फोहोरको सही व्यवस्थापन मुख्य चुनौती : मुख्यमन्त्री पौडेल

चितवन । भौतिक विकाससँगै वातावरणीयलगायत अन्य विकासलाई सँगसँगै लैजाँदा फोहोरको सही व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताइएको छ । 

चितवनको भरतपुरमा सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको बुधबार शुभारम्भ गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुनै एक क्षेत्रको मात्र नभई सिंगो प्रदेशको चुनौतीको रूपमा फोहोर रहेको बताएका छन् । उनले भौतिक विकास मात्र विकास देख्ने मानसिकताले दीर्घकालीन समस्यामा परिने भएकाले वातावरण र अन्य सामाजिक विकासलाई सँगै अघि बढाउनुपर्ने बताए । 

फोहोरको मुख्य स्रोत भनेको घर भएको भन्दै उनले घरेलु फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरे । उनले भने, ‘सरकारले घरघरमा गएर फोहोर उठाउनुपर्छ भन्ने मान्यताभन्दा माथि उठ्ने हो भने हाम्रो गाउँ, सहर थोरै खर्चमा सरसफाइयुक्त हुनेछ ।’

मुख्यमन्त्री पौडेलले फोहोर व्यवस्थापन गर्दा दीर्घकालीन सोचका साथ सरकारले पनि काम गरिरहेकाले स्थानीय स्तरबाट आमनागरिकले पनि सक्दो योगदान दिनुपर्ने बताए । उनले भौतिक विकाससँगै वातावरणीय सौन्दर्यलाई पनि जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘स्थिर सरकार भनेकै विकास हो, समृद्धिका लागि सबै एक भएर अघि बढ्नुपर्छ’ पौडेलले भने । 

प्रदेश सांसद विजय सुवेदीले वातावरणको संरक्षणमा ध्यान नदिए हाम्रो भविष्य अन्धकारमय हुने भन्दै भौतिकसँगै आर्थिक विकास हँुदै जाँदा वातावरणीय प्रदूषण पनि बढ्ने भएकाले यसको सही व्यवस्थापन अहिलेको मुख्य चुनौतीको विषय भएको बताए । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले भौतिक विकाससँगै वातावरण र सामाजिक विकासलाई पनि सँगै अघि बढाएको बताइन् । उनले महानगरले कुल बजेटको १० प्रतिशत वातावरण संरक्षणमा छुट्याएर काम गरिरहेको जानकारी दिइन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर