साउन १० गतेदेखि जनकपुरधाममै रिफ्युलिंग हुने 

जनकपुरधाम । अविरल वर्षापछि आएको बाढीका कारण धनुषाको पूर्वी भागमा कमला नदीको बाढीमा फसेकाहरुलाई उद्धारका लागि सेनाको हेलिकप्टर पुग्यो । सो हेलिकप्टर काठमाडौबाट मगाइएको थियो । तर केही बेरमै फ्युल सकिएपछि हेलिकप्टरलाई रिफ्युलिंगका लागि फर्किनु परेको थियो । कारण थियो जनकपुरधाममा रिफ्युलिंग नहुनु । 

बाढी प्रभावितहरुलाई उद्धार गरिरहेकै समयमा हेलिकप्टरको तेल सकिएपछि रिफ्युलिंगका लागि विराटनगर विमानस्थल जानु परेको थियो । तर अब यो समस्या अब केही दिन भित्रै समाधान हुने भएको छ । 

जनकपुरधाम विमानस्थलमा साउन १० गतेदेखि रिफ्युलिंग शुरु गरिने छ । प्रदेश दुईको सबैभन्दा पुरानो विमानस्थल भएपनि रिफ्युलिङको व्यवस्था हुन सकेको थिएन ।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवसंगै जनकपुरधाम आएका नेपाल आयल निगमको प्रवक्ता वीरेन्द्र गोइतले साउन १० गतेदेखि जनकपुरधाम विमानस्थलमै रिफ्युलिङको व्यवस्था हुने जानकारी दिएका छन् । 

प्रवक्ता गोइतले व्यवस्थित रुपमा सञ्चालनका लागि संरचना तयार गर्न केही समय लाग्ने भएपनि तत्काल २ वटा गाडी राखेर रिफ्युलिङको व्यवस्था हुन लागेको बताए ।

 ‘तत्काल रिफ्युलिङ  र भण्डार गर्न २ वटा गाडीको व्यवस्था भइसकेको भन्दै प्रवक्ता गोइतले भने ‘ दुबै गाडी अमलेखगन्ज पुगिसकेको छ । जनकपुर आएलगत्तै रिफ्युलिंग कार्य सुरु हुनेछ ।’ तत्काल अस्थायी व्यवस्था गर्न लागिए पनि चाँडै स्थायी व्यवस्था गर्नतर्फ आफूहरु लागि परेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर