• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यसरी हुन्छ घुस लेनदेन, प्राविधिक कर्मचारी घुस लिदै प्रतिवेदन दिँदै [भिडियोसहित]

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका इन्जिनियरले उपभोक्ता समितिसँग घुस लिएर प्राविधिक रिपोर्ट दिने गरेको खुलासा भएको छ । उनले घुस लिदै गरेको भिडियो बाहिरिएपछि त्यस्तो तथ्य खुलासा भएको हो ।

नियमित योजना अन्तरगत उपभोक्ता समिति मार्फत भएको निर्माण कार्य सम्पन्न प्रतिवेदन दिनु अघि प्राविधिक रिपोर्ट आवश्यक पर्ने भएकोले प्राविधिकहरुले उपभोक्तासँग घुस लिने गरेको तथ्य बाहिरिएको हो । यसै क्रममा घुस लिएर बाटो पास गरिदिने गरेको ३ मिनेट ४२ सकेण्ड लामो भिडियो फेला परेको छ ।

मापदण्ड विपरित बनेका सडकको अन्तिम किस्ता लिन जाने उपभोक्ता समितिसँग रकम दिएपछि मात्रै इन्जिनियरहरुले हस्ताक्षर गर्ने गरेको भिडियो सार्वजानिक भएसँगै घुस लिएर बाटो पास गर्ने खुलेको हो ।

कटहरी गाउँपालिका–२ नम्बर वडाको कदम टोलिदेखि साझा मार्ग ९होलाई मार्ग० को ७६६ मिटर बाटो पास गर्नका लागि सव–इन्जिनियर खेमराज सुवेदीले ५० हजार रुपिँया लिएको आरोप लागेको छ । कार्यालयमै उपभोक्ता समितिमार्फत ५० हजार रुपिँया बुझेको भिडियो बाहिएसँगै स्थानीयले तत्काल कारवाहीको माग समेत गरेका छन् ।

गाउँपालिकाको १५ लाख रुपिँया र श्रमदानसहित १७ लाख रुपिँयाले ७६६ मिटर सडकमा माटो पुर्ने, ग्राभेल गर्ने र दुईसय मिटरसम्म एकतर्फी रिटेनिङ वाल लगाउनु पर्ने थियो । यो सडककोे अनुगमनको जिम्मेवारी वडा सदस्य जयप्रकाश पासवानलाई दिइएको थियो । पासवानको समेत मिलेमतोमा प्राविधिक पास गर्ने इन्जिनियरहरुले रकम बुझेर बाँडफाँड गर्ने गरेको स्थानीयको दावी छ ।

वडा सदस्यले सडक योजना बाँडफाँड गरेर निर्माणको अनुगमन गर्ने जिम्मेवारी लिइएका अधिकांश योजना पास गराउनका लागि इन्जिनियरलाई रकम दिइएको समेत खुलेको छ ।

कटहरी गाउँपालिका–२ वडाकार्यपालिका प्रतिनिधिले सडक योजना बाँडफाँड गरेर उपभोक्ता समितिमार्फत निर्माण तथा स्तरोन्नती गरेका सबै सडक कमसल निर्माण गरेर घुस दिदैं पास गर्दै गरिएको स्थानीयको आरोप छ ।

सव–इन्जिनियर सुवेदीले बाटो पास गर्नका लागि इन्जिनियर प्रकाश गुप्ता र गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलाई समेत मिलाउनु पर्ने भन्दै रकम माग गर्दै आएका छन् । तर, सुवेदीले भने आफूलाई फसाउने नियतले भिडियो खिचिएको भन्दै राम्रो काम गर्नेलाई सबैले खेद्ने गरेको दावी गरे । उनले झुक्याएर भिडियो बनाइएकोले समाचारको विषय नबनाई दिन आग्रह समेत गरे । ‘मलाई फसाउन खोजिएको रहेछ, समाचार नबनाई दिनुहोस्, बरु भरे भेट्छु’ सुवेदीले भने–‘मैले रकम मागेर दिइएको हैन ।’

निर्वाचित चारजना वडा सदस्यले अनुगमनको जिम्मा लिएका चारवटा सडक योजना कमसल र गुणस्तरहिन भएपछि स्थानीयले विरोध गर्दै आएका थिए । अनुगमन गर्ने जिम्मेवारी पाएका प्रतिनिधि र प्राविधिकको मिलेमतो रहेको आशंका गर्दै यस अगाडी समेत छानविनका लागि माग गरिएको थियो ।

गाउँपालिकाले सडक निर्माणका लागि २० फिटको मापदण्ड निर्धारण गरेको छ । ढल तथा नाला बाहेक २० फिटको बाटो बन्नुपर्ने भएपनि १६ फिटका बाटाहरुमा ग्राभेल गरिएको र कमसल निर्माण गरिएको स्थानीयको आरोप, अन्तिम किस्ता लिदाँ सव–इन्जिनियर सुवेदीले घुस लिएसँगै प्रमाणित समेत भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर