• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अध्यक्ष सिंहकाे सव कुहिएकाे अवस्थामा भेटियाे

बेपत्ता भएकाे पाँच दिनपछि झुन्डिएकाे अवस्थामा फेला परेका वसन्तबहादुर सिंह ।

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको एक उपभोक्ता समितिका अध्यक्ष मृत फेला परेका छन् । उनी शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए । 

मृतक वसन्तबहादुर सिंह

भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीय वसन्तबहादुर सिंह प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका उपभोक्ता समितिका अध्यक्ष हुन् । उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा रङरोगन गरेको थियो । 

सोही काम गरेबापतको भुक्तानी लिन उनी गत शुक्रबार नगरपालिका कार्यालय गएका थिए । नगरपालिका कार्यालय पुगेका अध्यक्ष सिंहले साथमा आएका अर्का स्थानीय एवं प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अध्यक्ष भुवन कुँवरसँग एकैछिनमा बजार पुगेर आउँछु भनेर गएका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए । 

शुक्रबारदेखि सम्पर्कविहीन भएका उनी मंगलबार मृत अवस्थामा चुरे जंगलमा फेला परेका हुन् । उनले बोकेको मोबाइल लोकेशनका आधारमा आफन्तसहित सुरक्षाकर्मी चुरे क्षेत्रमा खोज्न गए । तीन दिनअघि उनले प्रयोग गर्ने मोटरसाइकल र झोला फेला परेको थियो । 

प्रहरीले झोला र मोटरसाइकल फेला परेको क्षेत्रमा कुकुर प्रयोग गरे पनि यकिन लोकेसन फेला नपरेपछि पुनः आफन्तसहित प्रहरीको टिमले सो क्षेत्रको थप उत्तरतिर खोजबिन गरेको थियो । मंगलबार दिउँसो करिब ४ बजेतिर जंगलमा झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् । 

स्थानीय गणेशबहादुर धानुकले मोटरसाइकल र झोला फेला परेको स्थानदेखि झन्डै तीन किलोमिटर उत्तरमा सिंहको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको बताए । 

उनको मृत्यु शंकास्पद भएको भन्दै स्थानीय एवं परिवारले सत्यतथ्य खोजबिनको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शव फेला परेको स्थानबाट मुचुल्का संकलन भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटनास्थलको मुचुल्ला उठाएर पोस्टमार्टका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर