• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कक्षाकोठामा ‘सेल्फि’ नलिए काटिन्छ शिक्षकशिक्षिकाको तलब !

सांकेतिक तस्विर

एजेन्सी । भारतको उत्तर प्रदेशको बाराबङ्की जिल्लाका सबै सरकारी विद्यालयका शिक्षक तथा शिक्षिकाले कक्षाकोठामा अनिवार्य सेल्फि लिनु पर्ने नियम बनाइएको छ । यसले कक्षाकोठामा उनीहरुको दैनिक हाजिरीको रुपमा लिइनेछ ।

शिक्षक–शिक्षिकालाई बिहान ८ बजे विद्यालय पुगेर उनीहरुले त्यहाँका कर्मचारी र छात्र छात्रासँग लिएको सेल्फी आधारभूत शिक्षा विभागको वेब पेजमा पठाउनुपर्नेछ । त्यसपछि मात्र पढाई र अन्य काम सुरु गर्न पाइन्छ । 

यदि कुनै शिक्षक–शिक्षिकाले समयमै सेल्फि खिचेर नपठाए वा अनुपस्थित भए त्यस दिनको तलब काटिनेछ । यो नियम त्यहाँ बर्खे विदा हुनअघि गत मे महिनादेखि लागु गरिएको छ र यस नियम लागु भएपछि ७ सय बढी शिक्षक–शिक्षिकाले आफ्नो एक दिनको तलब गुमाएको हिन्दुस्तान टाइम्सको एक रिपोर्टमा जनाइएको छ । 

बाराबंकीमा सरकारी प्राथमिक र निम्न माध्यमिक विद्यालयमा झण्डै साढे ७ हजार शिक्षक शिक्षिका छन् । ती सबैका लागि सेल्फीवाला नयाँ नियम लागू गरिएको छ । यो नयाँ व्यवस्थालाई ‘सेल्फी एटेन्डेन्स मिटर’ नाम दिइएको छ । 

धेरै शिक्षक–शिक्षिका समयमै विद्यालय नपुग्ने र विदा बस्‍ने गरेको गुनासो बढेपछि यस्तो कदम उठाइएको जिल्लाका आधारभूत शिक्षा अधिकारी बिपी सिंहले बताए । 

सामाजिक सञ्जालमा व्यस्त नहुन र बालबालिकाको पढाईमा ध्यान दिन, सेल्फी लिएर वेब पेजमा राखेपछि शिक्षकहरुलाई आफ्नो फोन बन्द राख्‍न या घण्टी नबज्‍ने गरि राख्‍न डाटा बन्द गर्न भनिएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर