• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सुत्केरी याम सुरु भयो, हल्ला नगर्नू ल

रसुवा– कतै हाब्रे भन्छन्, कतै भालु बिरालो । तामाङ भाषामा तवाङ । पूर्वमा पुणे कुँदो भन्छन् । हिमाली भेगमा पाइने यो दुर्लभ जनावरको अन्तर्राष्ट्रिय नाम रेडपान्डा हो।

यो लजालु स्वभावको हुन्छ, अन्य वन्यजन्तुभन्दा ज्यादै । बिहान र बेलुका सक्रिय हुने यसले एकान्त खोजिरहेको हुन्छ ।

आफ्नो बासस्थान वरपर छिसिक्क केही भयो कि जन्माएको बच्चासमेत छाडेर हिँड्छ भनिन्छ।

हाब्रेले बच्चा जन्माउने मुख्य मौसम सुरु भइसकेको छ, सामान्यतया जेठ १५ ताकादेखि दुई महिना । यो खबर आजको कान्तिपुर दैनिकमा रसुवाबाट बलराम घिमिरेले लेखेका छन्।

यस अवधिमा बासस्थान क्षेत्र प्रवेश गरेर रेडपान्डालाई ‘डिस्टर्ब’ नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले सबैलाई अनुरोध गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्क हाब्रेको मुख्य बासस्थान मानिन्छ ।

हाब्रेमाथि विद्यावारिधि गरेका संरक्षणविद् स्वर्गीय प्रह्लाद योञ्जनले यहीँ अनुसन्धान गरेका थिए ।

बासस्थान क्षेत्र वरपर आवतजावत गर्दा र होहल्लाले हाब्रेलाई ‘डिस्टर्ब’ हुने भएकाले दुई महिनाका लागि भरसक कोही पनि प्रवेश नगर्न निकुञ्जले अनुरोध गरेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन्।

 यस क्षेत्रमा डेढ महिनाअघि एकै पटक पाँचवटा हाब्रे भेटिएको थियो ।स्थानीयवासी पनि सक्रिय छन् । ठूलो स्याफ्रुवासीले गाउँमा नादाङ्चे चोरी सिकारी नियन्त्रण समूह गठन गरेका छन्।

८ देखि १० वर्ष आयु हुने यसको शरीर एक मिटरसम्म लामो हुन्छ । तौल ६ केजीसम्म हुन्छ । हिमालय क्षेत्रमध्ये नेपालदेखि पूर्वमा सिक्किम, भुटान, म्यानमार, दक्षिणी चीनमा यो पाइन्छ ।

जम्मैतिर गरेर जम्माजम्मी १० हजार हाब्रे रहेको मानिनेमा नेपाली भूखण्डमा एक हजारभन्दाकेही बढी छन् भनिन्छ ।

संरक्षण क्षेत्र खुम्चिँदै जानु, मुख्य आहार बाँसका पात घरेलु जनावरसँग साझा गर्न विवश हुनुलगायत हाब्रे संरक्षणका चुनौती छन् । मुख्य कारण हो, एकान्त जंगलमा हस्तक्षेप बढ्नु।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर