• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मापदण्डअनुसारको बाटो नबनेकोमा स्थानीय आक्रोशित

पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिणी भेग पुनर्वास नगरपालिका–२ मा विभिन्न तीनवटा बाटो स्तरोन्नतिका लागि सुदूरपश्चिम प्रदेश सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको थियो । 

पूर्वबाट इँटाभट्टी हुँदै पश्चिम क्रा लामाको खेतसम्म जितबहादुर तामाङ, क्रा लामाको खेतदेखि माइलीबजार हुलाकी राजमार्ग विजय तामाङ र एजी चोकदेखि अमरैया खल्ला कल्भर्टसम्म रमेश थापाको अध्यक्षतामा ४०–४० लाख रकमको उपभोक्ता समिति गठन गरी उक्त पानीपिच भनिने ग्रेभेल बाटोलाई पूर्णता दिइएको छ । 

फरक–फरक उपाभोक्त समितिद्वारा निर्मित तीनवटा बाटोमध्ये पुनर्वास नगरपालिका–२ मोती बस्तीमा भने मापदण्डअनुसारको बाटो नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् । 

आर्थिक वर्ष सकिए पनि सम्झौताअनुसारको काम नभएको भन्दै स्थानीयले आक्रोश जनाएका हुन् । उपभोक्ता समितिसँगको सम्झौतमा पानीपिचको योजनाको नाम दिएको भए तापनि योजना फरफारक गर्ने बेलामा बाटोमा ग्राभेल मात्र पर्ने भएपछि स्थानीय आक्रोशित भएका हुन् । 

प्रदेश योजना तथा पूर्वाधार विकास कार्यालयमार्फत सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख बजेटमा मोतीबस्तीको एजी चोकदेखि उत्तरतर्फ अमरैया खल्लासम्मको करिब दुई किलोमिटर बाटोमा पानीपिचको योजना सुरु गरिएको थियो । अहिले सो बाटोमा खाल्डाखुल्डी र ठूला ढुंगा थुपारिएको छ । गुणस्तरीय काम नहुँदा आवतजावतमा निकै समस्या भएको छ ।

बाटोका खाल्डाखुल्डीले गर्दा आवतजावत गर्नसमेत समस्या भएको छ । उपभोक्ता समितिले बाटोमा आवश्यक पर्ने ग्राभेल नहालेको र ग्रेडर रोलर नगर्दा स्थानीयले सास्ती खेप्नु परेको स्थानीय धर्मानन्द भट्ट बताउँछन् । स्थानीयको विरोेधपछि मात्र उपभोत्ता समितिले थप ग्राभेल हालेको उनी बताउँछन् ।

लामो समयपछि आफ्नो गाउँमा पानीपिचको योजना परेको तर उपभोक्ता समितिको लापरबाहीले गुणस्तरीय काम हुन नसकेको स्थानीय बताउँछन् । प्रदेश सरकारले सो बाटोका लागि ४० लाख बजेट छुट्याएको थियो । गाउँको विकास गर्छन् कि भनेर चुनाव जिताएका नेताले व्यक्तिगत फाइदा हेरेको र गाउँ विकासमा ध्यान नदिएको स्थानीयको गुनासो छ । बाटोको दुर्दशा हेर्न अहिलेसम्म कुनै जनप्रतिनिधि नआएको र आफूहरूको गुनासो कसैले नसुनेको स्थानीय राजबहादुर राना बताउँछन् ।

बाटोमा मापदण्डअनुसारको सामग्री प्रयोग नभएको स्थानीयको गुनासो छ । ग्राभेलमा अत्यधिक रूपमा माटो प्रयोग भएकाले पानीले माटो बगाउने र ग्राभेल जमिनमा धसिँदै जानाले बाटो चाँडै बिग्रेको स्थानीयले बताए । 

अर्का स्थानीय प्रदीप बुढाको दुखेसो पनि उस्तै छ । उनले भने, ‘बालबालिकालाई स्कुल पठाउन र ल्याउनसमेत समस्या हुन्छ ।’ बाटोमा हिलो र ठूलठूला ढुंगाले गर्दा बालबालिकालाई बाहिर खेल्न कठिनाई भएको उनी बताउछँन ।

उपभोत्ता समितिका अध्यक्ष रमेश थापा प्रदेश सरकारले बजेट ढिलो विनियोजन गरेको र आफैंसँग स्रोतसाधन नभएका कारण काम गर्न ढिलाइ भएको बताउँछन् । उनले कामका लागि ठेकेदार कम्पनीसँग अनुरोध गरेको तर ठेकेदार कम्पनीले धोका दिएपछि काम ढिलो भएको बताए । काम ढिलो भए पनि गुणस्तरीय काम भएको उनले बताए । 

प्रदेश पूर्वाधार विकास कार्यालयका प्राविधिक सूर्यप्रकाश जोशीले लम्बाइ र चौडाइ ठिकै भए पनि चाहिनेजति ग्राभेल नभएको र रोलरको चा पनपुगेका कारण बाटोमा हिलो र खाल्डाखुल्डी देखिएको बताए । तीन खण्डमा निर्माण कार्य सम्पन्न भएको ती बाटोमा दुई खण्डको बाटो भने मापदण्डअनुसार बनाइएको सब–इन्जिनियर जोशीले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर