• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अलपत्र बालिकाको उद्दार गर्ने किसन भन्छन्–‘उसको भविष्यसंग खेलवाड गर्न सक्दिँन’

जनकपुरधाम । विवाहपञ्चमीको समय थियो । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर नजिकै रहेको जानकी चोकमा ४ वर्षिया एक अवोध बालिका एक्लै खडा थिइन् । अँध्यारो हुन लागेको थियो । विवाहपञ्चमीको दिनमा रहेको हजारौँको भीडमध्ये कोही सो बच्चाको सोधखबर लिने थिएन । सोही भीडमा थिए २३ वर्षिय युवा किसन कुमार मण्डल । उनलाई हजारौंको भीडमा एक्लै खडा भएकी सो अवोध बच्चाको भीड सह्य भएन । उनले नै सो बच्चाको व्यवस्थापन गर्ने जिम्मा लिए । 

किसनले बच्चीलाई जिम्मा लिनुभन्दा पहिले कति पटक वान्ता भई सकेको थियो । ‘बच्चाले सम्भवतः विस्कुट चाउचाउ आदि खाएका कारण फुड प्वाइजनिंग भएको थियो होला’ किसनले भने ।

उनी र उनका साथीहरु रोशन साह र मुजिबुल राइनले बच्चालाई सबैभन्दा पहिले जनकपुर अञ्चल अस्पताल पुर्याए । बच्चाको रखेदेख गर्न रातभरी उनीहरु अस्पतालमै बसे । उपचारपछि बच्चालाई व्यवस्थित ठाउँमा पुर्याउनु पर्छ भनेर जानकी प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगे । तर, त्यहाँबाट बच्चालाई केही दिन आफ्नै जिम्मामा राख्नुस त्यस पछि केही गरौँला भन्ने जवाफ आएपछि फेरी बच्चालाई लिएर घर फर्के । 

किसनले भने– ‘दुई चार दिन बित्यो तर प्रशासनबाट केही पहल भएन, हामीलाई बच्चालाई जसरी पनि उनको अभिभावकलाई जिम्मा लगाउने चिन्ता बढी रहेको थियो, तर कहीँ कतैबाट त्यसका लागि सहयोग भएन ।’

प्रशासनबाट कुनै पहल हुने नदेखेपछि पत्रकार शैलेन्द्र क्रान्तिको पहलमा जनकपुरधाममै रहेको अनाथ बच्चाहरुलाई पालन पोशण गर्ने संस्था सन्त कबिर वाल वात्सल्य आश्रममा युवाहरु पुगे । तर ती युवाहरुले त्यहाँ पनि सन्तोषजनक जवाफ पाएनन् ।


 
समाचार दैनिकसंगको कुराकानीमा किसन भन्छन् –‘हामी अनाथ आश्रम चलाउने बाबा सत्यनारायण आलोक समक्ष पनि पुग्यौँ, त्यहाँ उनले अहिले रहेको बच्चालाई पालन पोशण गर्न मलाई हम्मै हम्मै परिरहेको छ,  फेरी यो बच्चा थपियो भने मलाई झनै किठनाई हुन्छ भनेर जवाफ फर्काउनु भयो ।’ 

किसनले बाबाको तर्फबाट यस्तो जवाफ पाएपछि त्यो बच्चालाई आफ्नै घरमा राख्ने निधो गरे । र, आफ्नो नाम, बुवाको नाम वा आमाको नाम नबताउने ती बच्चाको नामाकरण पनि गरे । 

उनले त्यो बच्चाको नाउँ ‘वर्षा’ राखे ।  

दुई चार दिनका लागि मात्रै घरमा राख्ने सोच बनाएका किसनलाई अब वर्षा बिना घर नै खल्लो खल्लो जस्तो लाग्छ । 

किसनको आफ्नै ३ वर्षिय भतिजो छ ‘रिहान मण्डल’ । 

रिहान र वर्षा संगसंगै खेल्छन् । रिहान र वर्षा बिचको रमाइलो देखेर उनको घरका सदस्यहरु पनि रमाइलो गर्छन् । तर किसनलाई अहिले पनि वर्षाको भविश्यको चिन्ता छ ।
 
सो बच्चालाई लिनका लागि धेरै गैर सरकारी संस्था आए, धेरै निसन्तान अभिभावकहरु पनि आए तर उनले कसैको जिम्मा लगाएनन् । किसनले भने –‘उनीहरुको जिम्मा लगाएर वर्षाको भविष्यसंग खेलवाड गर्न सक्दिन । वर्षालाई पढाउनु छ, उसको सुनौलो भविष्यको सपना देखिरहेको छु त्यसै कहाँ कसैलाई दिन सक्छु ।’ 

किसनको घरमादुई पुस्तादेखि छोरी छैन । न उनको बुवाको कोही बहिनी छ, न किसनको पनि कोही बहिनी नै । दाईको पनि दुईटा छोरा मात्रै । वर्षाकै कारण घरमा छोरीको कमी पूरा भएको किसन बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर