• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकप क्रिकेटकाे इतिहास : कसको कति उपलब्धि ?

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा नयाँ इतिहास रचिएको छ । इंल्यान्डले विश्वकप जितेसँगै क्रिकेट इतिहासमा नयाँ नाम लेखिएकाे हाे । सन् १९७५ देखि लगातार एकदिवसीय विश्वकप खेलिरहेको इंल्यान्डले पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो । सन् १९९२ मा विश्वकपको फाइनल खेलेयता इंल्यान्डले विश्वकपको फाइनल खेल्न पाएको थिएन । सो विश्वकपमा इंल्यान्ड पाकिकस्तानसँग २२ रनले पराजित भएको थियो ।

कसले कतिपटक जिते विश्वकप क्रिकेट ?

एकदिवसीय विश्वकप क्रिकेटमा सन् १९७५ देखि अहिलेसम्म १२ वटा प्रतियोगिता आयोजना भएका छन् । विश्वकप क्रिकेट इतिहासमा अस्ट्रेलियाले सबभन्दा बढी उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी पाँचपटक विश्वकपको ट्रफी उचालेको छ । 

सन् १९८७ को विश्वकपमा अस्ट्रेलियाले इंल्यान्डमाथि ७ रनको जित निकाल्दै उपाधि कब्जा गरेको थियो । त्यस्तै, सन् १९९९ मा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि चुमेको हो । त्यसपछि विश्वकपमा भारतलाई १२५ रनले हराउँदै अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि कब्जा गर्यो ।

सन् २००७ मा उपाधिमाथि ह्याट्रिक गरेको अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, सन् २०१५ मा अस्ट्रेलियालाई न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दैै उपाधिमाथि कब्जा जमाएको थियो ।

एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले पाँचपटक विश्वकप जितेर सबभन्दा बढी उपाधि जित्ने श्रेय लिइरहेको छ । वेस्ट इन्डिज र भारतले समान दुईपटक विश्वकपको ट्रफी उचालेका छन् । पाकिस्तान, श्रीलंका र इंल्यान्डले समान एकपटक विश्वकपको ट्रफी उचालेका छन् । 

एकदिवसीय विश्वकप क्रिकेटको पहिलो उपाधि भने वेस्ट इन्डिजले जितेको हो । सन् १९७५ मा भएको पहिलो विश्वकपमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको थियो । त्यसपछि (सन् १९७९) को विश्वकप पनि वेस्ट इन्डिजले जितेको थियो । सो प्रतियोगितामा उसले इंल्यान्डलाई ९२ रनले पराजित गरेको थियो । 

विश्वकप क्रिकेटमा एसियाले चारपटक उपाधि उचालेको छ । यसमध्ये भारतले दुईपटक र पाकिस्तान र इंल्यान्डले समान एकपटक उपाधिमाथि कब्जा जमाएका छन् । भारतले सन् १९८३ मा पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी उचालेको हो । भारतले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो । कपिल देवको कप्तानीमा उत्रिएको भारतले सो विश्ककपमा सनसनीपूर्ण जित निकालेको थियो । 

भारतले सन् २०११ मा दोस्रोपटक विश्वकपको उपाधि चुम्यो । सो विश्वकपमा महेन्द्रसिहं धोनीको कप्तानीमा रहेको भारतले श्रीलंकामाथि ६ विकेटको जित निकालेको थियो । त्यस्तै, एसियाको अर्को राष्ट्र पाकिस्तानले सन् १९९२ मा विश्वकप क्रिकेटको उपाधि चुम्यो ।

इमरान खानको कप्तानीमा पाकिस्तानले इंल्यान्डलाई २२ रनले पराजित गर्दैैै ट्रफी आफ्नो पोल्टामा पार्न सफल भयो । त्यस्तै, एसियाको अर्को राष्ट्र श्रीलंकाले सन् १९९६ को विश्वकप कप उपाधि चुम्यो । क्रिकेटको शक्तिराष्ट्र अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि कब्जा गरेको हो । 

विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । न्युजिल्यान्डले अहिलेसम्म दुईपटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ । सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आइतबार राति भएको विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डले इंल्यान्डसँग बराबरी खेले पनि इंल्यान्डको भन्दा कम बाउन्ड्री कटाएका कारण उपविजेतामै सीमित हुन पुग्यो । 

६० ओभरको खेल

विश्वकप क्रिकेट सुरुका ती प्रतियोगितामा ६० ओभरमा खेलाइएको थियो । सन् १९८७ देखि मात्र विश्वकप क्रिकेटको ओभर घटाएर ५० ओभरको बनाइएको हो । पहिलो विश्वकप क्रिकेट (सन् १९७५) मा वेस्ट इन्डिजले पूरा ६० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९१ रन बनाएको थियो । २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५८.४ ओभरमा सबै विकेट गुमाएर २७४ रन मात्र बनायो र वेस्ट इन्डिज १७ रनले विजयी भएको थियो । 

त्यसैगरी, सन् १९७९ मा पनि वेस्ट इन्डिजले पूरा ६० ओभर खेल्दै ९ विकेटको क्षतिमा २८६ रन जोडेको थियो । जवाफ ब्याटिङ गरेको इंल्यान्ड ५१ ओभरमा अलआउट हुँदा उसको स्कोरबोर्डमा १९४ रन मात्र थियो । सो विश्वकपमा वेस्ट इन्डिज ९२ रनले विजयी भएको थियो । 

त्यस्तै, ६० ओभरमै खेलाइएको सन् १९८३ को विश्वकपमा भारतले ५४.४ ओभरमा अलआउट हुँदै १८३ रन जोडेको थियो । १८४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५२ ओभरमा १४० रन बनाउँदै अलआउट भयो । यो उपाधि पनि जितेको भए वेस्ट इन्डिजले उपाधिमाथि ह्याट्रिक गर्ने थियो । सन् १९८७ देखि भने विश्वकप ५० ओभरमा खेलाइन थालियो ।

 
फाइनलमा कसको बढी सहभागिता ? 

एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले हालसम्म सातपटक फाइनल खेलेको छ । सात फाइनल खेलेको अस्ट्रेलियाले पाँचवटा विश्वकप जितेको छ । त्यसपछि भारत र वेस्ट इन्डिजले तीन–तीनपटक विश्वकपको फाइनल खेलेका छन् । यी दुवै टोलीले दुईपटक विश्वकप जितेका छन् । 

इंल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटमा चारपटक फाइनलमा स्थान बनाएको छ । तर उसले एकपल्ट मात्र विश्वकप उपाधि चुम्न सक्यो । श्रीलंकाले पनि तीनपटक विश्वकपको फाइनल खेल्दै एकपटक उपाधि कब्जा गरेको छ । पाकिस्तानले दुईपटक फाइनल खेलेकोमा एकपटक विजयी तथा एकपटक उपविजेतामा सीमित भएको छ । 

त्यस्तै, न्युजिल्यान्डले सन् २०१५ र २०१९ मा लगातार दुईपटक विश्वकपको फाइनल खेले पनि उपाधिबाट भने वञ्चित भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर