भएकोले घातक हुनसक्ने आंकलनसहित सुरक्षा निकायले नियमित निगरानी गर्दै आएको जनाएको छ । ‘गाउँ वस्तीबाट आएका सूचनाका आधारमा उनीहरुको संख्या खास बढेको छैन,’ प्रवक्ता दाहालले भने ‘उनीहरुसँग रहेका हतियारले क्षति गर्न सक्छ त्यो संवेदनशिलता बुझेर सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

दुई महिनाको अन्तरालमा विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा प्रदेश १ मा एक प्रहरीसहित तीन जनाको ज्यान गएको छ । पहिलो पटक दुई महिना अघि भोजपुरको मैयुङ्ग क्षेत्रमा भएको भिडन्तमा तिर्थ घिमिरेको मृत्यु भएको थियो । बुधबार मात्र भोजपुर सदरमुकाममा प्रहरी जवान संजिव राई र विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको गोली लागेर मृत्यु भयो । घटनामा अर्का प्रहरी जवान सोम भट्टराई गोली लागेर घाइते छन् । 

विप्लव समूहका १२ थान हतियार बरामद
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फागुन महिनादेखि असार तेस्रो सातासम्म विप्लव समूहका कार्यकर्ताहरुबाट १२ थान हतियार प्रहरीले बरामद गरेको छ । सुनसरीको धरान स्थित पानबारीमा एक थान एलएमजि र एक थान एम १६ राइफलसहित विभिन्न प्रकारका १२ थान हतियार प्रहरीले बरामद गरेको छ । सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिवन्ध लगाएपछि प्रदेश १ बाट दुई दर्जन बढी जिल्ला तथा प्रदेश तहका नेताहरु पक्राउ परिसकेका छन् । 

प्रभावित क्षेत्र 
पछिल्लो समय विप्लव समूहको गतिविधि सगरमाथा र कोशी अञ्चलका पाँच जिल्लामा अलि बढि देखिएको छ । यो बाहेक पाँचथर जिल्लामा पनि सो समूहको गतिविधि अलि बढी रहेको सूचना सुरक्षा निकायले पाएको छ । त्यससँगै झापा र मोरङको माथिल्लो क्षेत्रमा पनि उनीहरुको प्रभाव देखिएको बताइएको छ । 

संख्या नबढेको सुरक्षा निकायको दावी 
विप्लव समूहको गतिविधि बढेको जस्तो देखिएपनि यथार्थमा त्यस्तो भने छैन । सोलुखुम्बुमा प्रहरी चौकी नियन्त्रणमा लिने प्रयास, भोजपुरमा यस अघि भएको सुरक्षाकर्मी र सो समूहको जम्काभेट, संखुवासभाको सिलिचोङ गाँउपालिकामा भएको जम्काभेट पछिको दोहोरो फाइरिङका घटना भएको छ । भोजपुर सदरमुकाममा बुधबार बिहान दुई जनाको ज्यान जाने गरी भएको घटनाको तुलनामा अन्य घटना सामान्य नै हुन् । 

सरकारले विप्लव समूहको हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाएपछि अन्य पार्टी छोडेर विप्लव समूहमा प्रवेश गरेको सूचना सुरक्षा निकायसँग छैन । अन्य सार्वजनिक सञ्चार माध्यमबाट पनि त्यस प्रकारको सूचना प्रवाह भएको देखिदैन । जनताको समर्थन सो समूहप्रति आकर्षित हुनेगरिका कार्यक्रमहरु पनि उनीहरुले गरेका छैनन् । यो बीचमा दुई पटक नेपाल बन्दको आव्हान गरेको भएपनि त्यसप्रति जनताको समर्थन भन्दा विरोध र आलोचना नै बढी देखिएको थियो । त्यसले पनि उनीहरुप्रति जनता आकर्षित भइहाल्ने अवस्था देखिदैन । 

प्रदेश १ को कुरा गर्ने हो भने सो समूहका प्रभावशाली नेता पदम राई नेकपा प्रवेश गरेका छन् । भोजपुर जिल्लाका प्रभावशाली नेताकोरुपमा चिनिएका राईको प्रवेशले पूर्वमा सो समूह झनै कमजोर भएको सुरक्षा विश्लेषण छ । त्यस्तै अर्का नेता किरण राई पनि यतिबेला धरानमा निष्कृय छन् । किरण नाताले पदमका भाइ हुन् ।

त्यसले पनि प्रदेश १ मा विप्लव समूहको विकास भन्दा उनीहरु रक्षात्मक अवस्था तिर नै गइरहेको देखिन्छ । यो अवधिमा जनताहरुलाई सहभागि गराएर जनसभा वा यस्तै प्रकारको कुनैपनि कृयाकलाप उनीहरुले गरेका छैनन् जसले संगठन विस्तारपनि खास नभएको अनुमान गर्न सकिन्छ । यद्यपी जनतालाई भ्रममा पार्नकालागि सो समूहले जनयुद्धकालिन तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने र प्रचार गर्ने गरेको सुरक्षा निकायको दावी छ । 

धरानमा पोष्टमार्टम 
बुधबार भोजपुरमा विप्लव समूहको गोली लागेर मृत्यु भएका प्रहरी जवान संजिव राईको शव पोष्टमार्टमकालागि सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । राईकी  श्रीमती सुनसरीको इटहरीमा बस्दै आएको र शव यतै ल्याइदिन आग्रह भएछि घोपामै पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । 

वार्ताबाट समाधान खोजौं : मन्त्री काकी 
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान भित्र बसेर आफ्ना राजनीतिक अभियान अघि बढाउन र वार्ताको माध्यमबाट समाधान खोज्न विप्लव समूहलाई आग्रह गरेका छन् ।
 
‘अहिलेसम्म राज्य संयमित छ र हामी वार्ता र सम्वादकै माध्यमबाट समस्याको समाधान चाहान्छौं,’ मन्त्री कार्कीले भने –‘संविधान विपरितका हिंसात्मक गतिविधिहरु राज्यले नियन्त्रण गर्छ ।’ उनले विकास र समृद्धिको यात्रा तय गर्ने बेलामा मर्ने र मार्ने हिंसात्मक गतिविधिमा कसैले पनि लाग्न नहुने बताएका छन् । 

भोजपुरमा बुधबार एकजना सुरक्षाकर्मी र एक जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी दुःखद घटना भएको भन्दै संविधान भित्रैबाट समस्याको समाधान खोज्नकालागि मन्त्री कार्कीले आग्रह गरेका हुन् । उनले जुनसुकै अवस्थामा पनि मानिस मर्ने कुरा बेठिक हुने बताए ।

विप्लव समूहका गतिविधिहरुको बारेमा सुरक्षा निकायसँग प्रयाप्त सूचना रहेको तर राज्य संयमित र जिम्मेवार भएर प्रस्तुत भइरहेको पनि मन्त्री कार्कीले बताए ।

प्रदेश प्रहरी गठन भइनसकेको अवस्थामा प्रदेश सरकारले सो समूहको गतिविधि नियन्त्रणकालागि छुट्टै योजना नबनाएको बताए । ‘हामीले संघीय सरकारको सुरक्षा योजना कार्यान्वयनमै सहयोग गर्दै आएका छौं,’ मन्त्री कार्कीले भने–‘हामीसँग आफ्नै सुरक्षाकर्मी छैन त्यो अवस्थामा भिन्दै योजना बनाउने नभई संघीय सुरक्षा योजनामा नै सहयोग गर्छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर