पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज विमोचन गर्दै उनले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताए । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दछौं”, उनले भने । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उनले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिए । 

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताए । प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको बताए । 

“लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको रकम मात्रै निकालेर सार्वजनिक गर्यो तर सङ्घीय सञ्चित कोषको रकम त्यसमा सामेल छैन । खानेपानी,  सिँचाइ र सडकको योजना सोझै केन्द्रीय कोषबाट प्राप्त गरेका थियौँ”, उनले भने । मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने बताए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले बिहीबार आर्थिक वर्ष ०७५÷०७६ मा ६३ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले गत वर्षको प्रारम्भिक विवरण सार्वजनिक गर्दै चालूतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर